काठमाडौं । नेपाल-चीन संयुक्त लगानीमा स्थापना भएको अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एअरलाइन्सले चीनमा पनि व्यावसायिक उडान सुरु गर्ने भएको छ। चीनको प्रमुख पर्यटकीय शहर चोङकिङमा आफ्नो पहिलो व्यावसायिक उडान भरेर हिमालय एअरलाइन्सले चीनको हवाई बजारमा प्रवेश गरेको हाे।
हिमालय एअरलाइन्सले साताको प्रत्येक बिहीबार चोङकिङदेखि काठमाडौंसम्मको चार्टड सेवा उपलब्ध गराउनेछ। चोङकिङ र काठमाडौंबीच सीधा उडान भर्ने हिमालय एअरलाइन्स एकमात्र एअरलाइन्स हो।
कार्तिक १ मा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय दिउँसो ४ः५५ मा उद्घाटन उडान भरेको हिमालय एअरलान्सको जहाजले चोङकिङस्थित जियाङबेई अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय रातको ११:०५ मा अवतरण गरेको थियो।
‘चीन हाम्रो लक्षित बजारमध्ये एक हो, हामी एक पाइला अगाडि सर्न पाउँदा हर्षित छौं, हिमालयन एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले बताए। यो उडानको सुरुवातसँगै हामीले ‘विजनेश ट्राभलर’लाई सेवा उपलव्ध गराउने अवसर पाएका छौं , उनले भने ।
चोङकिङबाट विदेश यात्रामा निस्कने यात्रुको संख्या प्रशस्त हुने भएकाले हामीलाई उडान भर्न समस्या नहुने कुरामा विश्वस्त छौं’, श्रेष्ठले भने ।उनले भने ‘हिमालय एअरलाइन्सले धेरैभन्दा धेरै चिनियाँ पर्यटक नेपाल भित्र्याउन र दुवै देशको आर्थिक पर्यटनको विकास गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।’
चीनको केन्द्रीय शासित शहरहरु बेइजिङ, सांघाई र तियानजिनका साथै चोङकिङ पनि एक हो, जहाँ पर्यटकका लागि उल्लेखनीय आकर्षणहरु रहेका छन् । चोङकिङ आफ्नो सम्पन्न इतिहास र सांस्कृतिक सम्पदाले प्रख्यात छ । यो आर्थिक र उत्पादनको केन्द्रको रुपमा पनि परिचित छ ।
नेपाल चिनियाँ पर्यटकका लागि आफ्नो फुर्सदिलो समय बिताउने आर्कषक नयाँ गन्तव्य बन्न थालेको छ। सन् २०१८ को जनवरीदेखि सेप्टेम्बरसम्म एक लाख नाै हजार चार सय ९७ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका छन् । अघिल्लो बर्ष २०१७ को सोही समयको तुलनामा नेपाल आउने चिनियाँ पर्यटकको संख्यामा ४८.८ प्रतिशतले वृद्धि भएको हो । नेपाली पर्यटन बजारमा भारत पहिलो र चीन दोस्रो स्थानमा रहेको छ । नेपाल आउने कुल पर्यटक संख्यामा १४.४ प्रतिशत चिनियाँ पर्यटक छन् ।
एअरलाइन्सले चीनसँग सीधा हवाई सम्पर्क विस्तार गर्न अर्काे चरणमामा बेइजिङ, हाएकाउ, नान्चाङ जोड्ने योजना बनाएको छ