७० करोडको टेप प्रकरण बारे बास्कोटा: नेकपाका नेताले भ्रष्टाचार गर्छन् भन्ने कुरा नै तार्किक छैन

बिजमाण्डू
२०७६ फागुन ८ गते १३:१५ | Feb 20, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। ७० करोडको कमिसन लेनदेन गर्दै गरेको अडियो टेप सार्वजनिक भए पनि सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले आफ्नो बचाउ गरेका छन्। कञ्चनपुरको एक कार्यक्रममा उनले आफ्नो बचाउ गरेका हुन्।

उनले नेकपाका नेता कार्यकर्ताले भ्रष्टाचार गर्छन् भन्ने कुरा नै तार्किक नभएको दाबी गरे।

'नेकपाको एउटा खास चरित्र छ भ्रष्टाचार अस्वीकार नै गर्दै आएको छ,' उनले अगाडि भने, 'स्कुलिङबाट आइसकेपछि त्यसका नेता कार्यकर्ताले भ्रस्टाचार गर्छन भन्ने कुरा न्यायोचित तार्किक हुँदैन।'

उनले भ्रष्टाचार आफूले गरेको भए आफै जवाफदेही हुने भन्दै पार्टीले जवाफदेही हुनुनपर्ने बताए।

'मान्नुहोस मैले गरेको छु भने त्यसको जवाफदेही पार्टी हुँदैन। म हुनुपर्छ। अभियोगको भरमा डराएर खुट्टा कमाएर हिँड्नु पर्ने अवस्था छैन,' उनले भनेका छन्, 'हिजो फेरि निकालेका थिए रे! यहाँ ६० करोडको कुरा छ होइन? ७० करोड या कुनै।  जतिसुकै करोडको होस्। मैले आफ्नो लागि थुपार्ने होइन। मैले जनतालाई धोका दिनु हुँदैन। आरोप त जे पनि लाग्छ नि।'

उनले अर्बबाट करोडमा झरेको भन्दै व्यंग्य गरे।

'आरोप नआएको होइन। राष्ट्रघातको आरोप पनि झेल्छौं। विकास राम्ररी गर्न सकिएन भन्ने कुरा त आम कुरा भित्रै पर्छ,' उनले भने, 'कहिले दुराचारको कुरा पनि हुन्छ। कहिले भ्रस्टाचारको कुरा पनि हुन्छ। आरोप पनि आउँछन्। तर, ती सबैसँग हामी संघर्ष गर्दै अघि बढेका छौं। र, यसको अर्को विकल्प छैन।'

उनले भ्रष्टाचारमा सरकार चुर्लुम्म डुब्यो भन्नेलाई पनि प्रश्न गरे।

'अहिले यिनले नै भन्छन् नि भ्रस्टाचारको आहालमा चुर्लुम्मै डुब्यो। केही बाँकी छैन,' उनले अगाडि प्रश्न गरे, 'खोइ कहाँ डुब्यो?'

बालुवाटार प्रकरण स्वतन्त्र निकायले छानविन गरेर कारवाही अगाडि बढाउँदा समावेशिता खोजिएको उनले बताए।

'स्वतन्त्र निकायले छानविन गर्छ। त्यसको यथेस्ट प्रमाणसँग मुद्दा दायर गर्छ। अनि भ्रष्टाचारीले के माग गर्छ भने भ्रस्टाचारमा खै समानुपातिक प्रतिनिधित्व?' उनले भने, 'खै माधव नेपाल? माधव नेपाल नराखी पनि हुन्छ र?  खै विष्णु पौडेल राख्या? त्यो नराखी हुन्छ त? तथ्य प्रमाणले चाहिँ राख्ने होला नि त। हाम्रो स्वतन्त्र अदालत छ। तथ्य र प्रमाणले जे भन्छ त्यही राख्ने होला नि त।  हामीले भनेका छौं अदालतबाट निर्दोष भएर आएपछि कुरा सकियो। अभियुक्त हुनु र अपराधी हुनुमा त फरक छ।'

उनले आरोपलाई असत्य प्रमाणित गर्ने बताए। 'कति आरोपहरुलाई हामी असत्य प्रमाणित गर्न सक्छौं? आरोप आँफैमा ठूलो कुरा होइन। आरोप दिनदिनै आउँछन्। किनभने सरकार संचालन गर्दैजाँदा यहाँ वडाध्यक्षलाई पनि आरोप लाग्छ,' उनले भने, 'वडा सदस्यलाई लाग्छ। नगरप्रमुखलाई आरोप लाग्छ। भएको होइन नभएको आरोप लाग्छ। नजिक नै नभएको आरोप पनि लाग्छ। अनि यसले मान्छे भड्काउँदै हिँडेको छ। तर, यो एक्लैको सामान मेयर एक्लैले गर्छ र? मेयर को हो? मेयर पनि त संगठनिक रुपको प्रतिनिधि पात्र त हो नि।'