खरिद चाप बढेर दुई पटक सर्किट लागेपछि शेयर बजार बन्द, ७२ अंकको उछाल

बिजमाण्डू
२०७७ असार १६ गते १३:३४ | Jun 30, 2020


काठमाडौं। मंगलबार दुई पटक बढ्दो क्रममा सर्किट लागेपछि शेयर बजार २ घण्टामै बन्द भएको छ।

Tata
GBIME
Nepal Life

बिहान ११ बजेर ४८ मिनेट जाँदा ४ प्रतिशतले बजार बढेपछि २० मिनेटको लागि कारोबार स्थगित गरिएको थियो। २० मिनेटपछि खुलेको कारोबार पनि निरन्तर उकालो लागेर ६ प्रतिशत बढेपछि १ बजे नै कारोबार बन्द भएको हो।

मंगलबार शेयर बजार ७२.०५ अंकले बढेर १२६०.७५ अंकमा उक्लिएको छ। २२ करोड ७२ लाख रुपैयाँमा ४ लाख ८९ हजार कित्ता शेयर किनबेच भएका छन्।

नागरिक लगानी कोष, एसियन लाइफ इन्स्योरेन्स, सूर्य लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स र शिवम्  सिमेन्टको शेयर १० प्रतिशतले बढेको छ।

त्यसैगरी साल्ट ट्रेडिङ कम्पनी, विजय लघुवित्त, हिमालयन डिस्टिलरी र साना किसान विकास बैंकको शेयर पनि करिब १० प्रतिशतले नै बढेको छ।

मंगलबार कारोबार भएका १३४ कम्पनीमध्ये २२ वटा कम्पनीको मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। १३ वटा कम्पनीको मूल्य घट्दा सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनी र ओरियन्टल होटलको को शेयर मूल्य करिब १० प्रतिशतले घटेको छ।