उपत्यकामा जग्गा बेच्दा बागमती सफाइका लागि तिरेको कर मात्रै ८ अर्ब, कहिले उठ्यो कति?

बिजमाण्डू
२०७६ फागुन ११ गते १८:२५ | Feb 23, 2020

Tata
GBIME
Nepal Life

काठमाडौ। सरकारले बागमती सभ्यता एकीकृत विकास कोषका लागि उपत्यकाका मालपोतबाट मात्रै ८ अर्ब रुपैयाँ संकलन गरेको छ।

२०६५ साउन १ गतेदेखि उपत्यकामा जग्गा किन्ने जग्गाधनीबाट ०.५ प्रतिशत बागमती सभ्यता कर लिने निर्णय भएपछि १२ वर्षको अवधिमा उक्त रकम संकलन भएको हो।

सुरुवाती समयमा चार करोड रुपैयाँबाट सुरु भएको वार्षिक संकलन अहिले आइपुग्दा करिब डेढ अर्ब रुपैयाँ पुगिसकेको छ। काठमाडौ, भक्तपुर र ललितपुर जिल्लाका ८ वटा मालपोत कार्यालयबाट वर्षेनी ठूलो रकम संकलन भइरहेको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ।

विभागका अनुसार आर्थिक वर्ष २०६५/६६ मा ४ करोड १७ लाख रुपैयाँ बागमती सभ्यता कर संकलन भएको थियो। ०६६/६७ मा ४० करोड ८० लाख, ०६७/६८ मा १५ करोड ७८ लाख, ०६८/६९ मा १६ करोड ४२ लाख र ०६९/७० मा ३५ करोड ३६ लाख रुपैयाँ बागमती सभ्यता कर संकलन भएको थियो।

त्यसै गरि आर्थिक वर्ष २०७०/७१ मा ५३ करोड ७१ लाख, २०७१/७२ मा ७६ करोड ११ लाख र २०७२/७३ मा ९६ करोड ७ लाख रुपैयाँ बागमती सभ्यता कर संकलन भएको थियो।

पछिल्लो तीन वर्षदेखि भने लगातार एक अर्ब भन्दा बढि बागमती सभ्यता कर संकलन हुँदै आएको छ। आर्थिक वर्ष २०७३/७४ मा पहिलोपटक एक अर्ब २९ करोड ९५ लाख रुपैयाँ बागमती सभ्यता कर संकलन भएको थियो। २०७४/७५ मा एक अर्ब ३० करोड ३० लाख, २०७५/७६ मा एक अर्ब १८ करोड ८ लाख र चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ६६ करोड १४ लाख रुपैयाँ बागमती सभ्यता कर संकलन भएको छ।

गत आर्थिक वर्षमा संघीयता कार्यान्वयनमा आएपछि बागमती सभ्यता कर संकलन गर्ने/नगर्ने द्विधाका कारण पहिलो महिना बागमती सभ्यता कर संकलन गरिएको थिएन। जसका कारण अघिल्लो वर्ष एक अर्ब ३० करोड रुपैयाँ संकलन भएको थियो।

मासिक १२ करोड उठाउँदै कार्यालय

उपत्यकाका ९ मध्ये ८ वटा कार्यालयबाट मात्रै बागमती सभ्यता कर उठाउने गरिएको छ।

भक्तपुरको एक मात्रै कार्यालय भक्तपुर मालपोत, ललितपुरको दुई मध्ये ललितपुर मालपोत र काठमाडौका ६ वटा मालपोत कार्यालय डिल्लीबजार, कलंकी, चाबहिल, मनमैजु, टोखा र साँखु मालपोत कार्यालयबाट बागमती सभ्यता कर उठाउने गरिएको छ। ललितपुरको गोटीखेल मालपोत कार्यालयबाट मात्रै बागमती सभ्यता कर उठाउने गरिएको छैन।

गोटीखेल उपत्यकाको केन्द्रबाट केहि टाढा भएको र बागमती नदी फोहोर बनाउनमा गोटीखेलको कुनै भूमिका नभएकोले उक्त ठाउँका जग्गा धनीले बागमती कर तिर्नु नपरेको हो।

उपत्यकाका ८ मध्ये डिल्लीबजार, ललितपुर, कलंकी, चाबहिल र भक्तपुरको मासिक बागमती कर औसत दुई करोड रुपैयाँ हुने गरेको छ। उपत्यकाको काठ क्षेत्रमा रहेका मनमैजु, टोखा र साँखु कार्यालयबाट करिब दुई करोड गरि मासिक १२ करोड रुपैयाँ संकलन हुने गरेको विभागले जनाएको छ।