सुनको मूल्य लकडाउन खुलेपछि एक लाख नाघ्न सक्ने, मुद्रा संकुचनका कारण उकालो लाग्दैछ मूल्य

बिजमाण्डू
२०७७ जेठ २१ गते १२:०६ | Jun 3, 2020
सुनको मूल्य लकडाउन खुलेपछि एक लाख नाघ्न सक्ने, मुद्रा संकुचनका कारण उकालो लाग्दैछ मूल्य


काठमाडौं। लकडाउन खुल्नेबित्तिकै सुनको भाउ प्रतितोला एक लाख रूपैयाँ पुग्यो वा त्योभन्दा पनि माथि उक्लियो भने अचम्म नमान्न तयार हुनुस्। लगानी सुरक्षित हुने भन्दै अन्तर्राष्ट्रिय बजारका लगानीकर्ता सुनमा आकर्षित भएपछि भाउ अझ उक्लिने अवस्था बनेको हो। 

Tata
GBIME
Nepal Life

सुनलाई मुद्रास्फीति (इन्फ्लेसन) बाट सुरक्षित रहने उत्तम कमोडिटीका रूपमा हेर्ने गरिएको छ। मुद्रास्फीतिबाट बच्नका लागि गरिने सुनलगायत अन्य कुनै पनि विकल्पको (तुलनात्मकरूपमा सुरक्षित) लगानीलाई ‘हेज अगेन्स्ट इन्फ्लेसन’ भनिन्छ। 

लगानीकर्ताहरुले अन्य विकल्पभन्दा सुनमा यही सुरक्षा (हेज अगेन्स्ट इन्फ्लेसन) देख्दा पछिल्ला केही महिनायता सुनको मूल्य विश्व बजारमा निरन्तर उक्लँदो क्रममा छ। नेपालमा पनि यसको प्रभाव देखिएको छ। 

लकडाउन लागू हुनुभन्दा एक दिनअघि (१० चैतमा) सुनको कारोबार मूल्य तोलाको ७७ हजार रूपैयाँ पुगेको थियो। त्यसयता अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको कारोबार भइरहे पनि नेपालमा भने बजार कारोबार बन्द छ। यसका बाबजुद दुई महिना तीन दिनपछि गत हप्ता (बुधबार) नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले सुन-चाँदीको मूल्य सार्वजनिक गर्‍यो।

महासंघले बुधबार सुनको मूल्य तोलाको ८६ हजार ८० रुपैयाँ तोकेको थियो। पछिल्लोपटक बजार बन्द हुँदाको भन्दा यो तोलामा एकैचोटी ९ हजार ८० रुपैयाँले बढेको हो। त्यसयता जेठ १५ मा आएको बजेटले प्रतिदश ग्राम दुई हजार रुपैयाँ (तोलाको रु. २३३२) ले सुनको भन्सार बढाएको छ । अघिल्लो साता सार्वजनिक मूल्यमा बजेटबाट बढाइएको भन्सार समेत जोड्दा तोलाको करीब ८८ हजार रुपैयाँ यसैपनि पुगिसकेको देखिन्छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढिरहँदा नेपाली बजारमा भने भाउ सार्वजनिक नहुँदा उपभोक्ता अन्योलमा परेको भन्दै महासंघले बुधबार सुनचाँदीको मूल्य सार्वजनिक गरे पनि कारोबार भने अझै खुला भइसकेको छैन।

सुनचाँदी व्यवसायीहरुको अर्को संस्था नेपाल सुनचाँदी व्यवसायी महासंघ भने सुनचाँदी रत्न तथा आभूषण महासंघले तोकेको मूल्यलाई आधिकारिक नस्विकार्ने बताउँछ। यद्यपि, उसले पनि अहिले कारोबार खुला गरे सुनको कारोबार मूल्य तोलाको ९० हजारमाथि पुगिसकेको बताएको छ। 

सुनचाँदी बिक्रेताहरुको संस्थागत द्वन्द्वलाई अलग्गै राखेर हेर्ने हो भने पनि लकडाउन खुलेपछि सुनको मूल्य तोलाको एक लाख रुपैयाँभन्दा माथि जाने प्रायः सबै सुनचाँदी व्यवसायीहरु बताउँछन्। 

तर, सुनको अन्तर्राष्ट्रिय बजार मूल्यले यसलाई कसरी निर्देशित गर्छ त्यो हेर्न भने बाँकी नै छ। अन्तर्राष्ट्रिय मूल्य पनि लगानीकर्ताहरुको यो पहेँलो धातुप्रतिको विश्वासमा निर्भर रहन्छ।

कोभिड–१९ बाट विश्व अर्थव्यवस्थाको चाल शिथिल हुँदै जाँदा मूल्यवृद्धि (मुद्रास्फीति) को आकलन धेरैले गरेका छन्, जसमा विभिन्न लगानी विकल्पहरुमा कुस्त पैसा लगाउने संसारका ठूला लगानीकर्ताहरुको समूह पनि छ। मुद्रास्फीतिको यही आकलनका कारण लगानी सुरक्षाका लागि सुनप्रति आकर्षण बढ्दा मूल्य ह्वातह्वाती उक्लिरहेको विश्लेषण धेरैको छ। 

