सभामुखमा अग्निप्रसाद सापकोटा निर्विरोध निर्वाचित, यस्तो छ ‘हेडसर’को सभामुख यात्रा

बिजमाण्डू
२०७६ माघ १२ गते १६:१५ | Jan 26, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। प्रतिनिधि सभाको सभामुखमा नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटा निर्विरोध निर्वाचित भएका छन्।

आज बसेको प्रतिनिधि सभाको बैठकले सापकोटालाई सभामुखमा निर्विरोध निर्वाचित गरेको हो। प्रतिनिधि सभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सापकोटा सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्।

नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङले सापकोटालाई सभामुख बनाउन संसदमा प्रस्ताव प्रस्तुत गरेका थिए।

त्यसैगरी पूर्वसभामुख ओनसरी घर्ती, नेकपा संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङ र राष्ट्रिय जनता पार्टी (राजपा) सांसद लक्ष्मणलाल कर्णले गरेका थिए।

नेकपाले सापकोटालाई उम्मेद्वार बनाउने निर्णय गरेको थियो।

द्वन्दकालमा काभ्रेका अर्जुन लामाको हत्या आरोपमा अधिवक्ता दिनेश त्रिपाठीले उनीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए।

उनको मुद्दामाथि सनुवाइ आजै हुने भनिए पनि न्यायाधीश हरि फुयालले मुद्दा हेर्न नपाउने भएपछि सभामुख चयनको बाटो खुलेको थियो।

यस्तो छ सापकोटाको सभामुख यात्रा
२०१४ सालमा जन्मिएका सापकोटाको सभामुखसम्मको यात्रा भने लामो छ। सूचना तथा सञ्चार मन्त्री र वन तथा वातावरण मन्त्रालय हाँक्नुअघि संविधानसभा सदस्य रहिसकेका उनी पूर्वशिक्षक र हेडमास्टरका रुपमा स्थापित नाम हो जिल्लामा।

२०६८ सालमा सूचना तथा सञ्चारमन्त्री र २०७२ सालमा वन तथा वातावरणमन्त्री भएका थिए।

एक दशक शिक्षक र माध्यामिक तहको प्रधानाध्यापकसम्म रहिसकेका उनलाई गाउँमा भिजेको नेताका रुपमा चिनिन्छ। २०३२ सालदेखि १० वर्ष उनी शिक्षण पेशामा रहे। १० वर्षै उनी भूमिगत राजनीतिमा सक्रिय रहे। जीवनका दुई वर्ष बन्दी अवस्थामा बिताएका छन् उनले।

राजनीति चाहिँ उनको स्कुले जीवनदेखि नै शुरु भएको थियो। राजनीति र शिक्षण पेशा दुवैलाई एकैसाथ लागेका उनी नेकपा माओवादीले शुरु थालेको सशस्त्र संघर्षको सुरुवात अघि २०५१ सालबाटै भूमिगत भएका थिए।

बृहत शान्ति सम्झौतापछि भएका सबै निर्वाचनमा सिन्धुपाल्चोकबाट जित हासिल गर्दै आएका छन् उनले। दोस्रो संविधानसभा निर्वाचनमा सिंगो वाग्मती अञ्चलबाट प्रतिनिधित्व गर्ने एकमात्र नेकपा माओवादीका संविधानसभा सदस्य रहेका थिए उनी।

उनी संघीय सदनको प्रतिनिधि सभाको निर्वाचनमा तत्कालीन बहालवाला सञ्चारमन्त्री मोहन बस्नेतलाई पराजित गरी निर्वाचित भएका हुन्।

माघ ५ मा बसेको नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकले उनलाई सभामुख बनाउने निर्णय गरेको थियो। यससँगै सिन्धुपाल्चोकको कुभिन्डेको गाउँको नाममा पनि एउटा विशेषता थपिएको छ।

उसो त सभामुखमा लबिङ गरिरहेकै बेला सापकोटा अध्यक्ष प्रचण्डलाई लिएर कदमवासमा पुगेका थिए।

गत पुस २१ गते राति आफ्नै क्षेत्रमा पर्ने चौतारा साँगाचोकगढी नगरपालिका-९ स्थित स्थानीय बलराम गिरीको घरमा बास बस्न पुगेका बेला सापकोटाको पद निश्चित भएको कतिपयले अनुमान गरेका थिए।