काठमाडौ। जनता बैंक नेपालले डेपुटी प्रमुख कार्यकारी अधिकृतमा सुजित शाक्यलाई नियुक्त गरेको छ। बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले सिभिल बैंकमा नायव महाप्रबन्धक शाक्यलाई डेपुटी प्रमुख कार्यकारी नियुक्त गरेको हो।
तीन जना डेपुटी प्रमुख कार्यकारी अधिकृतहरुलाई स्वेच्छिक अवकास दिएपछि जनता बैंकले सिभिलबाट शाक्यलाई ल्याएको हो।
बैंकले केही साताअघि मात्रै नायव प्रमुख कार्यकारीहरु पृथ्वी श्रेष्ठ, अजय मिश्र र सागर घिमिरेलाई स्वेच्छिक अवकाश प्याकेज ल्याएर बिदा गरेको थियो। पृथ्वी जनतामै थिए भने अजय सिद्धार्थ डेभलपमेन्ट बैंक र सागर त्रिवेणी विकास बैंकमा थिए। मर्ज भएपछि अजय र सागरलाई पृथ्वीसँगै डेपुटी सिइओ बनाइएको थियो।
सुजितमा हिमालयन, एनआइसी, बैंक अफ एसिया नेपालमा काम गरेको अनुभव छ। उनी एनबी बैंकसँग मर्ज भएको श्रीलंका फाइनान्समा पनि थिए।
जनता बैंकले प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्रीको 'सक्सेसर' का रुपमा सुजितलाई ल्याएको हो। स्रोतहरुका अनुसार, आगामी दुई बर्षपछि अहिलेका डेपुटी सिइओलाई नै प्रमुख कार्यकारी बनाउने बैंकको तयारी छ।
डेपुटी प्रमुख कार्यकारी अधिकृत हुनका लागि प्रमुख कार्यकारी भइसकेकादेखि पुर्व र वहालवाला बैंकरले समेत आवेदन दिएका थिए। सबैलाई उछिन्दै शाक्यले बाजी मारेका हुन्।
शाक्यले अब सिभिल बैंकमा तीन महिनाको नोटिस दिनु पर्छ। बैंकले तत्कालै उनलाई 'रिलिज' गरिदिए उनी जनता बैंक गइहाल्छन्। यदि तीन महिनासम्म 'होल्ड' गरेमा त्यसपछि मात्र जनता बैंक जाने छन्।