बिक्री न्यून हुँदा पनि व्यवसायीले उठाए ४० किलो सुन, के अझै महँगिने अनुमानमा स्टक राख्दैछन् ?

बिजमाण्डू
२०७७ साउन २७ गते ०८:४५ | Aug 11, 2020
बिक्री न्यून हुँदा पनि व्यवसायीले उठाए ४० किलो सुन, के अझै महँगिने अनुमानमा स्टक राख्दैछन् ?

Tata
GBIME
Nepal Life

काठमाडौं । सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाउँदै गएपछि बिक्री नै हुन छाडेको बताउँदै आएका सुनचाँदी व्यवसायीहरुले केही दिनयता ठूलो परिमाणमा सुन उठाएका छन् । नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल शर्माले दिएको जानकारीअनुसार, पछिल्लो दुई सातामै बैंकहरुबाट व्यवसायीले ४० किलो सुन किनेका हुन् ।

११ चैतबाट लगाइएको लकडाउनयता व्यवसायीले खरिद गरेको सुनकाे यो सबैभन्दा ठूलो परिमाण हो । त्यसअघि सुनको आकाशिँदो मूल्यले आम उपभोक्ताको खरिद हैसियत साँघुरो बनाउँदै लगेपछि माग घट्दा बैंकहरुबाट व्यवसायीले सातामा केही किलो मात्र किन्दै आएका थिए । 

त्यसो त व्यवसायीले १५ दिनयता किनेको सुनको परिमाण आफैंमा कोभिड प्रभाव र लकडाउनअघिको सामान्य अवस्थाको भन्दा निकै कम हो । पोहोर यहीबेला दिनकै २० किलो सुन खपत भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार विश्वकर्माको भनाइ छ ।लकडाउनअघि त अझ दैनिक औसतमा २५ देखि ३० किलोसम्म सुनको माग तथा कारोबार हुने गरेको विश्वकर्माका साथै नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जन पनि बताउँछन् । 

नेपाल राष्ट्र बैंकले १९ चैतयता दिनको १० केजी मात्र सुन आयात तथा बिक्रीको कोटा वाणिज्य बैंकहरुलाई तोकिदिएको छ । त्यसअघि यो कोटा २० केजीसम्म थियो । यसबाट पूर्ति हुनेबाहेक व्यवसायीसँग मौज्दातमा रहेको र रिसाइकल हुने सुनबाट दैनिक २५ देखि ३० किलोको बजार माग धानिँदै आएको महर्जनको भनाइ छ । 

तर, ८० दिन पूर्णरूपमा बन्द बजारका सुनचाँदी पसल सरकारले लकडाउन आंशिक खुलाको निर्णय गरेसँगै असारबाट खुलेको भए पनि गरगहना पसलमा खरिदकर्ताको चाप अहिलेसम्म न्यून नै रहेको सुनचाँदी व्यवसायीहरुका दुई छाता संगठनका अध्यक्षद्वय बताउँछन् । 

यसका बाबजुद पछिल्ला केही दिनयता दिनकै औसत तीन किलो हाराहारीमा सुन खरिद हुन थालेपछि यसले खासगरी दुईवटा कुराको संकेत गरेको छ । पहिलो – सुन तथा यसका गरगहनाको नयाँ खरिद-बिक्री वा माग नेपाली बजारमा पुरानै लयमा फर्किंदै छ । वा, दोस्रो – अहिले बिक्री ठप्पप्रायः भएपनि यो मूल्यवान पहेंलो धातुको मूल्य अझै उकालो लाग्ने अनुमानमा व्यवसायीहरुले क्षमताले भ्याएसम्म किन्दै स्टकमा राख्न थाले।  

यसमध्ये व्यवसायीले सुन उठाउने परिमाण बढ्नुमा पहिलो कारण त्यति बलियो देखिँदैन । किनकि, उपभोक्ताबाट हुने सुन वा गरगहना खरिदको क्रममा सामान्य सुधार आएको भए पनि यसबाट ठूलो परिमाणमा खपत गर्ने अवस्थामा सुनचाँदी बजार अझै पुगिनसकेको व्यवसायीहरु स्वयम् बताउँछन् । 

माग र खपतका दृष्टिले बजार सुधार भइनसकेको रत्न तथा आभूषण महासंघका अध्यक्ष महर्जनको भनाइ छ । 'सुनचाँदीको बजारमा सामान्य चहलपहल बढेको भएपनि रिभाइभ नै भने भइसकेको छैन, तर बिक्री फिर्ता आउने क्रम भने घटेको छ,' उनले भने, 'तोलाको एक लाख नपुग्दासम्म जुन दरमा सुन र गरगहनाको रिटर्न सेल्स आइरहेको थियो, अहिले मूल्य अझै बढ्छ भन्ने भएपछि त्यसमा कमी आएको हो ।'

अर्कोतर्फ, यो धातु निकट भविष्यमै अझै महँगिने अनुमानमा व्यवसायीहरुले खरिद गरेर स्टक राख्न थालेको हुनसक्ने सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष विश्वकर्माको भनाइ छ । उनी भन्छन्, 'तोलाको सवा लाखदेखि डेढ लाखसम्म पुग्छ भन्ने 'हल्ला' छ । तीज र त्यसपछि पनि अन्य चाडहरु आइरहेकाले त्‍यतिबेला व्यापार हुन्छ भन्ने अपेक्षामा व्यवसायीहरुले अहिले सुन किनेर स्टक राख्न खोजेको हुन सक्छ ।' 

