राजनीतिक अस्थिरताले व्यवसायीको मनोबल खस्कियो, श्रम समस्याको प्रभाव न्यून

बिजमाण्डू
२०६९ कात्तिक २४ गते ००:०० | Nov 9, 2012
राजनीतिक अस्थिरताले व्यवसायीको मनोबल खस्कियो, श्रम समस्याको प्रभाव न्यून

काठमाडौं । राजनीतिक अस्थिरता र उर्जा संकटले व्यवसायिक मनोबल खस्किएको एक अध्ययनले देखाएको छ । अमेरिकी सहयोग नियोग युएसआइडीको सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघले तयार पारेको ‘व्यवसायिक मनोबल सूचक’मा राजनीतिक अस्थिरता प्रमुख कारण रहेको छ ।
४२ दशमलब ७ प्रतिशतले राजनीतिक अस्थिरताले व्यवसायीको मनोबल खस्किएको बताएका छन् । उद्योगी व्यवसायीले प्रमुख मुद्धाको रुपमा उठाउँदै आएको श्रम समस्याको प्रभाव भने न्यून पाइएको छ ।

व्यवसायीले राजनीतिक अस्थिरतापछि श्रम समस्या कारण व्यवसाय चलाउन कठिन भएको बताउँदै आएका थिए । तर सर्वेक्षणमा ७ दशमलब ४ प्रतिशतले मात्रै श्रम समस्याका कारणले व्यवसायीको मनोबल खस्किएको बताएका छन् । व्यवसायीको मनोबल खस्किनुमा राजनीतिक अस्थिरतापछि उर्जा संकट रहेको छ । २२ प्रतिशत व्यवसायीले उर्जा संकटका कारण व्यवसायीको मनोबल खस्किएको बताएका छन् ।
उर्जा संकटका कारण उद्योगीले आफ्ना उत्पादन बढाउन सकेका छैनन् भने लागत समेत महँगो भएको छ । तेस्रोमा ११ प्रतिशतले बन्द हड्तालले व्यवसायीको मनोबल खस्किएको बताएका छन् । चौथोमा ८ दशमलब ९ प्रतिशतले सुशासनको अभावमा व्यवसायीले आफ्नो उद्योगधन्दा बढाउन नसकेको सर्वेक्षणले देखाएको छ ।
सर्वेक्षणमा ४२ जिल्ला र पाँच विकास क्षेत्रका ४०३ व्यवसायी सहभागी थिए । सर्वेक्षणले व्यवसायीको मनोबल ३९ दशमलब ७ अंक रहेको देखाएको छ । यो न्यून मनोबल हो । सर्वेक्षणका अनुसार २५ अंकसम्मलाई असाध्यै न्यून मनोबल, २५ देखि ५० लाई न्यून मनोबल, ५० देखि ७५ उच्च र ७५ देखि माथिलाई अति उच्च मनोबल मानेको छ । अमेरिकामा व्यवसायीको मनोबल ५१ प्रतिशत रहेको छ । अधिकांश व्यवसायी भबिष्यप्रति भने आशावादी छन् ।

Tata
GBIME
Nepal Life