सार्वजनिक गाडी रोकेर निजी चल्न दिने निर्णयप्रति व्यवसायीको आक्रोश – ‘कालो प्लेटले कोरोना सार्छ?’

बिजमाण्डू
२०७७ साउन २७ गते १२:०९ | Aug 11, 2020
सार्वजनिक गाडी रोकेर निजी चल्न दिने निर्णयप्रति व्यवसायीको आक्रोश – ‘कालो प्लेटले कोरोना सार्छ?’

Tata
GBIME
Nepal Life

काठमाडौं। सरकारले भदौ १ गतेदेखि लामो दुरीका सवारी साधन संचालन गर्ने पूर्ववत् निर्णय संशोधन गर्दै भदौ मसान्त पुर्‍याएको छ। 

कोरोनाको संक्रमण समुदायस्तरमा फैलन सुरु गरेसँगै लामो दुरीका सवारीसाधन तत्काल संचालन नगर्ने निर्णय गरेको बुझिएको छ। यातायात व्यवसायीहरुले भने रातो नम्बर प्लेटवाला (निजी) सवारीसाधन जथाभावी संचालन गर्न दिइरहँदा कालो नम्बर प्लेटका (सार्वजनिक तथा भाडाका) लाई मात्रै रोकेको भन्दै उक्त निर्णयको विरोध  गरेका छन्।

कालो नम्बर प्लेट भएका सार्वजनिक सवारी साधन पनि भदौभित्रै संचालनमा ल्याउनुपर्ने माग उनीहरुको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सरकारले उपेक्षा गरेका कारण सार्वजनिक यातायातको क्षेत्र समाप्त हुन लागेको बताए।

'मोटरसाइकलमा दुईजना चढेका छन्। निजी गाडीमा सिट क्षमता बराबर मानिसहरु ओसारपसार भइरहेको छ,' उनले असन्तुष्टि पोखे, 'प्राइवेट गाडीले ५/७ हजारसम्म लिएर मानिसहरु ओसारेका छन्। एउटा प्रयोजनका लागि ल्याएको गाडी अर्को प्रयोजनमा लगाउँदा कारबाही नहुने, त्यसलाई कसैले नरोक्ने अनि कालो प्लेटलाइ मात्रै रोक्न खोज्ने ?' 

रातो नम्बर प्लेटका सवारीमा पोखरा, विराटनगर, झापा लगायत लामो दुरीसम्म मानिसहरु ओसारिरहेको देखिएको सिटौलाले बताए। 'यदि कसैलाई आपतकालीन रूपमा आउन पर्‍यो भने हाम्रो कालो नम्बर प्लेटका सवारीसाधन देशभर छन्। तर निजी गाडीलाई मान्छे ओसार्न दिइएको छ !,' उनले भने, 'राजधानी भित्रिने नाकामा गएर हेरे निजीले कसरी मान्छे ल्याइरहेका छन् भन्ने प्रष्ट थाहा हुन्छ।'

सार्वजनिक यातायातका सवारी संचालन नहुँदा यातायात मजदुरहरु समस्या पर्न थालेकाे उनले बताए। सरकारले प्राथमिकतामा नराखेका कारण व्यवसायीहरु पलायन हुने अवस्था पुग्न लागेको महासंघको भनाइ छ। कार्यविधि नबनेकाले अहिलेसम्म मजदुरहरुको कोरोना बीमासमेत नभएको सिटौलाले गुनासो गरे। बजेट र मौद्रिक नीतिमा संकटको व्यवसाय भनिए पनि अहिले मध्यम असर परेको व्यवसायमा राखिएको भन्दै व्यवसायीहरुले आपत्ति जनाएका छन्।

सार्वजनिक सवारीसाधन संचालन गर्न नदिने हो भने निजी सवारीसाधन पनि जथाभावी संचालन रोक्नुपर्ने उनीहरुको भनाइ  छ। 'दुई रुपैयाँ भाडा बढ्यो भने कुर्लने यातायात उपभोक्तावादी नेताहरु अहिले कहाँ छन् ? रातो नम्बर प्लेटका गाडीले ढाड सेक्ने गरी भाडा लिएर यात्रु  बोक्दा चुइँक्क बोलेका छैनन्,' उनले आक्रोश पोखे, 'रातो नम्बर प्लेटलाई जथाभावी छोडिएको छ। कोरोनाको उत्पादक कालो नम्बर प्लेट हो त?'

सुरुमा व्यवसायीहरुले जोर-बिजोरका आधारमा जिल्लाभित्र संचालन गर्न प्रस्ताव गरेको भएपनि त्यसलाई लत्याएर पूर्णरूपमा सरकारले नै चलाउने निर्णय गरेको व्यवसायीहरुको आरोप छ।

भदौमा लामा दुरीका सवारी साधन संचालन गर्न नदिए मजदुरहरु भोकभोकै मर्ने अवस्था आउने गुनासो व्यवसायीहरुको छ। 'भदौमा पनि नचले हाम्रा लाखौ मजदुर भोकै मर्छन्। हामीमाथि चरम अन्याय भएको छ। बाध्य भएर सडकमा आउनुपर्ने हुन्छ,' सिटौलाले भने।

स्वास्थ्य सुरक्षाको मापदण्ड र निर्देशिका कडाइका साथ पालना गरेर सार्वजनिक यातायात  संचालन गर्न दिनुपर्ने माग व्यवसायीहरुको छ।