किंग्स् कलेज र मिट भेन्चर्स् सिंगापुरबीच सहकार्य सम्झौता, नेपालका स्टार्टअपहरुलाई सघाउने

बिजमाण्डू
२०७७ असोज २ गते ११:५० | Sep 18, 2020

 

Tata
GBIME
Nepal Life

काठमाडौं। किंग्स् कलेज र सिंगापुरस्थित मिट भेन्चर्सबीच सहकार्य सम्बन्ध स्थापना भएको छ । उद्यमशीलताको क्षेत्रमा बृहत अनुभव एव श्रोतयुक्त यी दुई संस्थाहरुले उद्यमशीलता एवं नवप्रवर्तनको अवधारणालाई  क्षेत्रीयस्तरमै कार्यान्वयन तथा प्रवर्द्धन गर्ने उद्देश्य सहित यस सहकार्य सम्झौतामा हस्ताक्षर गरेको जनाएको छ।

'मिट भेन्चर्ससँग सहकार्य गर्न पाउँदा हामी निकै उत्साहित भएका छौं। यस सम्झौताले नेपाली स्टार्टअप तथा अधिक संख्याका उद्यमीहरुलाई अन्तर्राष्ट्रिय मेन्टरबाट मेन्टरसिप हासिल गर्ने, अन्तर्राष्ट्रिय बजारको अन्वेषण गर्ने तथा अन्तर्राष्ट्रिय लगानीकर्ताहरुसँग गाँसिने अवसर प्रदान गर्नेछ भन्नेमा हामी विश्वस्त छौं,' कलेजका प्रधानाध्यापक नरोत्तम अर्यालले भने।

सम्झौता अनुसार किंग्स् कलेजले मिट भेन्चर्सलाई नेपालका साथसाथै दक्षिण एसियाका आशा लाग्दा स्टार्टअपसमक्ष पहुँच हासिल गर्न सघाउनेछ । यसका साथ साथै कलेजले उसका विभिन्न अनुसन्धान तथा इन्क्युबेसन कार्यक्रममार्फत यस क्षेत्रबाट हासिल भएका ज्ञान तथा उत्कृष्ट अभ्यासहरुलाई मिट भेन्चर्ससँग साझा गर्नेछ।

सहकार्य सम्झौताअनुसार मिट भेन्चर्सले नेपाली तथा दक्षिण एसियाली स्टार्टअपहरुका लागि लगानी सहायता हासिल गर्ने अवसर प्रदान गर्नेछ। नेपाली विद्यार्थीहरुले मिट भेन्चर्स तथा उसका सहायक कम्पनीहरुबाट उद्यमशीलताका परियोजनाहरुमाथि मेन्टरसिप हासिल गर्नका साथसाथै उनीहरुलाई सिंगापुर तथा दक्षिणपूर्वी एसियामा आयोजना हुने उद्यमशीलता तथा नवप्रवर्तनमा आधारित कार्यक्रम तथा प्रतिस्पर्धाहरुमा सहभागी हुनसमेत अवसर प्राप्त गर्ने विज्ञप्तिमा जनाइएको छ।

“नेपालसँग सम्झौता गरिएको यो नै हाम्रो पहिलो सहकार्य हो,' मिट भेन्चर्सका तर्फबाट फराह फिराडसले  भनिन्, 'उद्यमशीलताको विकास तथा प्रवर्द्धनको सवालमा हरेक मुलुकका आआफ्नै विशेष क्षमता हुन्छन् । यस सुन्दर राष्ट्रबाट भोलिका दिनमा के–कस्ता उद्यमीहरु जन्मन्छन् भनेर हेर्न हामी निकै उत्साहित छौं।'

एसिया क्षेत्रभित्र कार्य संचालन गरिरहेको मिट भेन्चर्स् कर्पोरेट स्टार्ट अप इनोभेसन कम्पनी हो। कर्पोरेट क्षेत्रअन्तर्गतको नवप्रवर्तन र स्टार्टअपलाई सफलरूपमा स्थापित गर्न सघाउनु यसको मुख्य उद्देश्य रहेको विज्ञप्तिमा उल्लेख छ।