इन्टरनेट प्रयोगकर्ता हैरान, प्राधिकरण भन्छ- उजुरी गर्दैनन्, आइएसपीको गुनासो छुट्टै

बिजमाण्डू
२०७६ मंसिर २० गते १०:५४ | Dec 6, 2019
इन्टरनेट प्रयोगकर्ता हैरान, प्राधिकरण भन्छ- उजुरी गर्दैनन्, आइएसपीको गुनासो छुट्टै

Tata
GBIME
Nepal Life

काठमाडौं। कलंकीका  एक इन्टरनेट प्रयोगकर्ता नेटको स्पीड कम हुँदै गएर हैरान भए । सेवा प्रदायक कम्पनीलाई उनले पटक-पटक फोन गरे । छिट्टै बनाइदिने जवाफ पाइरहे । न कम्पनीबाट कोही आयो न त सेवाको गुणस्तर सुधार भयो । चल्नै छाडेपछि उनी कम्पनीको कार्यालयमै पुगे,  भने- तपाइँको लाइन हटाउनुस् मलाई चाहिदैन।

स्युचाटारकी सुनिता तिवारी गृहणी हुन् । बाल बच्चा स्कुल पठाएपछि मोबाइल र टिभी उनको साथी । प्रयोग गर्ने इन्टरनेट राम्रोसँग चल्दै, कुरा गर्दागर्दै कनेक्सन काटिने । मोबाइलमा पनि राम्रो नचल्ने भएपछि दिक्क छिन्। 'नेट चलेन भनेर फोन गर्दाको दिन चल्छ, भोलिपल्ट फेरि उस्तै। म त आजित भएँ,' उनी भन्छिन् ।

इन्टरनेट अब हाम्रा आधारभूत आवश्यता बनेको छ । जेसुकै सूचना हेर्नुपरे अब इन्टरनेट नभइ हुँदैन । मोबाइल प्रयोगकर्ता नेपालीमा अधिकांशले इन्टरनेट फेसबुक चलाउन उपयोग गर्छन् भनिरहँदा पनि कामअनुसार उपयोगमा विविधता छ । घर घर बिस्तार भएको इन्टरनेटबाट टिभी च्यानल हेर्ने सुविधाले यसको स्तरीय सेवाको आवश्यकता बढाएको छ । मोबाइलमै पनि खर्चका हिसाबले डाटा चलाएर साध्य छैन ।  तर सेवा प्रदायक कम्पनीले गुणस्तर र सेवामा अपेक्षितरूपमा ध्यान नदिएको गुनासो उपभोक्ताको छ ।

 
काठमाडौं उपत्यकाभित्र टिभी च्यानलसहितका लाइन दिएका आइएसपीहरूमा  बारम्बार समस्या आउनु नौलो मानिन छाडेको छ । इन्टरनेट स्लो हुने, पटक-पटक कनेक्सन टुट्ने, युटुव र फेसबुक खोल्दा लोडिङमा धेरै समय लाग्ने र टेलिभजनमा एनालग सिस्टमभन्दा न्युन गुणस्तरको सिग्नल हुने समस्या आएपछि प्रयोगकर्ताले  ठगिएको बताइरहेका छन्। सेवा प्रदायकले दिन्छौं भनेको स्पीड पूर्ण क्षमतामा नपाएको गुनासो पनि उपभोक्ताको छ । 

यता नियामक निकाय नेपाल दुर सञ्चार प्राधिकरणले अनुगमन गरिरहेको बताए पनि प्रभावकारी भएको छैन। तोकिए बमोजिमको क्षमताको इन्टरनेट उपलब्ध नभए सेवा प्रदायक कम्पनीबाट क्षतिपूर्ति समेत पाउनुपर्ने उपभोक्ताको अधिकार हो। सेवा प्रदायकका कारण जति समय सेवा अवरुद्ध भएको छ, त्यति नै समय थप गरी  सेवाग्राहीले इन्टरनेट प्रयोग गर्न पाउने कानुनी व्यवस्था भएको प्राधिकरण नै बताउँछ। 
आफूले उपयोग गरिरहेको इन्टरनेटको गति कति छ भनेर ग्राहक आफैंले पनि हेर्न सक्छन्। वितरकबाट आएको लाइनलाई कम्प्युटरमा जोडेर हेर्नुपर्ने र दिने भनेर शुल्क लिएअनुसारको गति नभए उजुरी दिनुपर्ने प्राधिकरणका अनुगमन महाशाखा प्रमुख विजयकुमार रोयले  बताउँछन्।  तर प्राधिकरणले न प्रयोगकर्ताको स्थानबाट अनुगमन गरेको छ न त प्रयोगकर्ता नै उजुरी लिएर पुगेका छन् । 

'१ व्याण्डविथ बराबर ८ युजरलाई आधार बनाई इन्टरनेट दिने भएकाले सबै युजर एकैपटक एक्टिभ हुँदा लाइन स्लो हुने गर्छ,' उनी भन्छन्, 'यदि कसैले १० एमबीपीएसको इन्टरनेट लिएको छ भने सिगंल डीभाइसमात्र चलाउदा कम्तीमा ९ एमबीपीएससम्म दिएको खण्डमा आइपीएसले ठगेको भन्न मिल्दैन ।' इन्टरनेटको प्रयोग कसरी गर्ने, कस्तो प्रविधि आफ्ना लागि उपयुक्त छ भन्ने सामान्य जानकारी नभएका प्रयोगकर्ता बढि हुँदा सेवा प्रदायकलाई प्राधिकरणले सेवाको गुणस्तरबारे सोध्न असजिलो रहेको उनले बताए । छन्। सेवा प्रदायक  कम्पनीले कस्तो प्रविधि र कुन गतिको इन्टरनेट दिएका छन् भन्ने पनि अनुगमन  गर्ने गरिएको छैन।  

