एडिबीमा दश वर्षदेखि परिवर्तनका कथा खोज्दै विनिता, 'स्पिरिचुअल ग्रोथ'मा विश्वास




:- सन् २०१० मा जुम्लामा एडिबीले सानो परियोजनाका निम्ति सहयोग गर्यो। एडिबीका निम्ति त्यो खासै महत्वको परियोजना थिएन। एडिबीले त्यस ठाउँका महिलाहरुले घाँसदाउरा गर्ने ठाउँमा सानो बाटो र पुल बनाइदिएको थियो। पछि यही परियोजना हेर्न जाँदा विनितालाई फूलको गुच्छा दिँदै गाउँकी एक महिलाले भनिछन् -'यही भिरमा घाँस काट्न आउँदा हाम्रा गाउँका धेरै दिदीबहिनी खसेर मरे। कति कुँजो भए। अब हामीले लडेर मर्नु नपर्ला!' सुन्दा मात्र पनि विनिताको आङ सिरिङ भयो।

:- बाग्लुङ बुर्तिबाङ सडक बन्दै थियो। विनिता त्यहाँ पुगिन् एक पुरुषले उनीसँग खुशी साँटे- 'गाउँका गर्भवती महिलालाई समयमै अस्पताल पुर्याउन सकिने भैयो।' २ दिनको बाटो डोकोमा बोकाएर ल्याएकी गर्भवती आफन्तको ज्यान जोगाउन नसकेको पिर उनले खेपेका रहेछन्। समयमै अस्पताल पुर्याउन नसकी बाटैमा ज्यान गुमाउनेका परिवारजनलाई बाटो केवल गाडी गुड्ने ठाउँमात्र होइन जीवन बचाउने माध्यम पनि हो।

TATA
TVS
Sanima

:- विनिता उदयपुरको एक दुर्गम गाउँ पुगिन्। यो गाउँ वर्षा लागेसँगै दुर्गम बन्थ्यो। ६ महिना गाडी नै नपुग्ने गाउँमा एडिबीको सहयोगमा बाटो पुग्यो। १२ महिनै गाडी चल्ने भएपछि गाउँलेहरुले खुशी हुँदै बिनितासँग भनेछन्- 'अब त हाम्रो गाउँमा पनि बाहिरकाले खुशीसाथ छोरी दिन थाले।' सुन्दा हाँसो लाग्ने यो वाक्यले विनितालाई भने सोच्न बाध्य बनायो। बाटो नभएकै कारण त्यो गाउँ कति हेपिएको रहेछ त! तर विकासको शक्ति हेर्नुस् अरु ठाउँकाले छोरी दिन समेत नमान्ने गाउँको जीवनस्तर त्यही यौटा बाटोले बदलिएको देखिन्थ्यो।  

:- सन् २०१७ मा उनी मकवानपुरको दुर्गम गाउँमा पुगिन्। पहिलोपटक त्यहाँ हावाबाट बिजुली उत्पादन भएको थियो। एडिबीले सहयोग गरेको त्यस परियोजनाको उद्घाटन गर्ने दिन नै विनिता पुगिन्। बिजुली नबल्ने अनि धेरै हावा चल्ने गाउँ भएकाले स्थानीयहरु सँधै आफू ठगिएको महसुस गर्दारहेछन्। जब हावाबाट गाउँमा बिजुली बल्यो गाउँमा खसी काटेर भोज नै गरियो। गाउँलेहरु दशैं आएजस्तै राम्रा लुगा लगाएर नाचगान गरे। विनिता नजिकै आएर एक पुरुषले भनेछन् -'अब त म पहिले हेटौंडा गएर बिजुलीबाट चल्ने इस्त्री ल्याउँछु।' सिलाइबुनाइको काम गर्ने श्रीमतीले सँधै कोइलाको गह्रुङ्गो आइरनले इस्त्री गर्दा कहिले कोइलाले हात पोल्दोरहेछ त कहिले लुगा डढेर दण्ड तिर्नुपर्दोरहेछ। गाउँमा बिजुली आउनासाथ इस्त्री ल्याएर सजिलो पार्ने उपाय उनलाई फुरिहाल्यो।    

