राष्ट्रिय वाणिज्य बैंकको सञ्चालकमा उपेन्द्र कोइराला नियुक्त, बुधबार अध्यक्षमा चयन हुने

बिजमाण्डू
२०७७ भदौ ९ गते ०९:२० | Aug 25, 2020
राष्ट्रिय वाणिज्य बैंकको सञ्चालकमा उपेन्द्र कोइराला नियुक्त, बुधबार अध्यक्षमा चयन हुने

Tata
GBIME
Nepal Life

काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारी स्वामित्वको वित्तीय संस्था राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समिति सदस्यमा प्राडा. उपेन्द्र कोइरालालाई नियुक्त गरेका छन्।

शुक्रबार कोइरालालाई सञ्चालक नियुक्त गरिएको हो। सोमबार नियुक्तिको पत्र राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिमा पुगेको छ।

पत्र पुगेपछि बैंकले बुधबारका लागि सञ्चालक समितिको बैठक डाकेको छ। बैठकले कोइरालालाई सञ्चालक समिति अध्यक्ष चयन गर्नेछ।

निर्मलहरि अधिकारीलाई सरकारले राजस्व बोर्डको सदस्यमा नियुक्त गरेपछि  बैंकको अध्यक्ष पद रिक्त छ। त्यसमा पदपूर्तिका लागि कोइरालालाई सञ्चालकका रूपमा नियुक्त गरिएको हो।

अधिकारीको पालादेखि बैंक सञ्चालक समितिले अध्यक्ष चयन गर्न थालेको हो। त्यसअघि अर्थमन्त्रालयले सोझै बैंकको अध्यक्ष तोकेर पठाउने गर्दै आएको थियो। बैंक तथा वित्तीय संस्था सम्बन्धी नयाँ ऐन आएपछि सरकारले सञ्चालक तोकेर पठाउन पाउँछ। प्रक्रिया पुर्‍याउन अध्यक्ष भने सञ्चालक समितिले चयन गर्छ।

विराटनगरको महेन्द्र मोरङ क्याम्पसका प्रमुख रहिसकेका कोइराला नेपाल आयल निगमको कार्यकारी निर्देशकसमेत भइसकेका छन्। उनी मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पूर्व उपकुलपतिसमेत हुन्। उनी पूर्वएमाले निकट हुन्। एमाले सत्तामा आउँदा उनले कुनै न कुनै पद पाउँदै आएका छन्।