काठमाडौं। लोकेश बमको विस्फोटक शतकका बावजुत नेपाल ‘ए’ आयरल्याण्ड वुल्भ्ससँग पराजित भएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आज सम्पन्न सिरिजको पहिलो खेलमा नेपालले हातमा आइसकेको खेल २१ रनले गुमाउन पुगेको हो।
टस हारेर सुरुवाती ब्याटिङमा उत्रिएको वुल्भ्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२२ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपाल ‘ए’ १९.३ ओभरमा २०१ रनमा अलआउट भयो।
नेपाललाई विशाल लक्ष्य नजिकसम्म डोहोर्याउन ओपनर लोकेश बमको महत्त्वपूर्ण भूमिका रह्यो। उनले ५६ बलमा ९ चौका र ८ छक्काको सहायतामा १०६ रन बनाए। नेपाली ब्याटिङ लाइनमा बमसहित तीन ब्याटरले मात्र दोहोरो अंक जोडे।
त्यसअघि विशाल लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको सुरुवात खासै राम्रो हुन सकेको थिएन। ५.६ ओभरमा कप्तान विनोद भण्डारी १४ बलमा १६ रन बनाएर बोल्डआउट हुन पुगे। लगत्तै आएका देव खनाल गोल्डन डक भए। त्यस्तै अर्जुन घर्ती पनि ३ रन बनाएर एलबीडब्लु आउट हुन पुगे।
८.४ ओभरमा नेपाल ६८-३ को अवस्थामा हुँदा आरिफ शेख क्रिजमा आए। त्यसपछि भने ओपनर लोकेश बम र उनीबीच साझेदारी जम्दा नेपाल ठूलो स्कोर बनाउन सफल भयो।
१५.६ ओभरमा बम आउट हुनुअघि शेखसँग उनले १२१ रनको साझेदारी गरे। बम आउट हुँदा १८९-४ को अवस्थामा रहेको नेपाली टोली ४ ओभरभित्रै अलआउट हुँदै मात्र १२ रन जोड्दा लक्ष्य पछ्याउन असफल भयो। अन्तिमका चारवटा ओभरमा नेपालले मात्र १२ रन जोडेर ६ विकेट गुमाएको थियो।
त्यस्तै नेपाल ‘ए’का अनुभवी ब्याटरमध्येका आरिफ शेखले २६ बलमा ४९ रन जोडेर १७.२ ओभरमा आउट भए। लगत्तै किरण ठगुन्ना २ रन बनाएर आउट हुँदा राशिद खान १९.१ ओभरमा गोल्डन डक हुन पुगे। त्यसपछिका कमलसिंह ऐरी, बसीर अहमद र हेमन्त धामीले १ रनभन्दा माथि जोड्न सकेनन्।
नेपालको तल्लो क्रमको ब्याटिङ धराशायी बनाउँदै खेल जिताउन वुल्भ्सका फिओन ह्याण्ड र म्याथ्यु हम्प्रेयसले समान ३ विकेट लिँदा म्याथ्यु फोस्टरले २ तथा थोमस मेयस र गाभिन होएले १ विकेट लिए।
वुल्भ्सको इनिङ्स
त्यसअघि टस हारेर ब्याटीङमा उत्रिएको वुल्भ्सले आक्रामक निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२२ रन बनाएको हो।
टस जितेर फिल्डिङमा उत्रिएको नेपालले पहिलो ओभरमै सफलता हात पर्यो। कमलसिंह ऐरीले दोस्रो बलमै रोस अडइरलाई आरिफ शेखबाट क्याचआउट गराए।
दोस्रो विकेटका लागि भने वुल्भ्सका पिटर मुर र केड कार्माइकलले ८८ रनको साझेदारी गरे। ९.६ ओभरमा ३८ रन बनाएका कार्माइकल सागर ढकालको बलमा एलबीडब्लु आउट हुँदा वुल्भ्सको स्कोरबोर्डमा ९० रन बनिकसकेको थियो।
त्यस्तै आरिफ शेखको बलमा १०.६ ओभरमा मुर बोल्ड आउट हुँदा अर्धशतक बनाउन एक रनले चुके। उनले ३२ बलमा ४ चौका र ३ छक्काको सहायतामा ४९ रन बनाएका थिए।
कमल सिंह ऐरीले नै वुल्भ्सको चौथो विकेट पनि लिए। १४.४ ओभरमा ३४ रन बनाएका स्टेफेन डोहेनीलाई उनले सागर ढकालबाट क्याचआउट गराए।
वुल्भ्सको पाँचौ विकेट पनि कमलसिंह ऐरीले नै लिए। उनले १८.१ ओभरमा २३ बलमा ३८ रन बनाएका कप्तान निल रकलाई आफैले क्याचआउट गराएका हुन्।
त्यस्तै, गेरेथ डेलानी १४ बलमा ३० रन र गाभिन होए ६ बलमा १८ रन जोड्दै अविजित रहे।
बलिङमा कमलसिंह ऐरीले सर्वाधिक ३ विकेट लिँदा सागर ढकाल र आरिफ शेखले समान १ विकेट लिए। नेपाल अहिले जवाफी ब्याटिङमा उत्रिएको छ।
सिरिजको दोस्रो खेल शनिबार कीर्तिपुरमै हुनेछ।