ग्राहकले इन्टरनेट जडान गर्दा गरेको एग्रीमेन्टमा उल्लेख भएअनुसारको क्षमता नपाए प्राधिकरणमा उजुरी गर्न सक्ने व्यवस्था छ। त्यस्तो गुनासो आएको खण्डमा अनुगमन गरि कार्वाही गर्न सकिने प्रावधान भए पनि हालसम्म कुनै पनि उजुरी नआएको  दुर सञ्चार प्राधिकरणले जनाएको छ । 

इन्टरनेट सेवा प्रदायक कम्पनी (आइएसपी) का प्रतिनिधिहरू भने आफ्नो कम्जोरी नभएर उपभोक्ता र सरकारी निकायलाई दोष दिन्छन् । विकास निर्माणका काम गर्दा सरकारी निकायले समयमा समन्वय नगरी जथाभावी गर्दा इन्टरनेट सेवामा समस्या आइरहेको उनीहरू दाबी गर्छन् । सबैजसो कम्पनीका तार बिद्युत र टेलिकमका पोल भएरै बिस्तार गरिएका छन् । पोल सार्ने-फेर्ने वा अन्य कुनै कारणले टुटफुट हुँदा वितरित लाइनका तार चुँडिने गरेका छन् । ती बेलामा पोल नउभ्याएसम्म वैकल्पिस तरिकाले लाइन सुचारू गर्न गाह्रो पर्छ । यस्ता बेला ग्राकले सेवा पाउँदैनन् ।

लामो दुरीमा तार विस्तार हुँदा पनि इन्टरनेटको गति कम हुने गरेको छ। विशेषगरि केवल इन्टरनेटमा यस्तो समस्या बढि हुने गर्छ। पावर सप्लाईमा हुने समस्याका कारण पनि स्पीडमा फरक पर्छ । 'कुन ग्राहकलाई कुन गतिको इन्टरनेट गइरहेको छ भन्ने हाम्रो कार्यालयबाटै थाहा हुन्छ,'  क्लासिक टेकका प्रमुख बजार अधिकृत प्रवीण श्रेष्ठ भन्छन्, 'पाइरहेको नेटको स्पीड घट्दा ग्राहकको फोन आउनेबित्तिकै हामी सेवा सुधारको काम गरिहाल्छऔं ।' ग्राहकसम्म कति स्पीड पुगेको छ भन्ने थाहा पाउने प्रक्रिया जटिल भएको उनले बताए । 

मर्कान्टाइल इन्टरनेटका प्रशासन प्रमुख मधु अमात्य ग्राहकले कस्तो डीभाइस र कसरी लाइन प्रयोग गरेको छ, त्यसमा गुणस्तरका कुरा भर पर्ने बताउँछन् । ‘ग्राहकलाई निश्चित डोमेनमा इन्टरनेट दिइएको हुन्छ। ग्राहकले धेरै राउटर राखेर इन्टरनेट चलाएका हुन्छन्,' उनले भने, 'जति धेरै युजर त्यति नै एमबीपीएस बिभाजन हुँदा इन्टरनेट स्लो हुने गर्छ।'  ईन्टरनेटको गति पनि डिभाइड हुने हुँदा ग्राहकले पूर्ण क्षमतामा इन्टरनेट नपाएको गुनासो गर्ने गरेको उनले बताए । 'वायरलेस राउटर प्रयोग गर्दा इन्टरनेट स्पीड घट्छ,' उनले भने ।  

सडक बिस्तार, ढल निर्माण, खानेपानीको पाइपलाइन बिस्तार र विद्युतको तार बिस्तार गर्दा समयमा जानकारी नगराइ बिभिन्न सरकारी निकायले इन्टरनेटका तार काट्ने तथा संरचना भत्काउने गरेको इन्टरनेट सेवा प्रदायकको आरोप छ ।  कुन ठाउँमा के काम भएको छ भनेर आफैंले सोधखोज गर्नु परेको उनीहरूले बताएका छन्। 

वितरण प्रणालीमा कुनै समस्या आउने पूर्व जानकारी भएको खण्डमा ग्राहकलाई अग्रिम सूचना दिने गरिएको सेवा प्रदायक बताउँछन् । तर कुन समय कुन कार्यलयले के काम गरेको छ भन्ने बेलैमा थाहा नहुँदा अचानक कनेक्सन काटिने तर, ढिला थाहा पाउँदा भने समस्या समाधानमा केही समय लाग्ने गरेको श्रेष्ठले बताउँछन्।

हाल उपत्यका भित्रका बालाजु, चक्रपथ, थानकोट, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा सडक विस्तारको काम भइरहेकाले यी क्षेत्रमा बढि समस्या छ। तर अन्य स्थानमा समस्या नभएको सुबिसु केवल नेटका अध्यक्ष सुधीर पराजुलीले बताए ।