हाइटेक कार्पेटले अब यार्न (धागो) पनि उत्पादन गर्ने, टेक्सटाइल उद्योग सरह सुविधा दिन माग

बिजमाण्डू
२०७६ फागुन १२ गते १७:५२ | Feb 24, 2020
हाइटेक कार्पेटले अब यार्न (धागो) पनि उत्पादन गर्ने, टेक्सटाइल उद्योग सरह सुविधा दिन माग


विराटनगर। गलैँचा उद्योगलाई टेक्सटाइल उद्योगका रूपमा परिभाषित गर्दै त्यसले पाउने सरह सुविधा दिन उद्यमीले माग गरेका छन्।

Tata
GBIME
Nepal Life

सुनसरीको हाइटेक कार्पेट इन्डस्ट्रीका सञ्चालक अनुपम राठीले कार्पेट उद्योग पनि टेक्सटाइल उद्योगको श्रेणीमा गणना गरिनु पर्ने बताए।

‘भारत लगायत गलैँचाका मुख्य उत्पादक रहेका सबै मुलुकमा यस्ता उद्योगलाई टेक्सटाइल उद्योगमा गणना गरिन्छ,’ सञ्चालक राठीले भने, ‘लुम (तान) राखिएका सबै उद्योग टेक्सटाइलको वर्गमा पर्छन्। नेपालमा मात्र टेक्सटाइल भनेको सुटिङ-सर्टिङ, लुङ्गी, सारी र धोती आदि लगाउने कपडा उद्योगलाई बुझिन्छ। तर वास्तविकता अर्कै छ। लुम (तान) राखिएका कारणले जुट उद्योग पनि टेक्स्टाइलअन्तर्गत पर्दछ। तर नेपालको मात्र मापदण्ड अनौठो छ।’

हाइटेक कार्पेट नै नेपालको पहिलो र एकमात्र अत्याधुनिक गलैँचा उद्योग रहेको सञ्चालक राठीले बताए।

एक सय २५ करोडको लगानीमा सञ्चालित यस उद्योगले आफैं यार्न (धागो) बनाउने अत्याधुनिक मेसिनहरू पैठारी गरिरहेको छ।

‘केही समयपछि हामी गलैँचा बुन्ने धागो (यार्न) त उत्पादन गर्न सक्छौं, तर भन्सार दरबन्दीले अप्ठ्यारो पार्ने देखिएको छ,’ उनले भने, ‘किनकि तयारी यार्न (धागो) पैठारी गर्दा ५ प्रतिशत भन्सार महसुल लाग्छ भने यार्नको कच्चा पदार्थको भन्सार महसुल १० प्रतिशत छ।’

राठीका अनुसार उद्योगलाई अब ६ महिनाभित्रै यार्न उत्पादन गर्नसक्ने अवस्थामा पुर्‍याइने छ। यसका लागि सरकारसित यार्नको कच्चा पदार्थको भन्सार महसुल घटाइदिन अनुरोध गर्ने काम भइरहेको छ।

हाइटेक कार्पेटले अन्तर्राष्ट्रिय बजारमा बिक्न सक्ने स्तरीय तथा  बलिया कार्पेटको उत्पादन र निर्यात गरिरहेको उनले जानकारी दिए।

‘पुराना मेसिनले पनि काम गर्न सकिन्छ तर हामीले सबै अत्याधुनिक र अपग्रेडेड मेसिन लगायौं,' उद्यमी राठीको भनाइ छ, ‘यस्ता महँगा, अपग्रेडेड र अत्याधुनिक मेसिनका उत्पादनलाई निर्यात नगरी उद्योग चलाउन सकिन्न। तर गलैंचा निर्यातमा भारतले १५ प्रतिशतको इन्सेन्टिभ दिइरहेका बेला नेपाल सरकारले भने ३ प्रतिशत मात्र दिएको छ।’

उनको कथन थियो, ‘भारत सरकारले निर्यातमा ८ प्रतिशत सुविधा दिएको छ भने मेसिन आयात गर्दा ७ प्रतिशत। तर नेपालमा मेसिन पैठारी गर्दा सुविधा होइन उल्टै ४ प्रतिशत भन्सार महसुल बुझाउनु पर्छ।’

हरेक टेक्सटाइल उद्योगले रोजगारी सृजना गरेजस्तै कार्पेट उद्योगले पनि रोजगारी बढाउने उनले उल्लेख गरे। सञ्चालक राठीले हाइटेक कार्पेटमा १ सय ५० कामदार रहेको बताए।

‘भूपरिवेष्ठित मुलुक भएकाले हामी बन्दरगाहबाट टाढा छौं,' उनको धारणा थियो, ‘त्यसैले हाम्रा हरेक पैठारी महँगा हुन्छन्। यस्तो अवस्थामा निर्यातमूलक उद्योगलाई प्रतिस्पर्धी बनाउन सरकारको भूमिका अहम् हुन्छ।’

हाइटेक कार्पेट उद्योगलाई भारतको आर्थिक म्यागेजिन सिलिकन इन्डियाले पनि फरवरीको अंकमा स्टार्टअप स्तम्भअन्तर्गत विशेष स्थान दिएको छ।