यी घटनाहरु साना हुन् तर यी यस्ता बास्तविकता पनि हुन् जससँग साक्षात्कार नभएको भए पनि विनिता शाहको दैनिकी एउटा ठूलो अन्तराष्ट्रिय संस्थाकी जागिरेका रुपमा चलिरहेको हुन्थ्यो। तर एक दशकदेखि एशियाली विकास बैंकसँग जोडिएर हरेक परियोजनास्थलमा जाँदा उनले केही न केही कथा भेटिन् कसै न कसैका पीडासँग जोडिने मौका पाइन्। यी र यस्तै कथाहरुले उनलाई केवल जागिरेभन्दा बढी 'संवेदनशील ब्यक्ति'मा ढाल्दै लग्यो।  

एशियाली विकास बैंकस्थित नेपाल रेडिसेन्ट मिसन एनआरएमकी सिनियर एक्सटर्नल रिलेसन्स अफिसरका रुपमा विनिता विकाससँग अत्यन्तै नजिकबाट जोडिएको ठ्याक्कै दश बर्ष भयो। उनी विकासले बृहद मात्र होइन सुक्ष्म तथा समाजमा सबैभन्दा पाखा पारिएको समुदायसम्म ल्याएको परिवर्तनको प्रत्यक्षदर्शी बनिरहेकी छिन्। उनले गर्ने कामहरुभित्रै पर्छ परियोजनास्थल पुग्नु र त्यहाँका प्रभाव र असरहरुलाई दुरुस्त उतारेर माथिल्लो तहमा रिपोर्ट गर्नु। विकासले ल्याएको परिवर्तन र परिवर्तनले छोएका मानिसहरुको कथा भन्नु।

विकासलाई कसरी हेर्ने? उनको परिभाषा बेग्लै छ। उनी विकासले देखिएका भौतिक परिवर्तन र प्रभावमात्र होइन मानिसको जीवनमा आएको ससाना परिवर्तनसम्म केलाउँछिन्। कुनै पनि परियोजना तथ्यांक र नापजाँचबाट मापन हुन्छ। तर उनी अरुभन्दा बेग्लै तरिकाले विकासलाई मापन गर्छिन्। त्यसै अनुसारका कथाहरु खोतल्छिन्। भलै त्यो ठूलो परियोजना नहोस् उनी त्यसबेला असाध्यै खुशी हुन्छिन् जब थोरै मात्र सुविधा दिँदा पनि मानिसहरुको जीवन बदलिन्छ। कतिपय परियोजनाहरु प्रतिवेदनमा "औसत" बनेपनि उनको बुझाईमा त्यसलाई प्राविधिक पक्षभन्दा मानवीय पक्षले "उत्कृष्ट" बनाएको हुन्छ।  

एडिबीको आर्थिक सहयोगमा देशभर नै कतै बाटो बनिरहेको हुन्छ, कतै पुल पुलेसा नहरहरु बनिरहेका हुन्छन्। उर्जा, पर्यटन र कृषिका क्षेत्रमा पनि धेरै परियोजनाहरु संचालित छन्। विनाशकारी भूकम्पपछिको भौतिक संरचनाहरुको पुनर्निर्माणमा पनि एडिबीले सहयोग गरिरहेको छ। बनिरहेका सबैजसो परियोजनास्थलमा विनिता पुग्छिन्। उनलाई विकास त्यसबेला महसुस हुन्छ जब बदलिएको जीवनप्रति कृतज्ञ हुँदै गाउँलेहरु उनीसँग भलाकुसारी गर्न आइपुग्छन्।

उनी भन्छिन्-'साँचो विकास त्यो मात्र हो जसले मानिसलाई सकारात्मक परिवर्तन महसुस गराउन सक्छ।'

पत्रकारबाट पर्यटनमा फड्को

एडिबीसँग जोडिएको दशक बितिसक्यो तर विनितालाई त्यो दिन आजै जस्तो लाग्छ जब उनले सिमलाबाट स्नातक सकेर काठमाडौं आइपुगिन् र जीवनको पहिलो जागिरका रुपमा पत्रकारिता थालिन्।

'द इन्डिपेन्डेन्ट' भन्ने अंग्रेजी पत्रिकाबाट उनको करियर सुरु भयो। सेन्टमेरिज पढेकी विनितालाई लेख्न र पढ्न सानैदेखि असाध्यै मन लाग्ने। त्यही रुचीलाई करियर बनाएर उनले पहिलोपटक 'द इन्डिपेन्डेन्ट' मा लेखिन्।  त्यहाँ काम गर्दा उनलाई केरलाबाट आएका कपी एडिटरले लेखनका बारेमा धेरै सिकाएछन्।

पहिलो कामको पहिलो तलबका रुपमा विनिताले बुझेकी थिइन् १५ सय रुपैयाँ। त्यो पैसा थपक्क लगेर घरमा आमाको हातमा राखिदिइन्। आमाले विनिताको पहिलो तलब सँधैका निम्ति जोगाइदिइन्। सरर न्यूरोड पुगेर आमाले यौटा क्रिष्टलको सुन्दर बट्टा किनेर ल्याइन् र बैठकमा सजाइन्।  आज पनि माइतीको बैठकमा विनिताको त्यो कमाई सजिएकै छ र हरेकपल्ट उनलाई सम्झना दिलाइरहन्छ - 'म पनि कुनै समय पत्रकारिता गर्थें!'  

