टेलिकमको वार्षिकोत्सवमा कर्मचारीलाई मन्त्रीको कटाक्ष, ‘राजनीति गर्ने भए पार्टी कार्यालय जानुस

बिजमाण्डू
२०७६ माघ २२ गते १५:३२ | Feb 5, 2020


काठमाडौं। नेपाल दूर सञ्चार कम्पनी नेपाल टेलिकमले बुधबार आफ्नो १६ औं वार्षिकोत्सव मनाएको छ।

Tata
GBIME
Nepal Life

सरकारी क्षेत्रको एकमात्र टेलिकम कम्पनीले कार्यक्रमको उद्घाटन गर्दै सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले छोटो समयमा नेपाल टेलिकमले उल्लेख्य प्रगति गरिरहेको बताए।

टेलिकमले ठूला ठूला आयोजनामा काम गरिरहेको बताउँदै अन्य योजना समेत निर्माण गर्ने सञ्चारमन्त्रीले बताएका छन्। उनले युटीएलबाट खोसिएको बागमती र गण्डकी प्रदेशको अप्टिकल फाइबर विस्तारको काम टेलिकमले नै गर्ने बताए।

सेवा विस्तार मात्रै गरेर नहुने गुणस्तर सुधार गर्नुपर्ने उनले सुझाव दिए। ‘भूगोल मात्रै ओगटेर पुग्दैन, गुणस्तर सुधार्न लाग्नुस्,’ उनले भने।

टेलिकमले वार्षिकोत्सव मनाइरहँदा आधिकारिक ट्रेड यूनियनका असन्तुष्ट कर्मचारीहरुले भने विरोध प्रदर्शन गरेका थिए।

उनीहरुले कर्मचारीले पाउनु पर्ने सेवा सुविधा नपाएको भन्दै पम्पलेटसहित प्रदर्शन गरेपछि मन्त्री बाँस्कोटाले कटाक्ष गर्दै 'राजनीति गर्ने भए पार्टी कार्यालय जानुस्,' भने।

असन्तुष्ट कर्मचारीहरुले टेलिकमको सेयर कर्मचारीले पनि पाउनुपर्ने, पूर्व ज्यालादारी/ करारका कर्मचारीको नोकरी अवधि गणना हुनुपर्ने, एनटीसीयुडब्ल्युले उठान गरेका विषयको सम्बोधन हुनुपर्ने लगायतका माग राख्दै विरोध जनाएका थिए।

मन्त्री बाँस्कोटाले भने कम्पनीको वार्षिक उत्सवको समयमा खुसी हुनुपर्नेमा प्रदर्शनमा उत्रिनु गलत भएको बताए। 'सही मागको सम्बोधन हुन्छ, तर कम्पनीको जग नै भासियोस् भन्ने खालको माग सम्बोधन गर्न सकिँदैन,' उनले भने।

उनले राजनीतिका लागि राजनीति नगर्न तथा संस्थाको लागि काम गर्ने सुझाव समेत दिएका थिए। ‘तपाइँहरुको आन्दोलनले टेलिकम गोरखकाली रबर उद्योग र टिम्बर कर्पोरेसन जस्तो नहोस्,’ उनले भने।

कार्यक्रममा टेलिकमका महानिर्देशक डिल्लीराम अधिकारीले सेवा विस्तरमा भएको प्रगति तथा कम्पनीले सञ्चालन गरिरहेका बिभिन्न योजनाका बारेमा जानकारी दिएका थिए।

उनले दुरसञ्चार तथा प्रविधिका क्षेत्रमा हुने विकास, व्यावसायिक परिदृष्यमा हुने परिवर्तन र ग्राहकको बदलिँदो चाहाना समेतलाई समेटेर आधुनिक व्यावसायिक अभ्यास गर्दै जाने प्रतिबद्धतासमेत जनाए।

टेलिकमको उन्नति र प्रगतिका लागि कर्मचारी, साझेदार लगायतको महत्वपूर्ण भुमिमा रहेको भन्दै आगामी दिनमा समेत सहयोगको अपेक्षा रहेको उनले बताए।

बिगत एक वर्षमा कम्पनीले निकै महत्वपूर्ण र चुनौतीपूर्ण भएको बताउँदै बहुप्रतीक्षित फोरजी सेवा परियोजना एक वर्षमै देशैभर पुर्‍याउन सकेको बताए। ठूला परियोजनासहित कम्पनीले उपकरण प्रणाली तथा पद्धतिको आधुनिकरण गर्ने उद्देश्य रहेको बताए।

कम्पनीले बिजनेस इन्टेलिजेन्स सिस्टम, सेक्यूरिटी सिस्टम, जीआइएस सिस्टम र नेटवर्क अपरेसन सिस्टम जस्ता परियोजना अगाडि सारेको बताएका थिए।

कम्पनीको एक वर्षको प्रगति विवरण सुनाउँदै अधिकारीले यो वर्ष मात्रै भ्वाइस सेवाको ग्राहक संख्या १३.५९ प्रतिहतले वृद्धि भएको बताए।

हाल भ्वाइस सेवातर्फ २ करोड ३६ लाख ग्राहक पुगेका छन् भने डाटातर्फ २६ प्रतिशतले वृद्धि भइ १ करोड ३७ लाख पुगेको छ। टेलिकमले ३३.३१ अर्ब रूपैयाँ सरकारी राजस्वका रूपमा दाखिला गरेको पनि उनले  बताए।

कम्पनीले अगाडि बढाएको फोरजी सेवाका कारण एक वर्षमा क्रियाशील ग्राहक संख्यामा १० लाखले  वृद्धि भएको छ। परम्परागत रूपमा रहेको पीएसटिएन टेलिफोन र एडीएसएल सेवालाई एफटीटीएच मा रूपान्तरण गरिरहेको छ।

सिडीएमए सेवालाई फोर-जी सेवामा विस्तारै रूपान्तरण गरी यो सेवा बन्द गर्न लागेको समेत कार्यक्रममा जानकारी दिइएको छ। यसबाट कम्पनीको वायरलेस सेवा मा एकरुपता आउनुका साथै स्पेक्ट्रमको समेत बचत हुने विश्वास टेलिकमले लिएको छ।

टेलिकमले देशका ७७ वटै जिल्लामा फोरजी सेवा पुगेको र ३ सय ४० नयाँ टावर निर्माण भएको जानकारी दिएको थियो।

एडीएसएल सेवालाई एफटिटीएच सेवामा रुपान्तरण गर्ने कार्य समेत गरिरहेको उल्लेख गरिएको थियो।  देशका ६६ जिल्लामा एफटिटीएच पूरा भएको जानकारी समेत कार्यक्रममा दिइएको थियो। कम्पनीले आफ्नो वेबसाइटमा समेत परिवर्तन गरेको छ।