काठमाडौं। तीस वर्षअघि सुर्तीजन्य वस्तु उत्पादन गर्दै आएको बहुराष्ट्रिय कम्पनी सूर्य नेपालले दुई महिनाभित्र कन्फेसनरी उद्योग संचालनमा आउने भएको छ।
‘अहिले धमाधम प्लान्ट जडानको काम भइरहेको छ’, उद्योगका एक प्राविधिकले भने, ‘दुई महिनाभित्र उत्पादन शुरु गर्ने व्यवस्थापनको लक्ष्य छ।‘
भारतको आइटिसीको संयुक्त लगानीमा सूर्य टोवाको उद्योग स्थापना गरेको कम्पनीले गार्मेन्टपछि ठूलो लगानीमा कन्फेसनरी उद्योग संचालनमा ल्याउन गर्न लागेको हो।आइटिसी भारत फाष्ट मुभिङ कन्जुमर गुड्स(एफएमसीजी)मा एग्रेसिभ छ।चाउचाउ र कन्फेसनरीमा आइटिसीले आफ्नो हिस्सा बढाउँदै लगेको छ।
मजदुर समस्याका कारण सूर्य नेपाल गार्मेन्ट उद्योग बन्द भएपछि प्यासिभ रहेको कम्पनीले २४ करोड लगानीमा कन्फेसनरी उद्योग स्थापना गरेको हो।गार्मेन्ट ३० करोडमा लगानीमा संचालनमा ल्याएको थियो। १९ करोड रुपैयाँ चुक्ता पूँजी रहने चकलेट उद्योगमा पाँच करोड रुपैयाँ चालु पूँजी रहनेछ। त्यो उद्योगबाट वार्षिक ९ हजार टन चकलेट उत्पादन गर्ने कम्पनीको लक्ष्य छ।वार्षिक करिब २२ अर्ब रुपैयाँ भन्दा बढी कारोबार गर्ने कम्पनीमा आइटिसी इण्डियाको ५९ प्रतिशत र बाँकी नेपालीको शेयर छ।
गार्मेन्ट बन्द भएर खाली रहेको स्थानमा कन्फेसनरी उद्योग स्थापना गरिएको हो । विराटनगरमा कम्पनीको नाममा ६ विघा जग्गा छ। कन्फेसनरी उद्योग स्थापना गर्नुअघि कम्पनीले भारतबाटै आयात गरेर चकलेट र चुईँगम बिक्री गर्दै आएको थियो। कम्पनीले बजार अध्ययनका लागि ती उत्पादन बिक्री गरेको हो।
२०७३/७४ मा सूर्य नेपालले टफिचो, मिन्टो लगायतको ब्राण्डेड प्याकेज्ड फुड्सको बिक्रीबाट ९५ लाख रुपैयाँ बराबरको आम्दानी गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ। चुरोट र सुर्तीको पातको कारोबारको तुलनामा ज्यादै न्यून कारोबारको हिस्सा रहेको भएपनि सूर्य नेपालले उत्पादन विविधीकरण रणनीति अन्तर्गत धुप, सलाई ,कपडा र चकलेटलाई समेत आफ्नो उत्पादनको सूचीमा समावेश गरेको छ ।
सूर्य नेपालले अन्य उद्योगबाट तीर ब्राण्डमा सलाई र ब्राण्डमा धुप उत्पादन गर्न लगाएर आफैंले वितरण समेत गरिरहेको छ। वीरगंज, नारायणघाट र नेपालगन्जको स्थानीय उद्योगबाट आउट सोर्सिङमार्फत् सलाई उत्पादन गरिरहेको छ । सूर्य नेपालको प्रालि अन्तर्गत हाल बाराको सिमरा र कास्कीमा चुरोट कारखाना संचालनमा रहेको छ ।
चाउचाउ पनि ल्याउने
चकलेटको बजार स्थापित भएपछि कम्पनीले चाउचाउ उद्योग पनि स्थापना गर्नेछ।आइटिसी भारतले सनभेष्ट इप्पी ब्राण्डमा चाउचाउ उत्पादन गरिरहेको छ।
‘हाम्रो लक्ष्य चकलेट मात्रै होइन।चाउचाउ र अरु खाद्य वस्तु पनि हो।आइटिसी भारतले उत्पादन गरेका उपभोग्य वस्तु उत्पादन गर्नेछौं,’ कम्पनीका सिनियर भाइस प्रेसिडेन्ट रवि केसीले केही अघि बिजमाण्डूलाई भनेका थिए।