यती एयरलाइन्सको दसैं अफर, एक जोडीलाई काठमाडौं-आबुधाबी दुईतर्फी निःशुल्क टिकट

बिजमाण्डू
२०७७ कात्तिक ९ गते १९:०७ | Oct 25, 2020
यती एयरलाइन्सको दसैं अफर, एक जोडीलाई काठमाडौं-आबुधाबी दुईतर्फी निःशुल्क टिकट

Tata
GBIME
Nepal Life

काठमाडौं। निजी वायुसेवा कम्पनी यति एयरलाइन्सले दसैं लक्षित आकर्षक अफर सार्वजनिक गरेको छ। दसैंको अवधिभरका लागि लागू गरिएको अफरमार्फत भाग्यशाली यात्रुले काठमाडौं-आबुधाबीका लागि निःशुल्क टिकट प्राप्त गर्न सक्ने छन्। 

कम्पनीले सेवा संचालन गर्दै आएको सबै गन्तब्यमा उडान गर्ने यात्रुमध्ये पाँच जना भाग्यशाली विजेतालाई विभिन्न आकर्षक उपहारको व्यवस्था गरिएको जनाइएको छ। एअरलाइन्सले ल्याएको आकर्षक अफर अन्तर्गत ‘लक्की ड्र’ मार्फत् पहिलो हुने विजेताले एक जोडीका लागि हिमालयन एअरलाइन्सको काठमाडौं-अबुधाबी-काठमाण्डौंको दुईतर्फी फ्रि टिकट प्राप्त गर्न सक्ने छन्।  

यसैगरी दोस्रो विजेताले एक जोडीका लागि चितवनको कसरा होटलमा, तेस्रो विजेता एक जोडीले काठमाडौंको गोकर्ण फरेस्ट रिसोर्टमा र चौथो विजेताले एक जोडीका लागि नोम्याड होटलमा एक रात निःशुल्क बस्ने र खाने सेवा लिन सक्ने कम्पनीले जनाएको छ।  

पाँचौ विजेताले एक जनाका लागि यती एअरलाइन्सका तर्फबाट आकर्षक पुरस्कार प्राप्त गर्न सक्नेछन्। कम्पनीले २२ औं वार्षिकोत्सव मनाउने क्रममा विभिन्न आकर्षक अफरहरु घोषणा गर्दे आएको छ। केही समयअघि आकर्षक आन्तरिक भ्रमण प्याकेज घोषणा गरेको एअरलाइन्सले केही दिन अघिबाट नवौं गन्तव्यका रूपमा सिमरा उडान समेत शुरु गरेको छ। 

यात्रुहरुलाई सुरक्षित उडान गराउदै आकर्षक उपहार प्रदान गर्ने र एअरलाइन्सप्रतिको विश्वास कायम राख्न विभिन्न अफरहरु ल्याएको यती कम्पनीका प्रमुख सुरक्षा अधिकृत तथा प्रवक्ता सुदर्शन बर्तौलाले बताए। 'हामीले २२ औं वार्षिकोत्सवमा थप आकर्षक कार्यक्रम ल्याउने घोषणा गरे बमोजिम यो दसैं अफर ल्याएका हौं। हाम्रा यात्रुहरुले अब उडान सँगै आकर्षक उपहारको पनी मज्जा लिन पाउनु हुनेछ,' उनले भने।

हाल कम्पनीले एटिआर–७२, जेट स्ट्रिम–४१ लगायत जहाजमार्फत काठमाडौँदेखि पोखरा, विराटनगर, नेपालगञ्ज, भरतपुर, जनकपुर, भद्रपुर, भैरहवा, तुम्लिङटार र सिमराका साथै काठमाडौं र पोखराबाट पर्वतीय उडान सेवा दिँदै आएको छ।