वीरगंजमा प्याज सस्तियो, प्रतिकिलो १२० रूपैयाँ, चिनियाँ प्याज काठमाडौं फिर्ता, बजार सहज हुँदै

बिजमाण्डू
२०७६ माघ १ गते ११:१८ | Jan 15, 2020
वीरगंजमा प्याज सस्तियो, प्रतिकिलो १२० रूपैयाँ, चिनियाँ प्याज काठमाडौं फिर्ता, बजार सहज हुँदै

Tata
GBIME
Nepal Life

वीरगंज। भारतबाट भित्रिने प्याज वीरगंजको बजारमा सस्तिँदै गएको छ । अभाव टार्न झिकाइएको चिनियाँ प्याज बिक्री नभएर काठमाडौं फिर्ता पठाइएको छ ।

भारतमा महंगिएर बजारमा आपूर्ति घटेपछि नमुनाका रूपमा केही व्यवसायीले ४५/५० बोरा चिनियाँ प्याज काठमाडौंबाट झिकाएका थिए ।  भारतबाट अनौपचारिकरूपमा भित्रिन सुरु हुनुका साथै चिनियाँ प्याज धेरै दिन स्टक राख्न नमिल्ने देखिएकाले पुनः काठमाडौंमै बेच्न फिर्ता गरिएको तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष विदुर गुप्ताले बताए । 'इण्डियाबाट सजिलै आउन थाल्यो भने भाउ अझै घट्न सक्छ,' उनले भने, 'अझै पनि पारिको बजारमा भाउ अपेक्षाअनुसार घटिसकेको छैन तर, पहिलेको जस्तो अभावको अवस्था नरहेको खबर पाएका छौं ।'
 
हाल भारतबाट भित्रिने प्याज प्रतिकिलो १ सय २० रूपैयाँमा बिक्री भइरहेको छ भने चिनियाँ प्याज एक साताअघि ८० रुपैयाँ प्रतिकिलो बिक्री भएको उनले बताए । आयात खुला भएमात्रै प्याजको भाउ बिस्तारै सस्तिदै जाने व्यवसायीको भनाइ छ । आपूर्ति घटेपछि आफ्नो बजारमै प्याजको भाउ बढेर हाहाकार हुन थालेपछि भारतले निर्यातमा निर्यातमा प्रतिबन्ध लगाएको छ ।

भारतीय बजारमा पनि विस्तारै आपूर्ति सहज भएको छ । औपचारिकरूपमा बंसार नाकाबाट प्याज भित्रिएको छैन । लुकीछिपी भन्सार कटाएर प्याज भित्रिरहेको व्यवसायीहरुको भनाई छ । रक्सौलको भन्सारले आफ्नो नाका भएर प्याज नेपाल पस्न दिएको छैन । तस्करले थोरै थोरै परिमाणमा भित्र्याएर वीरगंजको बजारमा ल्याएका छन् ।

 
कलैया, गौर, हेटौडा, निजगढ, चितवन, पोखरा र काठमाडौंलगायतका बजारमा यतिबेला प्याज वीरगंजबाटै जाने गरेको स्रोतले बताएको छ । दैनिक करिब पाँच ट्रक आलु र तीन ट्रक प्याज वीरगंज आउने गरेकोमा भारतले रोक लगाएपछि करिब आधाले आयात कम हुँदा प्याजको भाउ पहिलेभन्दा बढेको छ । 

भारतको नासिकलगायत केही राज्यमा बाढीका कारण प्याजको खेती प्रभावित भएपछि भारतीय बजारमै अभाव हुँदा भाउ निरन्तर बढेको थियो । त्यसको सोझो असर नेपाली बजारमा पनि परेको थियो । एक महिनाअघि वीरगंजमै प्याजको भाउ २ सय ८० रुपैयाँसम्म पुगेको थियो । भारतबाट आयात रोकिएपछि अभाव टार्न नेपाली व्यवसायीले बजारमा चिनियाँ प्याज भित्र्याएका थिए ।