तोलामा ५ सयले घट्यो सुन,  बुधबार प्रतितोला ७४ हजार ८ सय, चाँदी पनि घट्यो भाउ 

बिजमाण्डू
२०७६ माघ ८ गते १२:४४ | Jan 22, 2020
तोलामा ५ सयले घट्यो सुन,  बुधबार प्रतितोला ७४ हजार ८ सय, चाँदी पनि घट्यो भाउ 

Tata
GBIME
Nepal Life

काठमाडौं। मंगलबार थोरैले उकालो लागेको सुनको मूल्य बुधबार ५ सय रूपैयाँले घटेर प्रतितोला ७४ हजार ८ सय भएको छ। तेजाबी सुन प्रतितोला ७४ हजार ५ सय कायम भएको छ।

त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला १५ रूपैयाँले ‌ओरालो लाग्दै प्रतितोला ८ सय ८० रूपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।पछिल्लो एक सातामा सुनको मूल्य अस्थिर रहेतापनि ठूलो अन्तरले घटबढ भने भएको छैन। एक सातामा सुन सबैभन्दा कम मूल्य ७४ हजार ७ सयमा कारोबार भएको थियो भने मंगलबार बढिमा प्रतितोला ७५ हजार ३ सय रूपैयाँसम्म पुगेको थियो।

नेपालमा सुनको मूल्यवृद्धि हुनुमा आन्तरिक कारण नभइ अन्तर्राष्ट्रिय राजनीतिक तनाव नै भएको व्यवसायी बताउँछन्। महासंघका अध्यक्ष मोहनकुमार सुनारका अनुसार विभिन्न शक्ति राष्ट्रका बीच जारी विवादले अन्तर्राष्ट्रिय सेयर बजार, पेट्रोलियम पदार्थ र डलरको भाउमा हुने उतारचढावकै असर सुनको बजारमा पर्छ ।

‘अमेरिका र इरान जारी विवाद समाधानका लागि वार्तामा हुनसक्ने संकेत हुँदा सुन घट्ने र वार्ता अनिश्चित देखिँदा मूल्य बढ्ने देखियो,' उनले भने, ‘घटबढ अनिश्चितताको यो अवस्था अझै केही समय रहिरहने देखिएको छ।’ बिहेवारीको सिजन भएपनि मूल्यमा आएको उतारचढावले नेपाली बजारमा सुनको कारोबार बढ्न सकेको छैन। सिजनमा दैनिकजसो ३० केजी बराबर सुन किनबेच कारोबार हुने बजारमा हिजोआज दैनिक ८ देखि १० केजीको मात्रै कारोबार भएको व्यवसायीले बताएका छन्।