भदौ १६ गतेबाट पनि वायु सेवा सञ्चालन गर्न नदिए आन्दोलन घोषणा, ‘अर्बौं नोक्सान भइसक्यो’

बिजमाण्डू
२०७७ साउन २८ गते १३:०७ | Aug 12, 2020
भदौ १६ गतेबाट पनि वायु सेवा सञ्चालन गर्न नदिए आन्दोलन घोषणा, ‘अर्बौं नोक्सान भइसक्यो’

Tata
GBIME
Nepal Life

काठमाडौं। वायु सेवा सञ्चालकले भदौ १६ गतेबाट हवाइ सेवा पुन: सञ्चालन नभएमा आन्दोलनमा जाने घोषणा गरेका छन्। आन्तरिक हवाई सेवा उद्योगलाई तत्कालै संचालनमा नल्याउने हो भने सेवा नै बन्द हुन जाने भएको भन्दै सञ्चालकहरुले आन्दोलन गर्ने चेतावनी दिएका हुन्। 

सरकारले लकडाउन गरेयता चार्टर्डबाहेक नियमित उडान बन्द छन्। 

कोभिड-१९ महामारीको दौरानमा उडानलाई व्यवस्थित तुल्याउन विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) तथा आइकाओले निर्धारण गरेको मापदण्डलाई मध्यनजर गर्दै वायुसेवा कम्पनीहरुले उडान संचालनका लागि सम्पूर्ण तयारी पूरा गरी तयारी अवस्थामा रहेको जनाएका छन्। 

आन्तरिक वायुसेवा प्रयोग गर्दैमा संक्रमण फैलिदैन र यदि सरकारवाट संक्रमण परीक्षण गर्न चाहेको खण्डमा एउटै ठाउँमा सम्भव हुन सक्ने भन्दै सञ्चालकहरुले टिकेटिङ सिष्टमबाट यात्रुहरुको कन्ट्याक्ट ट्रेसिङ पनि क्षणभर मै गराउन सकिने विज्ञप्तिमा उल्लेख गरेका छन्।

सरकारले भदौ १ गतेबाट उडान संचालन गर्ने यसअघि घोषणा गरेको थियो। फेरि मंगलबार भदौ १५ सम्म बन्द गर्ने निर्णय गरेको थियो। सरकारले भदौ १ मा सञ्चालन गर्ने घोषणा गरेपछि कम्पनीहरुले उडान तयारी थालेका थिए।

'हाल देशमा गइरहेको बाढीपहिरो, असक्त बिरामी, सुत्केरी लगायतलाई उद्धारका लागि नियमित उडान नहुँदा ठूलो असर परिरहेको छ,' संघले भनेको छ, 'यसरी हवाई सेवा लामो समयसम्म बन्द भएको कारणले यस उद्योगमा प्रत्यक्ष/परोक्ष आश्रित दशौं हजार श्रमिकको आय स्रोत तथा तिनमा आश्रित परिवारको रोजीरोटी नै बन्द हुनका साथै हवाई उद्योग नै धरासायी बन्दै गइरहेका छन्।'