युरो २०१६ फाइनल : कसले जित्ला उपाधि, पोर्चुगल कि फ्रान्स?

बिजमाण्डू
२०७३ असार २६ गते ००:०० | Jul 10, 2016
युरो २०१६ फाइनल : कसले जित्ला उपाधि, पोर्चुगल कि फ्रान्स?

प्रतिक्षाको घडी सकिनै लागेको छ। युरोकप २०१६ को फाइनल खेल सोमबार बिहान नेपाली समयअनुसार पौने एक बजे हुँदैछ। उपाधिका लागि आयोजक फ्रान्स र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ।
 
यसअघि आठ पटक युरोकपमा सहभागिता जनाउँदा दुई पटक च्याम्पियन बनेको फ्रान्स तेस्रो पटक उपाधि जित्दै जर्मनी र स्पेनको रेकर्ड बराबरी गर्ने तयारीमा छ भने दोस्रो पटक फाइनल पुगेको पोर्चुगल पहिलो पटक च्याम्पियन बन्ने दाउमा छ।

Tata
GBIME
Nepal Life


फ्रान्सले सन् २००० मा दोस्रो पटक उपाधि जितेको थियो । १६ वर्षपछि अहिले फाइनलमा पुगेको हो। यसक्रममा अपराजित रहेको फ्रान्सले सेमिफाइनलमा विश्व विजेता जर्मनीलाई २–० ले हरायो। घरेलु मैदानमा शानदार इतिहास रहेको फ्रान्स फाइनलमा पनि यही लयलाई निरन्तरता दिने योजनामा छ। 

फ्रान्सले सन् १९८४ मा दोस्रो पटक युरो आयोजना गर्दा पहिलो पटक उपाधि जितेको थियो। यस्तै सन् १९९८ मा घरेलु मैदानमै भएको विश्वकप पनि फ्रान्सले जितेको थियो।

यता सन् २००४ मा घरेलु मैदानमै भएको युरोकपमा फाइनल पुगेपनि पोर्चुगल उपविजेतामै सिमित रह्यो। पोर्चुगल उपाधि भिडन्तमा ग्रिससँग पराजित भएको थियो। १२ वर्ष पछि युरोकपको फाइनल पुग्ने क्रममा पोर्चुगलले सेमिफाइनलमा वेल्सलाई २–० ले हराएको थियो।

समूह चरणको तीन वटै खेलमा बराबरी खेलेको पोर्चुगल समूहको तेस्रो स्थानमा थियो। तर ६ वटा समूहको तेस्रो स्थानमा रहनेमध्ये उत्कृष्ट चार भित्र पर्दै पोर्चुगल नकआउट चरणको लागि छनोट भएको थियो। सेमिफाइनल आइपुग्दासम्म पोर्चुगल निर्धारित ९० मिनेटमा कुनै पनि खेल जित्न सकेको थिएन।
 
क्रोएसिया विरुद्धको प्रिक्वाटरफाइनल अतिरिक्त समयमा जितेको पोर्चुगलले क्वाटरफाइनलमा पोल्याण्डलाई पेनाल्टीसुटआउटमा हराएको थियो। तर वेल्सलाई भने पोर्चुगलले निर्धारित समयभित्रै पराजित गरेको थियो।

यता फ्रान्स भने समूह विजेता बन्दै नकआउट चरणमा पुगेको थियो। समूहमा दुई जित र एक बराबरी नतिजा निकालेको फ्रान्सले प्रिक्वाटरफाइनलमा आयरल्याण्ड र क्वाटरफाइनलमा आइसल्याण्डलाई हराएको थियो। सेमिफाइनलमा विश्व विजेता जर्मनीलाई समेत हराएको फ्रान्स फाइनलमा उच्च मनोवलका साथ प्रस्तुत हुने तयारीमा छ।


रोनाल्डो भर्सेस ग्रिज्मन
पोर्चुगल र फ्रान्स बीचको फाइनललाई रोनाल्डो भर्सेस ग्रिज्मनको भिडन्तको रुपमा हेरिएको छ। फाइनलसम्म आइपुग्दा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र फ्रान्सका एन्टोनी ग्रिज्मनले उत्कृष्ट प्रदर्शन गरेका छन्। 

दुवै खेलार्डीलाई फाइनलमा आफुलाई उत्कृष्ट सावित गर्ने मौका हुनेछ। ग्रिज्मन जारी प्रतियोगितामा ६ गोल गर्दै सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छ भने ३ गोल गरेका रोनाल्डो दोस्रो स्थानमा छन्। 