इन्डिपेन्डेन्टमा केही समय काम गरेपछि उनी नेपाल वायूसेवा निगमले प्रकाशन गर्ने इन्फ्लाइट म्यागेजिन 'सांग्रिला'मा जोडिइन्। त्यसमा उनले केही कथाहरु लेखिन्। पत्रकारिता क्षेत्रले राम्ररी अंगाल्न नभ्याउँदै उनी फुत्किएर पुगिन् पर्यटन बोर्डमा जहाँ पिआर एण्ड पब्लिकेसन अफिसरका रुपमा उनको नयाँ करियर सुरु भयो। उनको करियर नयाँ थियो तर पत्रकारितामा जस्तै विविध क्षेत्रका मानिसहरु भेट्ने र लेखन प्रकाशनसँगको नाता भने  टुटेन। भर्खर स्थापना भएको पर्यटन बोर्ड अनि त्यहाँ कसरी उत्कृष्ट काम देखाउने भन्ने हुटहुटी।  

पर्यटन बोर्डमा नियुक्त हुँदा बिनिता तत्कालीन म्यानेजर नन्दिनीलाहे थापाबाट धेरै नै प्रभावित भएको बताउँछिन्। बोर्डमा छँदा उनले आदित्य बराल, मोहन प्रसाई लगायतबाट काम सिक्ने मौका पाइन्।  भर्खरै सुरु भएको बोर्ड काम गरेर देखाउनुथियो। उनीहरुले बिदा भनेनन् रात पर्यो भनेनन्।

त्यसबेला म्यानेजर लाहेले बच्चा घर र कामको जिम्मेवारी सम्हालेको देख्दा विनितामा त्यसको छाप पर्यो। उनले महिला भएकैले काम गर्न नसक्ने ट्याग भिराइदिने समुदायलाई कहिल्यै गुनासो गर्ने मौका दिइनन्। तर सँधै उनलाई पहुँचवालाकी छोरी भएकोले बोर्डमा जागिर पाइन् भन्ने आरोप लाग्यो।

दिक्क त त्यति बेला लाग्थ्यो जब कतै जाँदा 'अञ्चलाधिशकी छोरी' भन्ने ट्याग उनीमाथि लाग्थ्यो। तर सयौं आवेदकहरुजस्तै फर्म भरेर अरुसँगै जाँचहलमा बसेर परीक्षा दिएकी थिइन् उनले।  पहिलो नम्बरमै नाम निकालेकी विनिता हार मान्नेवाला थिइनन्। म कसैकी छोरीमात्र थिइन् पढेकी र सक्षम पनि थिएँ। उनी सम्झिन्छिन् बोर्डमा नियुक्ती भएपछि अफिसको पहिलो दिन उनलाई बुवा बिष्णुप्रतापले भनेका थिए रे "जसले जे भनेपनि आफ्नो काममा खोट लगाउने ठाँउ कसैलाई नदिनु। अरुले अनावश्यक कुरा काट्छन् भने त्यो हाम्रो नियन्त्रणमा छैन तर आफ्नो काममा उत्कृष्ट कसरी हुने त्यो सँधै आफ्नै हातमा हुन्छ।"

उनी सन् २००० मा पर्यटन बोर्ड छोडेर युनिसेफ छिरिन्। त्यहाँ केही वर्ष विताएपछि एडिबीसँग जोडिएकी उनले त्यहाँ एक दशक बिताइसकेकी छिन्।

पत्रकारिता गर्दाताका रिपोर्टिङमा जाँदा पनि 'उ त फलानाकी छोरी हो नि!' भन्दै गाईंगुईं गरिहाल्थे। विनिता सम्झिन्छिन्। त्यतिबेला लाग्थ्यो मेरो आफ्नै आइडेन्टिटी छ आफ्नै क्षमता छ। किन बुबाको नामले चिनाएका होलान्! उनलाई बाबुको नामसँग जोडेर क्षमतामाथि प्रश्न गर्नेसँग रिस पनि उठ्थ्यो रे! तर अहिले सम्झिँदा त्यो आफ्नो अपरिपक्व दिमागको उपज रहेछ जस्तो विनितालाई लाग्छ। "आफ्नो क्षमता त कामले प्रमाणित गरिहाल्छ नी!