पछिल्लो दुई सातामा बजार मागमा तात्विक अन्तर खासै नदेखिएता पनि यही अवधिमा बैंकहरुबाट व्यवसायीले खरिद गर्ने सुनको परिमाण ह्वात्तै बढ्नुले विश्वकर्माको अनुमानजस्तै सुनचाँदी व्यवसायीले स्टकमा राख्न ल्याकतअनुसार सुन उठाउन खोजेको बुझिन्छ ।

यद्यपि, व्यवसायीले यसरी खरिद गर्ने सुनको यकिन अभिलेख सुनचाँदी व्यवसायीहरुका छाता संगठनहरुले पनि राख्ने गरेका छैनन् । राष्ट्र बैंकले तोकेका कागजातहरु पेश गरेर व्यवसायीले बैंकहरुबाट आवश्यकता अनुसार (समग्र किनबेच दैनिक १० किलोको सीमाभित्र) सुन खरिद गर्न सक्छन्, त्यसको जानकारी सुनचाँदी व्यवसायीका छाता संगठनलाई गराइराख्नु पर्दैन । यसकारण पनि महासंघ पछिल्ला दिनमा व्यवसायीहरुले बैंकबाट खरिद गरिरहेको सुनबारे पूर्णरुपमा जानकार नभएको विश्वकर्माको जिकिर छ ।

'देशभरमा २२ सयदेखि २५ सय हाराहारी सुनचाँदी व्यवसायी छन् । तीमध्ये कसले दैनिक कति कति सुन बैंकबाट किनिरहेका छन् भन्ने हामीलाई उनीहरु आफैंले नभनेसम्म खासै जानकारी हुँदैन,' उनी भन्छन् । 

व्यवसायीले फर्म दर्ता तथा नवीकरणको कागजात, कर चुक्ताको प्रमाणपत्र, सुनचाँदी व्यवसायीका संगठनको सदस्यताको प्रमाण, अन्य तालुक सरकारी निकायमा दर्ता भएको लगायतका कागजात पुर्‍याएर बैंकबाट सुन किन्न सक्छन्, जसको जानकारी स्वेच्छिक रूपमा छाता संगठनलाई गराउने हुन् ।  

नेपालमा २१ साउनमा सुनको मूल्यले ऐतिहासिक उचाई तोलाको एक लाख पार गर्‍यो । सुनचाँदी व्यवसायीहरुका अनुसार, त्यसयता मूल्य तोलाको लाखभन्दा तल आउँदैन भन्ने चर्चा बढ्दै जाँदा बिहे लगायतका लागि सकेजति सुन जोड्न थाल्ने ग्राहक पनि केही बढेका छन् । साथै, अन्य लगानीका विकल्प खासै नहुँदा आम मानिसदेखि पैसा भएका व्यक्तिहरुले पनि सुन किनेर राख्ने क्रम बढेको उनीहरुको भनाइ छ। 

दुई महिनामा १७० किलो सुन बिक्री !
सुनको बढेको मूल्यले बजार बिगार्दा नयाँ बिक्री नभएकाले व्यवसाय नै छोडेर भाग्नुपर्ने दिन आउने सम्भावनाको जिकिर सुनचाँदी व्यवसायीहरुले गर्दै आएका छन् । अझ कारोबारमा मन्दी आएकाले सरकारले यो व्यवसायलाई कोभिड-१९ बाट अति प्रभावितको सूचीमा राखेर सहुलियत दिनुपर्ने समेत केही सुनचाँदी व्यवसायीहरुको भनाइ छ । तर, पछिल्लो दुई महिनामा व्यवसायीहरुले किनेको सुनको परिमाणले अवस्था त्यति दयनीय नरहेको प्रष्ट्याउँछ ।

सरकारले जेठ अन्तिमबाट आर्थिक गतिविधि संचालन खुकुलो बनाउने निर्णय गरेपछि सुन पसलहरुमा पनि चहलपहल सुरु भएको हो । त्यसयताको दुई महिनाभन्दा कम अवधिमा बैंकहरुसँग मौज्दातमा रहेकोमध्ये झन्डै आधा सुन व्यवसायीहरुले किनिसकेका छन् । 

१५ दिनअघिसम्म पनि २२० किलो सुन बैंकसँग थियो । अहिले १८० किलो बाँकी रहेको बैंकर्स संघका सीईओ शर्माले बताए । लकडाउन शुरु हुनुभन्दा करिब १५ दिनअघि (फागुनअन्तिम) सम्म बैंकहरुसँग करिब साढे तीन सय किलो सुन मौज्दात थियो । यसअनुसार, पुग नपुग पछिल्लो दुई महिनामा व्यवसायीले १७० किलोको हाराहारीमा सुन खरिद गरिसकेका छन् ।

व्यवसायीहरुले पछिल्लो दुई सातामा किनेको ४० किलो सुन पनि बैंकहरुसँग स्टकमा भएकैबाट हो । पछिल्लो फागुनयता बैंकहरुले सुनको नयाँ आयात गरेका छैनन् ।