
काठमाडौं । अग्ला घरमा लस्करै गेष्ट हाउस, झुरुप्प ठडिएका घरमा होटलका बोर्डैबोर्ड, देश दौडाहामा लाग्ने यात्रुलक्षित सयौं पसल, सहरीकरणसँगै बढ्दो जनघनत्वलाई मध्यनजर गर्दै बनेका व्यापारिक मल।
यो नयाँ सहरमा सबथोक छ। अवसर, मनोरञ्जन, संस्कृति, बाक्लिएको बस्तीसँगै बढ्दो अपराध पनि। विष्णुमती नदी किनारको उब्जाउ फाँटैफाँटमा अहिले खाली जमिन भेट्टाउन गाह्रो छ।
चक्रपथ बनेपछि बसोबास बाक्लिन सुरु भएको बस्ती ‘नयाँ बसपार्क’ बनेपछि झन् झांगियो। पछि विस्तारै ‘अपराधको अड्डा’ समेत बन्यो। त्यसैले सबथोक भएर पनि विस्तारित सहरको यो भेग उपेक्षित छ। सहरी कथाको शृंखलामा सिंगो देशलाई राजधानी काठमाडौंको लाइफलाइनको प्रस्थान विन्दु रहेको गोंगबुको कथा।

चक्रपथ बन्नु अघिसम्म गोंगबु गणेशस्थान क्षेत्रमा करिब ६० घर थिए। नेवार समुदायको बसोबास रहेको यस क्षेत्रमा अधिकारीहरुको पनि घर थियो। काठमाडौंको ‘कोर क्षेत्र’ असन इन्द्रचोकमा बजार हुँदा नै गोंगबुमा पनि बजार थियो। झोरबाट कोदो, चामल, गहुँ र कुचो लिएर मानिस गोरेटो बाटो हुँदै गोंगबुको गणेशस्थानसम्म आउँथे। त्यहाँ भारी बिसाएर बास बस्थे। आफूले ल्याएको सामानसँग नुनतेल साट्थे। बजार बस्तु विनिमयमै आधारित जो थियो।
गणेशस्थानबाट देखिन्थ्यो बालाजु र सामाखुशी। पुरै गोंगबुमा फाँटैफाँटमात्र देखेका जगतलाल शाही अहिले टोखा नगरपालिका-१० का वडासदस्य छन्। वडा समितिमा तेस्रो कार्यकाल काम गर्दै गरेका उनी गोंगबुमा सहरीकरणको सुरुवात २०३० सालपछि नै सुरु भएको बताउँछन्। त्यसताका काठमाडौंमा चक्रपथ निर्माणका लागि जग्गा अधिग्रहण सुरु भएको थियो।
काठमाडौंमा सडक र भवनको नयाँ मापदण्ड २०३३ सालमा तयार भएको थियो। सो मापदण्ड अनुरुप काठमाडौंका थुप्रै सडकहरु २२ मिटरसम्म कायम भए। गोंगबुमा पनि चक्रपथ निर्माणको काम अघि बढ्यो। गोंगबु क्षेत्रमा चक्रपथ निर्माणपछि २०३६ सालदेखि मानिसको आवतजावत सुरु भएको शाहीले बताए।
‘पहिला नेवारी शैलीका पुराना घरहरु थिए। रिङरोड बनेपछि यहाँ परिवर्तन सुरु भयो। गोंगबु सहरीकरणमा प्रवेश गर्यो,’ उनले भने, ‘काँचो इँटाले बनेका र पराल र टायलको छानो भएका घर हराए, कंक्रिटका बन्न थाले।’
यस भेगमा बढ्न सुरु भएको बस्ती २०५० साल पछि थप ‘बुम’ भयो। त्यसका दुई कारण थिए। पहिलो, माओवादी सशस्त्र द्वन्द्व र दोस्रो, गोंगबुमा बनेको नयाँ बसपार्क।

२०५२ सालबाट सुरु भएको सशस्त्र द्वन्द्वले काठमाडौंको काँठ क्षेत्रमात्र होइन, चक्रपथ वरिपरि पनि प्रभाव परेको थियो। विस्तारै खेतीयोग्य जमिन बिक्री हुन थालेको त्यही समयको आसपास गोंगबु क्षेत्रका जग्गा पनि बिक्री हुन थाले। २०५४ सालमा गोंगबुमा नयाँ बसपार्क तयार भएसँगै घर थपिने क्रम बढ्यो। स्थानीयको जग्गा अधिग्रहण गरेर जापानी सहयोगमा बनेको बसपार्कले गोंगबुको स्वरुप परिवर्तन गर्न मुख्य भूमिका खेलेको बताउँछन् शाही।
सबै जिल्ला काम, बसोबास र विभिनन्न कारणले उपत्यका आइरहने मानिसहरुले काठमाडौंमा पायकको ठाउँको खोजिरहँदा धेरैको नजर गोंगबुमा पर्यो। त्यसैले गोरखा, धादिङ, नुवाकोट, लमजुङ लगायत जिल्लाबाट समूह-समूहमा बसाई सरेर गोंगबुमा आउने बढे।
शाहीले भने, ‘गोंगबुमा बसपार्क बनेपछि यहाँ घरहरु बढ्न थाल्यो। पसलहरु खुल्न थाले। होटल लज खुले। ७५ जिल्ला (हाल ७७)बाटै मानिस आए पछि चहलपहल त बढ्ने नै भयो।’