फेरि फलानाकी छोरी भन्नेहरुसँग किन रिसाउनु बास्तविकता नै त्यही हो भने! मेरो परिचय मेरो परिवारबाटै आउने त हो। अहिले त मलाई विष्णुप्रताप शाहकी छोरी र कुलबहादुर खड्काकी बुहारीभन्दा गर्व महसुस हुन्छ।"- आफ्नो ब्यक्तित्व आफ्नै क्षमताले बनाएको र आफ्नो परिचय सँधै परिवारसँग जोडिएको विनिता बताउँछिन्।

अञ्चलाधिशकी छोरी

आर्टस् पढ्नेहरु कमजोर ठहरिने समय थियो त्यो। सन् १९९२ मा सेन्टमेरिजबाट राम्रै अंक ल्याएर एसएलसी सकेकी विनितालाई पनि डाक्टर वा इन्जिनियर बन्नुपर्ने हो की भन्ने मनोबैज्ञानिक दबाब थियो। तर सानैदेखि उनको रुची डाक्टर वा इन्जिनियरमा थिएन। उनलाई त इकोनोमिक्स मन पर्ने!  

एसएलसीपछि के पढ्ने घर सल्लाह पनि गर्नैपर्यो। बुवालाई सोधिन् 'अबको पढाई के गर्ने?' एक जमानामा बागमती अञ्चलका अञ्चलाधिश, कुनै बेलाका संचार सचिव र निर्वाचन आयुक्त समेत भएका बुवा बिष्णुप्रताप शाहले उनलाई जे इच्छा छ त्यही पढ भनेर बाटो सहज बनाइदिए सँगसँगै यस्तो नसिहत पनि दिए- 'यौटा कुरा सँधै याद राख्नु। तिमी जे गर्छौं त्यसमा सँधै उत्कृष्ट बन्ने कोशिश गर्नु। बार्बर नै बने पनि बेस्ट बार्बर बन्नु!'

बुवाको भनाईले विनितालाई पँखेटा दियो। उनले आर्टस् नै रोजिन् र मोर्डन इन्डियन स्कुलबाट प्लस टु सकिन्। लगत्तै सिमला पुगेर साइकोलोजी र इकोनोमिक्समा ब्याचलर सकिन्। काठमाडौं फर्किएपछि कामसँगै त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजीमा मास्टर्स पनि गरिन्। उनको पढाइको सिलसिला कामपछि पनि रोकिएन। लामो समय एडिबीमा काम गरिसकेपछि उनी २ वर्षलाई बेतलबी बिदा लिएर अमेरिका पुगिन् र २०१५ मा अमेरिकाको कोलम्बिया युनिभर्सिटीबाट फेरि मास्टर्स सकिन्।

यसपटक पढ्दा उनलाई कामले परिपक्व बनाइसकेको थियो । पहिले पहिले पढ्दा भन्दा यसपटकको अर्को रमाइलो के पनि भयो भने उनले यो डिग्री लिँदा साथमा श्रीमान र छोरा पनि उभिएका थिए। अहिले छोरा बिराज ७ कक्षा पुगिसकेका छन्। सैनिक पृष्ठभूमिका श्रीमान प्रविनबहादुर खड्का हाल न्यूयोर्क युनिभर्सिटीबाट पिएचडी गर्दैछन्।  

जब बुवाको कुरा आउँछ विनिताको आँखा अहिले पनि रसाउँछ। सरकारी सेवामा रहेका बुवा बिष्णुप्रताप उनी एक कक्षा पढ्दा नै बागमतीका अंचलाधिश भैसकेका थिए। उनलाई बुवा ठूला भन्ने थिएन कति बिजी भन्ने लाग्थ्यो। पछि संचार सचिव र निर्वाचन आयुक्त समेत भएका बुवा बिष्णुप्रताप राजादेखि साधारण मानिससँग पनि उस्तै नरम स्वभाव राख्थे।

