मुम्बइ । स्विट्जरल्यान्डले भर्खरै स्विस बैंकमा रकम जम्मा गर्ने पाँच भारतीयहरुको नाम सार्वजनिक गरेको छ, त्यसमध्ये एक हुन् भारतका चर्चित उद्योगपति यशोवद्र्धन (यस) विडला ।
पेज थ्रि पार्टिदेखि लग्जरी लाइफका लागि चर्चित यस १८ वटा सुचिकृत कम्पनीका अध्यक्ष हुन् । लगभग ३० अर्ब भारुको टर्नओभर गर्ने समूहको जिम्मेवारी उनले २२ बर्षको उमेर छँदादेखि सम्हालेका हुन् ।
४७ बर्षमा हिडिरहेका यसका पिता अशोक र आमा सुनन्दा विडलाको मृत्यु १९९० मा कार दुर्घटनाबाट भएको थियो । आमाबुवाको मृत्युपछि उनले सानो उमेरमै ठूलो कम्पनीको नेतृत्व गरेका हुन् ।
यस विडलाको पेज थ्रि लाइफ सँधैभरीनै चर्चा रहने गरेको छ । उनीसँग फरारी, विएमडब्लु–५ सिरिज, आडी, जगुआरसमेत दर्जनौं सुविधा सम्पन्न र महँगा कारको कलेक्सन छ । मुम्बइको मालाबारमा उनको भब्य महल छ । साथै यही क्षेत्रमा उनका केही फ्ल्याटहरु पनि छन्, जसको विवाद अहिले पनि हुने गरेको छ ।
यस विडला कृष्ण भगवानका भक्त हुन् । उनले आफ्नो शरिरमा वाँसुरीको ट्याटु बनाएका छन् । उत्तराखन्डमा उनले ध्यान गर्नका लागि घरनै बनाएका छन्, जहाँ उनी आफ्नो परिवारसँग प्राय जान्छन् । उत्तराखन्डमा गएको वाडीका कारण उनको घरमा पनि क्षति पुगेको छ ।