वीरगंज–पथलैया ६ लेन सडक जिम्मा लिएका ठेकेदारले कामै गरेनन्, सबैभन्दा सुस्त पप्पुको काम

बिजमाण्डू
२०७६ असोज ३० गते १२:०२ | Oct 17, 2019
वीरगंज–पथलैया ६ लेन सडक जिम्मा लिएका ठेकेदारले कामै गरेनन्, सबैभन्दा सुस्त पप्पुको काम

Tata
GBIME
Nepal Life

वीरगंज। राष्ट्रिय गौरवको आयोजना अन्तर्गत बारा र पर्सामा सञ्चालित व्यापारिक मार्ग विस्तार योजनाको काम सन्तोषजनक नभएको अनुगमन टोलीले ठहर गरेको छ। 

बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल, पर्साका प्रजिअ नारायणप्रसाद भट्टराई, आयोजनाका इन्जिनीयर अरुणकुमार कर्णलगायतको टोलीले गरेको अनुगमनमा ठेकेदार कम्पनीले सन्तोषजनक काम नगरेको पाइएको हो।

पर्साका प्रजिअ भट्टराईले सञ्चारकर्मीसँग कुरा गर्दै सञ्चालित योजनामध्ये पाँचवटा योजनाका ठेकेदार कम्पनीहरूको दुईपटकको म्याद सकिएको र तेस्रोपटकको म्याद थप गर्न निवेदन दिएपछि मन्त्रालयको निर्देशनमा संयुक्तरुपमा अनुगमन गरेको बताए।

अनुगमनको क्रममा ठेक्का सम्झौताको समय सम्पन्न भइसकेको तर काम सम्पन्न नभएको र ठेकेदारले पुनः म्याद थप्न खोजेपछि सरकारले अनुगमन गर्न निर्देशन दिएको थियो। 

स्थलगत अनुगमनमा ठेकेदार कम्पनीले चरम लापर्बाही गरेको प्रजिअ भट्टराईले बताए। पाँचवटा योजनामध्ये सबैभन्दा कम काम पप्पु कन्स्ट्रक्सन र कन्टेक जेभीको भएकोले तत्काल सुधार गर्न निर्देशन दिएको उनले बताए।

प्रजिअ भट्टराईले दुईपटक म्याद थपिसकेकोले अब संयुक्त अनुगमन टोलीले पठाउने प्रतिवेदनको आधारमा सरकारले अन्तिम पटक म्याद थप्ने जानकारी गराए। व्यापारिक मार्ग विस्तार योजना अन्तर्गत परवानीपुर–जगरनाथपुर (गण्डक), गण्डक–हरपतगंज, हरपतगंज–आइसिपी, सूर्य नेपालदेखि आर्मी क्याम्पसम्म ठेक्का लिएका चारवटा ठेकेदार कम्पनीले म्याद थपको लागि विभागमा निवेदन दिएका छन्। 

परवानीपुर–जगरनाथपुर सम्म ३.९२ किमी सडक निर्माणको लागि ९७ करोड ५६ लाख रुपैयाँमा अमर, पप्पु, कन्टेक जेभीले २०७३ भदौमा सम्झौता गरेकोमा कार्यप्रगति २९ प्रतिशत मात्र छ। 

गण्डकदेखि हरपतगंजसम्म ३.५ किमी सडक निर्माणको लागि ५३ करोड ७५ लाख रुपैयाँमा श्रेष्ठ–बिरुवा–एपेक्स जेभीले २०७३ असारमा सम्झौता गरेकोमा कार्यप्रगति ६४ प्रतिशत छ। 

हरपतगंजदेखि ड्राइपोर्टसम्म पप्पु/लुम्बिनी जेभीले ७४ करोड ७० लाख रुपैयाँमा ठेक्का लिएकोमा कार्यप्रगति ३१ प्रतिशत मात्र छ। 

पथलैयादेखि सूर्य टोबाकोसम्म ४.५ किमी सडक निर्माण गर्न अमर, कन्टेक जेभीले ६८ करोड ५३ लाख रुपैयाँमा ठेक्का लिएकोमा ६० प्रतिशत काम सम्पन्न भएको जनाइएको छ। 

सूर्य टोबाकोदेखि आर्मी क्याम्पसम्म ५.८ किमी सडक निर्माण गर्न शर्मा/युनाइटेड जेभीले ८२ करोड ४५ लाख रुपैयाँमा ठेक्का लिएकोमा ३५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ। 

आर्मी ब्यारेकदेखि परवानीपुरसम्म ५.१६ किमी सडक निर्माणको लागि अमर/कन्टेक्ट जेभीले ७६ करोड ३७ लाख रुपैयाँमा टेन्डर सकार गरेकोमा कार्यप्रगति ६६ प्रतिशत छ। 

परवानीपुरदेखि गण्डक चोकसम्म  ४.२४ किमी सडक बनाउन ४४ करोड ८१ लाख रुपैयाँमा दिवा, सपना जेभीले टेन्डर सकार गरेकोमा कार्यप्रगति ३२ प्रतिशत मात्र  छ। 

व्यापारिक मार्ग विस्तार योजना अन्तर्गतका पुलहरूमध्ये ललका पुलको ४९ प्रतिशत, श्रीसिया पुलको ५३ प्रतिशत, पथलैयादेखि परवानीपुरसम्म रहेका ससाना पुलको ४७ प्रतिशत, ड्राइपोर्टदेखि गण्डकसम्मको कल्भर्ट निर्माणको १५ प्रतिशत काम मात्र सम्पन्न भएको आयोजनाका इन्जिनियर अरुणकुमार कर्णले जानकारी गराए।

इन्जिनियर कर्णका अनुसार सार्वजनिक खरीद नियमावली अनुसार देशभरिका राष्ट्रिय गौरवका योजना अन्तर्गत काम गरिरहेका ठेकेदारहरूले असार मसान्तसम्म म्याद थप्न सक्ने र त्यसपछि ठेकेदार कम्पनीहरूसँगको  ठेक्का सम्झौता तोड्ने वा जरिवाना गराएर काम गराउने जानकारी गराए। 

ठेकेदार कम्पनीले विभिन्न बहाना बनाइ अहिलेसम्म काम सम्पन्न नगरेको उनले दावी गरेका थिए।