जागिर खाएर ठूलो मान्छे त जो पनि हुन सक्छ तर 'राम्रो मान्छे'को बिशेषण कमैलाई प्राप्त हुन्छ। विनिताले अहिलेसम्म उनका बुवाका बारेमा जसका मुखबाट जे जति सुनिन् सबैले उनलाई राम्रो मान्छे भने जसलाई बिनिता आफ्नो बुवाले कमाएको सबैभन्दा ठूलो पुँजी हो भन्ने लाग्छ।

"बुवासँग हाम्रोलागि धेरै समय थिएन। तर बुवाको जुन 'इन्टिग्रिटी' र 'ह्युमिलिटी' थियो त्यो हाम्रोलागि ठूलो शिक्षा हो। बुवाले आफ्नो इथिक्समा कहिल्यै सम्झौता गर्नुभएन। सँधै सबैसँग नम्र भएको मात्र हामीले देख्यौं। म आफ्नो जीवनमा त्यही लागू गर्ने कोशिशमा छु।"- विनिताले वुवासँग बिरासतमै पाएको जस्तो लाग्छ उनको नरमपन पनि। 

सन् २००५ मा ६९ वर्षकै उमेरमा बिनिताका बुवाको स्वर्गवास भयो। विनिताका छोरा बिराज त्यसको २ वर्षपछि मात्र जन्मिए। उनलाई आजपनि खड्किने यौटै कुरा छ उनको छोराले बुवाको त्यो स्वभावसँग परिचित हुने मौकै पाएनन्। तर विनिता छोरालाई बुवाका पुराना साथीहरुसँग भेटाउँछिन्। हजुरबुवा कस्ता थिए भनेर पुराना किस्साहरु सुनाइरहन्छिन्।

"घरमा पाहुनासँग आउने ड्राइभरहरु बाहिरै हुन्थे। बुवालाई सँधै ड्राइभरले खाको छ कि छैन भन्ने चिन्ता रहन्थ्यो।आफैँ बाहिर निस्केर तपाईहरुले खानुभयो बाबु भनेर सोध्नुहुन्थ्यो। काम र छलफलपछिको समय बुवाको हातमा किताब हुन्थ्यो। वहाँले तास समाएको मैले कहिल्यै देखिन।" विनितालाई किताबसँगको लगाव पनि बुवाकै कारण भएको जस्तो लाग्छ। घरभरि यति धेरै किताब थियो कि कुन उमेरदेखि किताब समाएर पढ्न थालिन् उनैलाई थाहा छैन। लामो यात्रामा जाँदा पनि बुवा किताबै पढिरहने। उनलाई बुवाले भनेका थिए 'यू नेभर स्टप लर्निङ!' त्यसकै सिको बिनिता गरिरहेकी छिन्।

आयआर्जन नै आत्मविश्वास

विनिता सेन्टमेरिज पढिन् जहाँ अतिरिक्त क्रियाकलाप पनि खुबै हुने।  ड्रामा, डान्स, सितार, स्काउट कहिलेकाहीँ त दिक्क पनि लाग्थ्यो अनेक प्रतियोगितामा भाग लिइरहनुपर्दा। तर विनिताले अहिले बुझिन् त्यो सबै बिद्यार्थीको पर्सनल ग्रोथका लागि कति महत्वपूर्ण रहेछ। स्कुलबाट निस्किँदा उनीसँग सर्टिफिकेटमात्र होइन कन्फिडेन्स पनि थियो। पढाइ र जागिरका सिलसिलामा उनी जहाँ जहाँ पुगिन् त्यही कन्फिडेन्सका साथ पुगिन् र त उनलाई सँधै सफलता हात लाग्यो।

अल गल्स स्कुलमा पढेकी विनितालाई 'केटाहरु पनि साथी हुन सक्छ र!' भन्ने लाग्थ्यो रे। कलेज पुगेपछि पनि केटाहरु साथी बनाउन र बोल्न असाध्यै असहज लाग्ने। त्यस्तै असहजताकाबीच सेन्ट जेभियर्स पढ्ने प्रविन र सेन्ट मेरिज पढ्ने विनिता मोर्डन इन्डियन पढ्दाताका साथी बने। पछि सेनामा ज्वाइन गरेका प्रविन र विनिताको सन् २००१ मा विवाह भयो। आर्मी छोडेर एकेडेमिक करियर बनाइरहेका प्रविनबारे विनिता भन्छिन्-"आजपनि मेरा श्रीमान मेरो बेस्ट फ्रेन्ड हुन्।" सहयोग र समझदारीको जगमा बनेको परिवारनै उत्कृष्ट हुन्छ भन्ने बिनिताको बुझाइ छ।    

