मूल्यवृद्धिमा सुनको रेकर्ड, पुग्यो प्रतितोला ७७ हजार १००, चाँदी पनि बढेर तोलाको ९ सय ५

बिजमाण्डू
२०७६ फागुन ७ गते १३:२९ | Feb 19, 2020
मूल्यवृद्धिमा सुनको रेकर्ड, पुग्यो प्रतितोला ७७ हजार १००, चाँदी पनि बढेर तोलाको ९ सय ५

Tata
GBIME
Nepal Life

काठमाडौं। सुनको भाउ लगातार बढेर तोलाको ७७ हजार १०० रुपैयाँ पुगेको छ। कारोबारको चौथो दिन बुधबार उच्च मूल्यमा पुगेको हो। मंगलबारका तुलनामा तोलामा ४ सय रूपैयाँ बढेको हो । तीन महिना यता बारम्बार सरदर ७६ हजार ५०० सम्म पुग्दै घट्दै गरेको थियो।

 व्यवसायीका अनुसार यसपटक भने घट्ने संकेत गरेको छैन। मंगलबार ७६ हजार ७ सय, आइतबार र सोमबार प्रतितोला ७६ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो। लगातार बढेपनि घट्ने क्रम निकै न्युन देखिँदा नेपाली सुनचाँदी बजारमा निकै अघिबाट व्यवसाय उत्साहजनक छैन। पुनः भाउ उकालो लाग्दा झन असर पर्ने देखिएको छ।

त्यसैगरि अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य बुधबार तोलामा १५ रूपैयाँले बढेर ९ सय ५ रूपैयाँ पुगेको छ। सोमबार र मंगलबार चाँदी प्रतितोला ८ सय ९० रूपैयाँमा कारोबार भएको थियो। आइतबार प्रतितोला ८ सय ८५ रुपैयाँ थियो। अन्तर्राष्ट्रिय बजारमा सेयर र डलरको भाउ लगातार बढ्दा सुर्क्षित हुन लगानीकर्ता सुन खरिदतर्फ आकर्षित भएको देकिँदै एपनि यसपटक चीनमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को असर सुनमा पनि परेको देखिएको छ।

 
कोभिड-१९ को संक्रमण नियन्त्रणका लागि लगातार प्रयास गरिरहेपनि एक महिनायता चिनियाँ अर्थतन्त्र नराम्ररी प्रभावित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। उद्योगधन्दा, पर्यटन र यातायात प्रभावित हुँदा विश्व बजारमै प्रत्यक्ष असर परेको छ।

 
‘कोरोना भाइरसका कारण चिनियाँ अर्थव्यवस्थामा परेको असरले अन्तर्राष्ट्रिय बजार नै प्रभावित हुँदा सुनको भाउमा असर नपर्ने कुरै भएन,' नेपाल सुन चाँदी व्यवसायी महासंघका उपाध्यक्ष ज्ञानुराज शाक्यले भने, ‘विश्वमा अमेरिकापछि दोस्रो ठूलो चिनियाँ अर्थतन्त्र हो। कोरोना भाइरसका कारण त्यहाँ धेरै उद्योग बन्द हुँदाको असर बजारमा सोझै परेको छ।' विश्वको अर्थतन्त्र, सेयरबजार र सुन कारोबारमा नकारात्मक प्रभाव देखिँदा महंगी अझ बढ्ने संकेत देखा परिरहेको उनले बताए।

 
अन्तर्राष्ट्रिय बजारमा बुधबार बिहानसम्म सुन प्रतिऔंस १६०४.९० डलरमा कारोबार भइरहेको थियो ।