प्रधानमन्त्री ओलीले नागढुंगा-सिस्नेखोला सुरुङमार्ग शिलान्यास गरे, तिहारपछि निर्माण सुरु

बिजमाण्डू
२०७६ कात्तिक ४ गते १७:१० | Oct 21, 2019
प्रधानमन्त्री ओलीले नागढुंगा-सिस्नेखोला सुरुङमार्ग शिलान्यास गरे, तिहारपछि निर्माण सुरु

Tata
GBIME
Nepal Life

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार नागढुंगा-सिस्नेखोला सुरुङमार्गको शिलान्यास गरेका छन्। नेपालकै पहिलो सुरुङमार्ग २२ अर्ब रुपैयाँ लागतमा ४२ महिनाभित्र निर्माण सकिनेछ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग(जाइका)को १६ अर्ब सहुलियतपूर्ण ऋण र नेपाल सरकारको ६ अर्ब रुपैयाँसहितको यो सुरुङमार्ग २.६८८ किमी लामो हुनेछ। पहिलो पटक नौविसे-नागढुङगा सडक खण्डमा दुईवटा फ्लाई ओभर सहितको सुरुङमार्ग निर्माण गर्न लागिएको हो।पुर्वी र पश्चिम खण्ड गरि २.८७२ किमी एप्रोच रोड निर्माण हुनेछ। सात वटा पुल निर्माण हुनेछ। ११ वटा बक्स कल्भर्ट निर्माण हुनेछन् भने दस्तुर संकलनका लागि (टोल) संरचना,सुरुङमार्गको सम्पुर्ण  अवस्थाको अनुगमनका लागि नियन्त्रण कक्ष लगाएतका संरचनाहरु निर्माण हुनेछन्।

गत महिना सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखा र जापानीज कम्पनी हाज्मा/आन्दो कर्पोरेशनवीच निर्माण सम्झौता भएको थियो। सम्झौता बमोजिम ४२ महिनामा जापानीज कम्पनीले सुरुङमार्ग तयार पारेर नेपाललाई हस्तान्तरण गर्नुपर्नेछ। तर कम्पनीले नेपाल सरकार समक्ष उक्त समायावधी भन्दा अगावै पुरा गर्ने प्रतिवद्धता जनाएको छ।

सम्झौंता हुनु अघि प्रधानमन्त्रीको सचिवालयले नेपालस्थित जापानको राजदूत र हाज्मा/आन्दो कर्पोरेशनका प्रतिनिधीलाई बोलाएर तोकिएकै समयमा निर्माण सक्नुपर्ने शर्त राखेको थियो। 'यो नेपालका लागि प्राइड प्रोजेक्ट हो। यो तोकिएकै समयमा पूरा होस् भन्ने हामीले चाहेका छौं', उनीहरुलाई भनिएको थियो,'हाम्रो तर्फबाट समयमा परियोजना सक्न सबै सहयोग हुनेछ।'

शिलान्यास भएपनि काम तिहारपछि मात्रै सुरु हुने छ। सुरुङमार्गमा कामदारभन्दा पनि उच्चतम प्रविधिका उपकरणहरु प्रयोग गरेर निर्माण गरिने निर्माण कम्पनीका प्रतिनिधीहरुले बताएका छन्। 'मेसिन बेस' भएर यो सुरुङमार्ग निर्माण हुनेछ। सुरुङमार्ग निर्माणका लागि हाज्माले क्याम्प बनाईसकेको छ। भने इक्विपमेन्टहरु ल्याउन सुरु गरिसकेको छ। नेपाल सरकारबाट कार्यादेश र साईट हस्तान्तरण हुनासाथ काम सुरु गर्ने ठेकेदार कम्पनीले बताउदै आएको छ।

सुरुङमार्गसँगै समानान्तर हुने गरि स्केप्ट टनेल निर्माण हुनेछ। जुन प्रत्येक २ सय ५० मिटरमा मुख्य सुरुङमार्गसँग भित्र बाहिर गर्न मिल्ने गरि जोडिनेछ। भित्र दुर्घटना भए वा समस्या आए बाहिर निस्कनका लागि प्रयोग हुनेछ। एम्वुलेन्स समेत सहजै हिड्न सक्ने गरि स्केप्ट टनेल निर्माण हुनेछ।

सुरुङमार्ग थानकोटस्थित नेपाल आयल निगमको डिपो नजिकैकको किसिपढी खोल्सीदेखि सिस्नेखोलामा निर्माण हुने छ। यसको लम्बाइ २.७ किमीको हुनेछ। पश्चिमतर्फ ५ सय ६५ मिटरको एप्रोच लिङ्क निर्माण हुनेछ भने पुर्व तर्फ २ हजार ३ सय ७ मिटरको लिङ्क सडक निर्माण हुनेछ।

सतुङगलबाट सुरुङमार्गको प्रवेशमार्गसम्म पुग्नका लागि दुईवटा फ्लाई ओभर निर्माण हुनेछ।करीब छ अर्ब स्थानीय पीडितलाई मुआब्जा वितरणमै खर्च हुनेछ। चन्द्रागिरि नगरपालिकाको वडा नं १, ३ र ५ का पीडितलाई मुआब्जा वितरण भइरहेको छ। हालसम्म मुआब्जा वितरणको ८५ प्रतिशत काम सम्पन्न भएको छ। काठमाडौं तर्फ मुआब्जाको समस्या नरहेपनि धादिङ तर्फ भने अझै पुर्ण रुपमा समस्या नहटिसकेको आयोजनाले जनाएको छ।