'छोरामान्छेलाई कहिल्यै पनि उनीहरु प्रिभिलेज्ड हो भन्ने पार्नु हुँदैन।' हरेक बुवाआमाले सन्तानको शिक्षामा लगानी गरिदिने र आफ्नो खुट्टामा उभिएपछि मात्र बिवाह गर्ने हो भने कतिपय सामाजिक कुरितीहरु हराएर जाने विनिता बताउँछिन्। जबसम्म आफ्नो कमाउने सोच हुँदैन र बाबुबाजेको सम्पत्तिमा आशक्ति देखाउने सन्तान हुन्छन् त्यसबाट उनीहरुको क्षमता कहिल्यै अघि बढ्दैन। हामी त अहिलेदेखि नै आफ्नो सन्तानलाई पनि पढाइमा मात्र ध्यान दिनुपर्छ भन्ने सिकाइरहेका छौं। उनले भनिन्।

काठमाडौंमा जन्मिएकाले मैले अवसर पाएँ तर आर्थिक रुपमा सबल हुनुपर्छ भन्ने पहिलेदेखि नै थिएँ। स्कुल पढ्दा पनि कहिलेदेखि बाबाआमासँग पकेट मनी माग्नु नपर्ला भन्ने सोच्थें। विनितालाई जबसम्म महिलाहरु आर्थिक रुपमा सक्षम हुन्नन् आफ्नो बारेमा आफैँ निर्णय लिन सक्दैनन् भन्ने लाग्छ। आजकल छोरीलाई पनि पढाउनुपर्छ भन्ने चेतना छ। तर गाउँघरमा अझैपनि पढाउँदा पनि अलि  सक्नेले छोरालाई बोर्डिङमा र छोरीलाई सरकारी स्कूलमा राखेकै देखिन्छ। चेतना र सम्पत्ति फरक हुन्। केही समयअघि मात्र उनले मिसेल ओबामाको अटोबायोग्राफी पढिन्। मिसेलले किताबमा धनसम्पत्तिको बलमा भन्दा परिवारको प्रेम र विद्यालयले दिने कन्फिडेन्सले बालबालिकाको भविष्य उज्जवल हुन्छ भनेर लेखेकी छिन्।

आफू जति थाकेर घर पुगेपनि बच्चाले बुझ्दैन। उसलाई समय दिनुपर्छ।  हरेक दिन बच्चालाई किताब पढेर सुनायो भने उसको लेखन र पढ्ने कलामा विकास हुन्छ भन्ने विनिताले कतै पढेकी थिइन्। त्यसैले उनले छोरा ८ वर्षको हुन्जेलसम्म हरेक रात किताब पढेर सुनाइन्। उनले बच्चालाई सबैभन्दा धेरै सुनाएको किताब हो हाइडी, थ्रि लिटल पिग्स र गोल्डिलक्स। आजपनि उनलाई ति किताबका शब्द शब्दका रिदम याद छ।

"कामकाजी भएकाले दिनको समय त म बच्चालाई दिन सक्दिनथें रातीको समय चैं म बच्चाको लागि छुट्याउँथें। त्यसबेला मैले आफ्नो किताब पढ्न छोडें र उसका किताबहरु कण्ठ पारें। यो मैले आफैँसँग गरेको प्रतिबद्धता थियो।"-बच्चालाई कस्तो वातावरणमा हुर्काउने परिवारको हातमा छ। आर्थिक सम्पन्नताभन्दा पनि परिवारको वातावरण महत्वपूर्ण हुन्छ।

बोल्ड इज ब्यूटिफूल

महिला भएकैले कमजोर ठान्ने वा काम गर्न सक्दैनन् भन्नेहरुलाई कामले नै जवाफ दिनुपर्छ भन्छिन् विनिता। एडिबी ज्वाइन गरेकै भोलिपल्ट उनलाई अफिसले नेपालगञ्ज पठायो। ९ महिनाको बच्चा छोडेर फिल्ड जानु थियो। उनले जान्न भनिनन्। बच्चा सानो छ अर्कोपटक जान्छु भन्नु आफूलाई कमजोर सावित गर्नु थियो। सासु ससुरा र आमा र श्रीमान सबै मिलेर बच्चाको हेरचाह गरे।