प्रतियोगिताको सुरुवातमा प्रभाव जमाउन नसकेपनि दुवै खेलाडीले त्यसपछिका खेलहरुम भने निकै सुधार गरेका छन्। ग्रिज्मनले नकआउट चरणका तीन वटै खेलमा गोल गरेका थिए। समूह चरणमा अल्वानिया विरुद्ध एक गोल गरेका ग्रिज्मनले प्रिक्वाटरफाइनलमा आयरल्याण्ड विरुद्ध २, क्वाटरफाइनलमा आइसल्याण्ड विरुद्ध १ र सेमिफाइनलमा जर्मनी विरुद्ध २ गोल गरेका थिए। 

यता रोनाल्डोले समूह चरणको दुई खेलमा गोल गर्न नसकेपनि हंगेरी विरुद्ध २ गोल गर्दै पोर्चुगललाई नकआउट चरणमा छनोट गराएका थिए। वेल्स विरुद्धको जितमा पनि रोनाल्डोले एक गोल गरेका थिए।

ग्रिज्मन सहित फ्रान्सका सबै खेलाडी फर्ममा छन्। उनलाई अग्रपंक्तिमा ओलिचर जिरुड र दिमित्री पायटले साथ दिनेछन् भने मिडफिल्डरमा मटुइडी, पोग्वा सिसोकोको साथ रहनेछ। 

यता पोर्चुगलमा रोनाल्डोसँगै नानी, युवा स्टार रेनाटो सान्चेज, जो मारिओ, पेप जस्ता खेलाडीहरु निर्णायक बन्न सक्छन्।
इतिहासमा फ्रान्स हावी
पोर्चुगल र फ्रान्स बीचको फुटबल इतिहासमा फ्रान्स हाबी भएको देखिन्छ। ४० वर्षयता पोर्चुगलले प्रान्सलाई हराउन सकेको छैन भने पोर्चुगल विरुद्धको पछिल्ला दश खेलमा फ्रान्स अपराजित छ। सन् १९७५ मा पोर्चुगलले फ्रान्सलाई २–० ले हराएपछि अहिलेसम्म हराउन सकेको छैन। 

यी दुई बीच सबैखाले गरेर अहिलेसम्म २४ खेल भएका छन् जसमा फ्रान्स १८ खेलमा विजयी भएको छ भने पोर्चुगलले ५ खेल मात्र जितेको छ। एक खेल भने बराबरीमै सकिएको थियो।

पछिल्लो पटक लिस्वनमै भएको खेलमा फ्रान्सले पोर्चुगललाई १–० ले हराएको थियो। मुख्य प्रतियोगितामा भने फ्रान्स र पोर्चुगल सन् २००६ को विश्वकप सेमिफाइनलमा अन्तिम पटक भिडेको थियो। जसमा जिनेदिन जिदानको पेनाल्टी गोलको मद्धतमा फ्रान्स १–० ले विजयी भएको थियो। 

युरोकपमा भने फ्रान्स र पोर्चुगल पहिलो पटक सन् १९८४ मा भिडेका थिए। सेमिफाइनल भिडन्तमा फ्रान्सले पोर्चुगललाई अतिरिक्त समयमा ३–२ ले पराजित गरेको थियो। सन् २००२ को युरोकप सेमिफाइनलमा पनि फ्रान्सले पोर्चुगललाई अतिरिक्त समयमै हराएको थियो।

सन् १९९८ मा विश्वकप र २००० मा युरोकप जित्दा फ्रान्सको कप्तान रहेका डिडियर डेसच्याम्प अहिले फ्रान्सेली टोलीको प्रशिक्षक छन्। पोर्चुगललाई हराउँदै फ्रान्सले युरो उपाधि जिते डेसच्याम्प खेलाडी र प्रशिक्षकको रुपमा युरो जित्ने पहिलो बन्नेछन्। 
 

  • खेल हुने समय       : मध्यराती १२ः४५ बजे
  • खेल हुने स्थान       : सेन्ट डेनिस, पेरिस
  • हेर्नलायक खेलाडी   : क्रिस्टियानो रोनाल्डो पोर्चुगल, एन्टोनी ग्रिज्मन फ्रान्स
  • हेड टु हेड            : पोर्चुगल ५, फ्रान्स १८, बराबरी १  
  • युरो सहभागिता      : पोर्चुगल ७, फ्रान्स  ९
  • फिफा वरियता       : पोर्चुगल ८, फ्रान्स १७  
  • मुख्य उपलब्धी       : पोर्चुगल उपविजेता २००४
  •                            फ्रान्स विजेता सन् १९८४, २००० 

 

फाइनल खेलका रेफ्रि टीम
 

  • रेफ्रि                      : मार्क क्लाटेनवर्ग इंगलयाण्ड
  • असिस्टेन्ट                : सिमोन बेक, जेक कोलिन, इंगल्याण्ड
  • एडिसनल असिस्टेन्ट    : एन्तोनी टेलर, आन्द्रे मारिनर, इंगल्याण्ड
  • फोर्थ अफिसियल       : भिक्टोर कसाई, हंगेरी
  • रिजर्भ असिस्टेन्ट        : ग्योर्जी रिङ, हंगेरी