उद्योगीले ओपिसी सिमेन्टमा नयाँ गुणस्तर लिने प्रक्रिया थाले, बोराको कलर कोड बन्दै

बिजमाण्डू
२०७६ माघ ८ गते १०:५६ | Jan 22, 2020
उद्योगीले ओपिसी सिमेन्टमा नयाँ गुणस्तर लिने प्रक्रिया थाले, बोराको कलर कोड बन्दै

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल गुणस्तर तथा नापतौल विभागले ओपिसी सिमेन्टको नयाँ गुणस्तर निर्धारण गरेपछि उद्योगीले लिने प्रक्रिया अघि बढाएका छन्।

 गुणस्तर परिषदको १०२ औं बैठकले ओपिसी सिमेन्टको ४३ र ५३ ग्रेड गुणस्तर निर्धारण गरेको थियो।  ‘ओपिसीको नयाँ गुणस्तर मापदण्डले सिमेन्ट उद्योग क्षेत्रकै विकासमा सघाउ पुर्‍याउँछ,’ अम्बे समूहका चेयरम्यान हरि न्यौपानेले बिजमाण्डूसँग भने, ‘हामीले पनि नयाँ गुणस्तरका लागि आवेदन दिनेछौं।’ अम्बे समुहअन्तर्गत दुईवटा सिमेन्ट उद्योग छ।

समूह अन्तर्गतका अम्बे सिमेन्टले हाइटेक ब्राण्डको ओपिसी सिमेन्ट उत्पादन गर्छ भने शंकर समुहअन्तर्गत रिद्धिसिद्धि सिमेन्ट उद्योगबाट रिद्धिसिद्धि ब्राण्डको ओपिसी सिमेन्ट उत्पादन गर्छ।

उनका अनुसार नयाँ ग्रेडका लागि छुट्टै बोरा चाहिने भएकाले केही समय पछिमात्रै बजारमा ल्याउन सकिन्छ। ‘हामीले उत्पादन गरिरहेको सिमेन्ट ४३ र ५३ ग्रेडकै छन्। तर हामीले लेख्न पाएका थिएनौं। अब गुणस्तरबाट बाटो खुलेको छ,’ उनले भने, ‘त्यसका लागि केही समय भने पर्खिनुपर्छ। हामीले केही महिनाका लागि बोरा किनिसकेका हुन्छौं। त्यो सकिएपछि मात्रै हामीले ग्रेड लेखेर ल्याउन सक्छौं।’

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले नयाँ ग्रेडको सिमेन्ट उपभोक्ताले सहजै चिन्ने वातावरण तयार पार्न बोरामा निश्चित 'कलर कोड' राख्ने बताउँदै त्यसका लागि तयारी भइरहेको बताए। ‘हामीले केही दिनभित्रै बोराको कलर कोड निश्चित गर्छौं। त्यो हुनेबित्तिकै उद्योगीलाई समेत नयाँ गुणस्तरमा जान सजिलो हुन्छ,’ उनले भने, ‘नयाँ ग्रेड तोकेपछि उद्योगीहरू पनि उत्साहित भएको पाएको छु। यसले सिमेन्ट उद्योगको विकासमा सहयोग पुग्ने विश्वास लिएका छौं।’

उनका अनुसार केही उद्योगीले नयाँ मापदण्डमा जानका लागि विभागमै आएर छलफल समेत सुरू गरिसकेका छन्। नयाँ गुणस्तर लिनका लागि फेरि आवेदन दिनुपर्ने भएकाले उनीहरु विभाग गएका हुन्। उनीहरुको गुणस्तर जाँच गरेपछि नयाँ ग्रेड तोकिन्छ।’ नेपाल गुणस्तर इजाजत ०४९ अनुसार पाएका थिए भने अब नयाँ ग्रेडमा जाँदा 'एनएस ५७२' पाउनेछन्।