"परिवार र बच्चा सँधै  महिलाको प्राथमिकतामा पर्छन् तर यसो भन्दैमा काममा असर पुर्याउने गर्नु हुन्न। मेरो बुवाले भन्नुहुन्थ्यो आफ्नो काममा शतप्रतिशत देउ। म पनि कसैलाई ‍औंला ठड्याउने मौका दिन चाहन्न। बच्चा सानो थियो मन घरमा भएपनि मैले प्रोफेसनल बन्दै सबै चुनौती स्वीकारे।" विनिताले पुराना दिन सम्झिइन्।

केही समयअघि बिनिता सातै प्रदेश पुगिन्। त्यहाँका अधिकांश कलिला उमेरका महिला उपमेयरहरुसँग भेटिन्। नयाँ पुस्तामा गजबको आत्मविश्वास देखिन्छ। उनलाई गाउँ गाउँका महिला उद्यमी र महिला शिक्षकहरुप्रति असाध्यै सम्मान छ। उनीहरु त रोल मोडल हुन्। विनिता भन्छिन्- गाउँमा सानै भएपनि रोजगारी सिर्जना गर्न र चेतना बढाउन महिला शिक्षक र महिला उद्यमीको ठूलो योगदान छ। त्यसैले महिलालाई "शोपिस" र कमजोर ठान्नेहरु उनलाई मन पर्दैन।

पत्रकार छँदाकै कुरा बिनितालाई मानिसहरुले कति राम्री! भनेर कम्प्लिमेन्ट दिन्थे। तर त्यो कहिलेकाहीँ असहज र इम्ब्यारेसिङ पनि सुनिन्थ्यो। "त्यसबेला मलाई कसरी रियाक्ट गर्ने भन्ने थाहा थिएन। असहज लाग्दा लाग्दै पचाउँथें तर अचेल भने महिलाहरु तत्काल प्रतिकार गर्न थालेका छन् त्यो सकारात्मक कदम हो। यसले वर्कप्लेस ह्यारेसमेन्ट न्यून गर्न सहयोग पुग्छ।"- विनितालाई पुरुषमात्र भएको मञ्च बहिष्कार गर्ने अभियान पनि मन परेको छ। 

उनी पर्यटन बोर्डमा हुँदा मन्त्री आउने कार्यक्रम छ भने "विनिता जी सारी लगाएर आउनुस् है मन्त्रीज्यूलाई फूल दिनुपर्छ" भन्थे। उनी सुन्दर थिइन् तर यही कामका लागि मात्र थिइनन्। एक दुई पटक त स्वागत गरिन् तर उनलाई यसमा चित्त बुझेन। उनी सरासर तत्कालीन निर्देशक टेकबहादुर डाँगीसमक्ष प्रस्ताव लिएर गइन् "मैले मात्रै किन पुरुषले पनि लबेदा सुरुवाल टोपी लगाएर स्वागत गरे हुन्न?" उनको प्रस्ताव स्वीकार भयो। त्यसपछिदेखि पुरुष कर्मचारीलाई नै टोपी लबेदा सुरुवाल लगाएर मन्त्रीलाई फूल दिन लगाइयो। "हो यस्तै बेला महिलाहरुले बलजफ्ती परिवर्तनकालागि अघि बढ्नुपर्छ।"- विनिता बोल्ड सुनिइन्।

विनितालाई लागेको छ मान्छेका आवश्यकताहरु असिमित छन्। पैसा कमाउने लालसा कहिल्यै घट्दैन। तर यतिबेला उनी यस्तो स्टेजमा छिन् जहाँ उनकालागि पैसाभन्दा " स्पिरिचुअल ग्रोथ" जरुरी छ। यस अवधिमा उनले तीन पटक परमहंस योगानन्दको "अटोबायोग्राफी अफ अ योगी" पढिसकिन्।

"मैले यो समाजबाट धेरै पाएँ अब मैले समुदायलाई पनि केही फिर्ता गर्नुपर्छ भन्ने सोचिरहेकी छु। मैले जे जति कमाएँ त्यसको केही हिस्सा महिला र बालबालिकाको क्षेत्रमा खर्च गर्न चाहन्छु। त्यो मेरो बुवाको जन्मस्थल धादिङमा पनि हुनसक्छ अरु कुनै दुर्गम भेगमा पनि हुनसक्छ। दश वर्षपछि तपाईं मलाई यस्तै केही योगदान गरिरहेको भेट्नुहुनेछ।" यसो भन्दै गर्दा विनिताको अनुहार धेरै उज्यालो थियो।

 


Share this Story

   

