त्रुटि पाइएपछि टोयोटा र होण्डाले अमेरिकाबाट लाखौं कार फिर्ता लिँदै, एयरब्याग उत्पादक संकटमा

बिजमाण्डू
२०७६ माघ ९ गते ११:३९ | Jan 23, 2020

Tata
GBIME
Nepal Life

जापानका दुई ठूला अटोमोबाइल कम्पनी टोयोटा र होन्डाले बजारबाट लाखौं कार फिर्ता लिने भएका छन्।

टोयोटाका अनुसार सुरक्षाको सवाल उठेपछि कम्पनीले ३४ लाख कारहरू फिर्ता लिने भएको हो। टोयोटाका ३४ लाखमध्ये २९ लाख कारहरू अमेरिकामा बिक्री भएका थिए।

दुर्घटनाका बेला संभावित क्षतिबाट प्यासेन्जरलाई जोगाउने उपकरणमा डिफेक्ट देखिएको भन्दै ती कम्पनीहरुले कार फिर्ता लिने बताएका हुन्।

टोयोटाका अनुसार अमेरिकामा बिक्री भएका कोरोला, कोरोला म्याट्रिक्स, एभालोन र एभालोन एचभीका मोडलहरूमा यस्तो उपकरणमा खराबी देखिएको छ। ती कारहरू सन् २०१० देखि २०१९ बीच उत्पादन भएका थिए। टोयोटामा जेडएफ टीआरडब्ल्युका एयरब्याग प्रयोग भएका थिए। 

टोयोटाका गाडीहरू फिर्ता लिने बारे कम्पनीले नै विज्ञप्ती जारी गरी डिफेक्टिभ देखिएको इलेक्ट्रोनिक कन्ट्रोल युनिटलाई मर्मत गर्नुपर्ने बताएको हो।

दुर्घटनाका समयमा प्यासेन्जरलाई जोगाउन बनेको इलेक्ट्रोनिक कन्ट्रोल युनिटले कारको सेन्सरसँग सञ्चार गरी एयरब्यागलाई खुल्न र सिट बेल्टबाट थप सुरक्षित बनाउन मद्दत गर्छ।

टोयोटाले यसै सातामात्र आफ्ना ती कारहरूको इलेक्ट्रोनिक कन्ट्रोल युनिटले राम्रोसँग काम नगरेको र त्यसले उक्त उपकरणको कनेक्टिभिटीमा असर पर्ने पत्ता लागेको जनाएको छ।

अमेरिकामा उक्त गाडी प्रयोग गर्नेहरुलाई आगामी मार्चदेखि आफ्नो योजनाबारे जानकारी दिने समेत कम्पनीले जनाएको छ। कम्पनीले उक्त गाडीका प्रयोगकर्ताहरूलाई कारहरु सर्भिस सेन्टरमा पठाउन र त्यहाँ सेन्सरमा केही खराबी देखिए आवश्यक मर्मत तथा नयाँ उपकरणहरु जडान गर्ने सुविधा उपलब्ध गराउने पनि जनाएको छ।

होण्डाले पनि विज्ञप्ति जारी गर्दै अमेरिकामा बेचिएका २४ लाख  र क्यानडामा बेचिएका ३ लाख कारहरू फिर्ता लिने बताएको छ।
होन्डाको सन् १९९६ देखि २००३ बीचमा उत्पादन भएका केही मोडलका ताकाता कम्पनीको एयरब्यागमा खराबी देखिएको भन्दै यसलाई उचित मर्मत गर्नुपर्ने देखिएको जनाएको हो। 

एयरब्यागमा देखिएको खराबीका कारण कार फिर्ता लिन लागेको होन्डा कम्पनीको निर्णयले जापानी एयरब्याग मेकर कम्पनी ताकाताको लागि भने टाउको दुखाइ बनेको छ।

यसअघि नै ताकाताका एयरब्यागहरू सुरक्षासम्बन्धी स्क्यान्डलमा फँसेको छ। समस्याग्रस्त अवस्थामा पुगिसकेकाले हाल उक्त कम्पनीले टाट उल्टिएको घोषणा गर्न लागेको छ।

ताकाता सन् २०१५ मा नै आफ्ना त्रुटिपूर्ण एयरब्यागका कारण समस्यामा परिसकेको थियो।  त्यसबेला ताकाताका एयरब्याग प्रयोग गरेका ३४ वटा अटो ब्राण्डहरूले समस्या भएपछि फिर्ता लिनुपरेको थियो। उसले त्रुटिपूर्ण एयरब्याग भएका १ करोड ८० लाख कारहरूको समस्या समाधान गर्नुपरेको थियो।

फेरारीदेखि फोर्डसम्ममा प्रयोग भएका ताकाताका एयरब्यागहरूमा देखिएको त्रुटिका कारण विश्वभर कम्तीमा २९ जनाको मृत्यु भएको तथा सयौं घाइते भएको तथ्यांक अष्ट्रेलिया सरकारले नै सार्वजनिक गरेपछि ताकाता समस्यामा परेको थियो।

त्यसैबेलादेखि ओरालो लाग्न सुरू भएको ताकातालाई विश्वकै चौथो ठूलो एयर ब्याग उत्पादक कम्पनी मानिन्छ।