इन्जिनमा समस्या आएपछि सौर्यको अर्को जहाज पनि ग्राउण्डेड, इन्जिन  मर्मतका लागि विदेश पठाइँदै

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७६ फागुन २ गते ०६:४८ | Feb 14, 2020
इन्जिनमा समस्या आएपछि सौर्यको अर्को जहाज पनि ग्राउण्डेड, इन्जिन  मर्मतका लागि विदेश पठाइँदै

Tata
GBIME
Nepal Life

काठमाडौं। इजिनमा समस्या आएपछि निजी वायुसेवा कम्पनी सौर्य एयरलाइन्सको उडान ठप्प भएको छ। कम्पनीले इन्जिन मर्मतका लागि अमेरिका वा जर्मनी लैजाने योजना बनाएको जनाएको छ।

आर्थिक संकटमा फसेको सौर्य एयरलाइन्स पटक/पटक बिक्री हुँदै आएको छ। पछिल्लो पटक भारतको कुवेर समूहले किनेको छ। दुई वटा सिआरजे-२०० जहाजमध्ये एउटैमात्र जहाजले उडान संचालन गर्दै आएको कम्पनीले दोस्रो जहाजको इन्जिनमा समस्या आएपछि उडान बन्द भएको हो।  

'हामीसँग भएको दुईवटा जहाजमध्ये एउटा जहाजले मात्र उडान गर्दै आएका थियौँ। तर संचालित जहाजको इन्जिनमा पनि समस्या आएपछि हामीले उडान बन्द गरेका छौँ। अहिले जहाज मर्मतका लागि कहाँ लैजाने भन्ने विषयमा छलफल भइरहेको छ। जहाज मर्मत गरिसकेपछि पुनः उडान सुचारु गर्नेछौँ।' कम्पनीका उपमहाप्रवन्धक उमेश आचार्यले भने।  

डेढ वर्ष अघिदेखि ग्राउण्डेड सीआरजे-२०० जहाजको पूर्ण रूपमा मर्मत सम्भार गर्न नसकेपछि त्यसलाई फेजआउट गरी नयाँ जहाज खरिद गर्ने योजना बनाएको उनले बताए। उनका अनुसार कम्पनीले चैत महिनाभित्र ग्राउण्डेड भएको पहिलो जहाज फेज आउट गरी एउटा सिआरजे-२०० ल्याउने योजना बनाएको छ।

जहाज थपेलगत्तै कम्पनीले चैत देखि धनगढी, नेपालञ्ज लगायत गन्तब्यमा उडान विस्तार गर्नेछ। कम्पनीले यस अघि एउटै जहाजमार्फत भैरहवा, विराटनगर र भद्रपुरमा उडान गर्दै आएको थियो। 

मन्त्रालयबाट पायो एटिआर-७२ उडान इजाजत 

कम्पनीले १५ दिन अगाडि नेपाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट एटिआर-७२ मार्फत उडान गर्न अनुमति पाएको उप-महाप्रवन्धक आचार्यले जानकारी दिए।

आगामी नौ महिनाभित्र कम्पनीले तीनवटा एटिआर-७२ र दुईवटा सिआरजे-२०० मार्फत उडान गर्ने उनले बताए।

'हामीले क्षमता विस्तार गर्ने क्रममा एटिआरमा प्रवेश गर्न लागेका हौँ। १५ दिन अगाडि मन्त्रालयबाट इजाजत पाएका छौँ। हामीलाई जहाज ल्याउनका लागि झण्डै एक वर्ष प्रक्रिया लाग्छ। यो समयावधिमा दुई वटा सिआरजे मार्फत नियमित उडान गर्नेछौँ', उनले भने,'राष्ट्रिय गौरव आयोजना अन्तर्गत विमानस्थलहरु बन्ने क्रममा छन्। हामीले यीनै कुरालाई मध्यनजर गर्दै निकट भविष्यमा विभिन्न गन्तब्यमा उडान विस्तार गर्नेछौँ।'