असोजमा पनि लक्ष्य अनुसार उठेन राजस्व, भन्सार राजस्व नै लक्ष्यभन्दा चार अर्ब कम

बिजमाण्डू
२०७७ कात्तिक ४ गते २१:१७ | Oct 20, 2020
असोजमा पनि लक्ष्य अनुसार उठेन राजस्व, भन्सार राजस्व नै लक्ष्यभन्दा चार अर्ब कम

Tata
GBIME
Nepal Life

काठमाडौं। चाडपर्वको अघिल्लो महिनामा समेत राजस्व लक्ष्य भेट्न सरकार असफल भएको छ। दसैं र तिहारको अघिल्लो महिनामा राजस्व लक्ष्य भन्दा बढी उठ्ने गर्छ। तर यो वर्ष भने कोरोना संक्रमणका कारण असोजमा लक्ष्य अनुसार राजस्व उठ्न सकेन्।

भन्सार विभागले लक्ष्य भन्दा ४ अर्ब कम राजस्व संकलन गरेको छ। असोज महिनामा ४२ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखको विभागले ३७ अर्ब ७९ करोड मात्रै राजस्व संकलन गरेको छ। असोजमा राजस्व संकलन हुने सवारी साधन र सुन आयातमा भारी गिरावट आएको छ। यस्तै आन्तरिक राजस्वबाट असोजमा लक्ष्यभन्दा १ सय ३८ अर्ब कम राजस्व संकलन भएको छ। यो महिना २५ अर्ब ५६ करोड राजस्व संकलन गर्ने लक्ष्य लिइएकोमा २४ अर्ब १८ करोड संकलन भएको छ।

कोभिड महामारी सुरुभएसँगै अन्त:शुल्क राजस्वमा आएको गिरावट रोकिएको छैन। दशैंको अघि समेत विभागले लक्ष्य भेटेन। अन्त:शुल्क संकलनमा ८ अर्ब ८६ करोड लक्ष्य लिएकोमा ७ अर्ब ५५ मात्रै संकलन भएको छ। कोभिडको कारण होटल रेस्टुरेन्ट बन्द हुँदा मदिरा व्यवसायमा निरन्तर गिरावट आइरहेको छ।

आयकर लक्ष्यको भन्दा ३ प्रतिशतले बढी संकलन भएको छ। तीन महिनामा ३२ अर्ब १६ करोड राजस्व संकलनको लक्ष्य लिइएकोमा ३३ अर्ब ३१ करोड राजस्व संकलन भएको छ।

असोजमा समेत आयकर संकलनको लक्ष्य नाघेको छ। यो महिना आयकर ९ अर्ब २० करोड लक्ष्य रहेकोमा ९ अर्ब ६६ करोड संकलन भएको छ। यसैगरी मूल्य अभिवृद्धि कर (भ्याट) संकलनमा भने यो महिना गिरावट आएको छ। यो महिना ७ अर्ब २ करोड संकलन गर्ने लक्ष्य लिइएकोमा ६ अर्ब ४१ मात्रै भ्याट संकलन गरेको हो।

पहिलो ३ महिनामा ८२ अर्ब ६४ करोड लक्ष्य लिएको विभागले ७९ अर्ब ९६ अर्ब राजस्व संकलन गरेको छ। गत वर्षको असोजमा ८० अर्बको हाराहारीमा राजस्व संकलन भएको थियो।

सरकारले असोजमा ६५ अर्ब राजस्व संकलन गरेको महालेखा कार्यालयको तथ्यांकमा उल्लेख छ। कार्यालयको तथ्यांक अनुसार चालु वर्षको ३ महिनामा १ खर्ब ७२ अर्ब राजस्व संकलन भएको छ। जसमा १ खर्ब ६३ अर्ब ४२ करोड कर राजस्व र ८ अर्ब ९३ करोड गैरकर राजस्व संकलन भएको छ।

यस्तै अनुदानबाट ५ अर्ब प्राप्त गर्दा अन्य शीर्षकबाट २२ अर्ब ५६ करोड प्राप्त गरेको छ।