एडिबीमा दश वर्षदेखि परिवर्तनका कथा खोज्दै विनिता, 'स्पिरिचुअल ग्रोथ'मा विश्वास को लागी ७ प्रतिक्रिया(हरु)

Sudip Bista[ 2019-07-12 10:47:20 ]
''यौटा कुरा सँधै याद राख्नु। तिमी जे गर्छौं त्यसमा सँधै उत्कृष्ट बन्ने कोशिश गर्नु। बार्बर नै बने पनि बेस्ट बार्बर बन्नु। ''
धेरै राम्रो सिकाई सिके मैले ।

   हालसम्म ७९ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Sudip Bista[ 2019-07-12 10:42:32 ]
'यौटा कुरा सँधै याद राख्नु। तिमी जे गर्छौं त्यसमा सँधै उत्कृष्ट बन्ने कोशिश गर्नु। बार्बर नै बने पनि बेस्ट बार्बर बन्नु। '

   हालसम्म ९१ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Sujan[ 2019-07-04 09:12:08 ]
जागिर खाएर ठूलो मान्छे त जो पनि हुन सक्छ तर 'राम्रो मान्छे'को बिशेषण कमैलाई प्राप्त हुन्छ।यो नै वहॉको सवैभन्दा ठूलो पुँजी हो भन्ने लाग्छ।💐🌺

   हालसम्म ८२ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


गोविन्द श्रेष्ठ[ 2019-06-28 04:33:54 ]
वहाँ को यो लेख पढ्दा निकै राम्रो लाग्यो । येस्ले परिणाममुखी बिकास, महिला सहभागिता, उत्प्रेरना र आत्मबिस्वास जगाउने किसिम को छ ।

   हालसम्म ८४ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


ऋचा[ 2019-06-27 12:44:52 ]
मैले सात वर्ष अघि विनिता दिदीलाई पहिलोपल्ट देखें र सुनें । त्यति बेला मैले अठोट लिएँ, मलाई वहाँकै क्षेत्रमा काम गर्नु छ । परिवार, पढाई, कामको जिम्मेवारीलाई कुशल ढङ्गले व्यवस्थापन गर्ने, त्यसमाथि शालीन व्यक्तित्व - सबैको लागि र विशेषगरी किशोरी/महिलाहरुका लागि आदर्श । धेरै खुशी लाग्यो यो पढ्न पाउँदा ।

   हालसम्म ९६ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नारायणलाल श्रेष्ठ[ 2019-06-25 12:32:03 ]
कामप्रतिको प्रतिबद्धता, निष्ठा र लगनशिलताको लागि बिनिता शाहज्युसग मैले पनि धेरै सिकेको छु । एउटा असल मान्छेसग हुनुपर्ने गुणहरुको वारेमा जान्न खोज्नेलाई विनिता शाहज्युसग संगत गर्ने सल्लाह दिन मन लाग्छ, मलाई । मैले छोरीलाई वङ्गलादेश पढ्न पठाउनु अघि उहासग भेट गराएको थिए । छोरीलाई त्यो भेटको यति प्रभाव परेको छ कि उ आफुलाई कमजोर महशुस भएको वेलामा उहाँलाई सम्झिन्छु भन्छिन । खासगरी उहाँको बलियो आत्मविश्वास जीवनमा अनुकरणीय लाग्छ ।

एडिबिमा उहाँले सगाल्नु भएको अनुभव , विकासको लागि उहाँको योगदान र उहाको क्षमतालाई देशले उपयोग गर्न सकोस ! उहालाई धेरै वधाई र शुभकामना !

   हालसम्म १०८ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


सुरेन्द्रप्रताप शाह[ 2019-06-24 05:37:24 ]
"मैले यो समाजबाट धेरै पाएँ अब मैले समुदायलाई पनि केही फिर्ता गर्नुपर्छ भन्ने सोचिरहेकी छु। मैले जे जति कमाएँ त्यसको केही हिस्सा महिला र बालबालिकाको क्षेत्रमा खर्च गर्न चाहन्छु। त्यो मेरो बुवाको जन्मस्थल धादिङमा पनि हुनसक्छ अरु कुनै दुर्गम भेगमा पनि हुनसक्छ। दश वर्षपछि तपाईं मलाई यस्तै केही योगदान गरिरहेको भेट्नुहुनेछ।" यसो भन्दै गर्दा विनिताको अनुहार धेरै उज्यालो थियो।

विनिता भर्खर मात्र पढे ; धेरै गर्व र खुशी लाग्यो ।

   हालसम्म १४० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]



bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
Ncell