युरोपियन हेज फन्ड म्यानेजर क्रिस्पिन ओडीले त अझ मुद्रास्फीति नियन्त्रणका लागि सरकारहरुले निजी स्वामित्वलाई निषेध गर्नुपर्ने तर्क राखेका छन्। ‘विभिन्न मुलुकका सरकारले कोभिड–१९ का कारण यदि मुद्रास्फीतिमाथि नियन्त्रण गुमाए भने उनीहरुले व्यक्तिगत रूपमा सुन किनेर राख्न निषेध गर्नुपर्छ,’ उनले भनेका छन्। 

तर, बजारले गरिरहेको यो विश्लेषण सुनको मूल्य उकालो लाग्नुको वास्तविक कारणसँग मेल नखाने ब्लुमबर्गले लेखेको छ। ब्लुमबर्गका अनुसार, अहिलेको विश्वव्याधिका कारण मुद्रास्फिती बढेको होइन, घटेको छ। उपभोक्ता मूल्य पछिल्लो मार्च र अप्रिलमा पनि क्रमशः ०.४ र ०.८ प्रतिशतमा ओर्लिएको थियो। कोभिड–१९ का कारण उद्योग व्यवसायहरु बन्द हुँदा जति आपूर्तिमा कमी आएको छ, बेरोजगारीका कारण मागमा आएको विनाश त्योभन्दा धेरै नै उच्च छ। 

अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भ (फेड) ले तोक्ने वित्तीय उपकरण (सरकारी ऋणपत्र) तथा निक्षेपको ब्याजदरले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उतारचढावलाई धेरै हदसम्म निर्देशित गर्छ। अहिले फेडका साथै विश्वका अन्य विभिन्न केन्द्रीय बैंकहरुले बजारमा नगद प्रवाह बढाउनका लागि कर्जाको ब्याजदर घटाएका छन्। तर कर्जा माग नै नभएकाले यो असरविहीन बनेकाले मुद्रास्फीति सिर्जना नभएको ब्लुमबर्गले उल्लेख गरेको छ। यसकारण सुनको पछिल्लो मूल्यवृद्धिको सिधा विश्लेषण मुद्रास्फीतिभन्दा केही फरक रहेको बताइएको छ।

जब ब्याजदर तल जान्छ, सुनको मूल्य उकालो लाग्छ। यदि मुद्रास्फीतिसँग सुनको मूल्य समायोजन गर्ने हो भने पछिल्लो दशकको शुरुआततिर अमेरिकामा सरकारी ऋणपत्र (बन्ड) को वास्तविक (मुद्रास्फीतिसँग समायोजन गरिएको) प्रतिफल दर बढेकाले सुनको मूल्य घट्दो अवस्थामा रहेको पाइन्छ। 

तर, पछिल्लो समय भने यसको ठीक विपरीत भइरहेको छ। १० वर्षे ट्रेजरी नोट (ऋणपत्र) को वास्तविक दर घट्दा सुनको मूल्य (मुद्रास्फीति समायोजित) बढ्दो क्रममा छ। सुन र ब्याजदर बीचको यो सम्बन्धले अर्थ राख्छ।

सुनले ब्याज दिँदैन, यसैले बन्डको वास्तविक ब्याजदर उच्च भएको अवस्थामा सुन अनाकर्षक लगानी विकल्प हुन जान्छ। यसलाई अर्थशास्त्रीय भाषामा भन्दा, यस्तो अवस्थामा सुन होल्ड गरेर राख्नुको ‘अवसर लागत’ (अपरच्युनिटी कस्ट) उच्च हुन्छ। अर्कोतर्फ, यस्तो अवस्थामा यदि ऋणपत्रहरुबाट प्राप्त हुने प्रतिफल ऋणात्मक भए लगानीका लागि सुन आकर्षक हुन्छ।

छोटकरीमा, अहिले सुनको मूल्य मुद्रास्फीतिका कारण उकालो लागिरहेको होइन। अमेरिका तथा अन्य मुलुकहरुको केन्द्रीय बैंकले कोभिड–१९ को मन्दीका कारण निम्तिएको मुद्रा संकुचन (डिफ्लासन) को विपरित जोखिमसँग जुध्नका लागि ब्याजदरमा कटौती गरेकाले सुनको मुल्य बढिरहेको हो। 

यसकारण सुनको मूल्य उकालो लगाउने इन्जिन यतिबेला मुद्रास्फीति (इन्फ्लेसन) नभएर मुद्रा संकुचन (डिफ्लेसन) हो। अर्थात्, सरकारी ऋणपत्र लगायतको ब्याजदर तल ओर्लिएकाले लगानीकर्ताहरु सुनतर्फ आकर्षित हुँदा मूल्य बढेको हो। किनकि, वास्तविक ब्याजदर सुनको मूल्य उतार–चढावको प्रमुख कारक हो।