स्थानीय शिव अधिकारीका अनुसार गोंगबुमा अचाक्ली होटल र लज खोल्नु पछाडि एउटा कारण बसपार्क हुनु हो भने दोस्रो वैदेशिक रोजगारको मार्गप्रशस्त हुनु हो।
‘जनयुद्धताका धेरै मानिस गाउँबाट मात्रै पलायन भएनन्। देशबाटै पलायन भए। अवसरको खोजीमा विदेश जाने बढे। बाहिरबाट आउँदा पहिला टेक्ने ठाउँ नै गोंगबु। अनि यहाँ होटल लजहरु खुले। ती पनि विदेशिनेको संख्यालाई लक्षित गरेर,’ उनले भने।
गोंगबुको नयाँ बसपार्क क्षेत्रमा चहलपहल बढ्न थालेपछि यहाँको कोर क्षेत्र मानिने गणेशनाथमा पनि त्यसको प्रभाव पर्ने नै भयो।
‘यहाँ पनि पक्की घर बन्न थाले। पसल खुल्न थाल्यो। २०५५ साल अघि कच्ची मोटर बाटो पिच भयो। मनोहर तीर्थसम्म कालोपत्रे भएपछि यहाँ पनि मानिस तानिए,’ वडा सदस्य शाही भन्छन्।

भूकम्पको पीडा र उठेको विश्वास
नयाँ बसपार्कले उठाएको गोंगबुमा घरसँगै होटल र गेस्ट हाउस पनि खुले। गल्ली गल्लीमा गेस्ट हाउस र रोधी घर। अन्धधुन्ध घर अग्लो बनाउने होडबाजी।
२०७२ वैशाख १२ को भूकम्पले भने मनपरी गरेर ठडेको गोंगबुलाई गर्लम्मै ढलायो। भूकम्पअघि नयाँ बसपार्क क्षेत्रमा होटल व्यवसाय तीव्र रूपले फस्टाएको थियो। त्यससँगै विभिन्न पसलहरु पनि संचालनमा थिए। तर, भूकम्पले काठमाडौंभरमै गोंगबुमा सबैभन्दा ठूलो असर गर्यो। आठ तलासम्मका घर भत्किए। होटल र लजभित्रै मान्छे च्यापिए। भूकम्पले नयाँ बसपार्क वरिपरिका क्षेत्र क्षतविक्षत बनाउँदा जमिरहेको होटल व्यवसाय पनि प्रभावित बन्यो।
‘दुई वर्ष लाग्यो यहाँ होटल पुन: सुरु गर्न,’ गोंगबुमा होटल संचालन गर्दै आएका गोपाल चन्दले भने, ‘अग्ला पक्की घर भत्किएपछि के होला भन्ने थियो। धेरैले भूकम्पप्रतिरोधी घर बनाए।’

टोखा नगरपालिका-१० का वडाध्यक्ष मचाकाजी महर्जन साबिकको गोंगबु गाविसमा रहेका क्षेत्रमा व्यापक बस्ती बढेको बताउँछन्।
‘भूकम्पपछि नयाँ घर बने। सँगै यहाँ जनसंख्या पनि बढ्यो,’ वडामा चौथो कार्यकाल काम गरिरहेका उनले भने, ‘साबिकको गोंगबु गाविसमा रहेका क्षेत्र हाल वडा ९, १० र ११ मा व्यापक बस्ती बढेको छ। अहिले ८ मा बढ्दैछ।’
उनका अनुसार चक्रपथको नजिकै बसपार्क बनेपछि यस भेगमा बाटो पनि चाँडै बन्यो, जसले गोंगबु क्षेत्रमा जनघनत्व छिटै बढेको हो।
‘यहाँ यातायातबाट सुविधा भयो। त्यसैले बस्ने कहाँनिर भन्दा गोंगबुमा। राति आउँदाजाँदा सजिलो हुने भन्ने पनि भयो। बजार पनि बढ्यो। भूकम्पपछि त यहाँ खाली जग्गा देख्नै गाह्रो भयो,’ उनले भने।
हाल गोंगबु क्षेत्रमा चक्रपथ विस्तारको काम अघि बढिरहेको छ। जसकारण यो क्षेत्र कयौं वर्षदेखि धुलाम्म भएको छ। सडक बनेपछि यहाँको व्यापार र ‘चार्म’ फेरिने व्यवसायीको विश्वास छ। तर अव्यवस्थित बसोबासले समस्या पनि त्यत्तिकै बढाएको छ। जसलाई समाधान गर्न स्थानीय सरकारले राम्रै कसरत गर्नुपर्ने देखिन्छ।
मलिलो जमिनमा मलैमल
नेपालभाषामा ‘ग्वंग’ भनेको भाले कुखुरा हो भने ‘बुँ’ भनेको खेत। जग्गामा मलका रुपमा प्रयोग गर्न उब्जाउ भूमिबाट कालोमाटो निकाल्ने क्रममा ‘ग्वंग’ बास्ने गरेकोले यो ठाउँको नाम पछि गोंगबु रहन गएको जगत शाही बताउँछन्।
‘यहाँको माटो मलिलो भएकोले पहिला धेरै निकालियो। खेतमा हाल्नलाई जमिन खनेर मल निकालियो। पछि राम्ररी पुरिएन। जसकारण यहाँको जमिन कमजोर भयो। भूकम्पमा त्यसैको असर परेको भन्ने बुझाइ छ,’ शाहीले भने।


भूकम्पले ढलाएका घरहरु फेरि ठडिएसँगै यहाँका होटल र गेस्ट हाउस पनि पुन: पुरानै रफ्तारमा संचालनमा छन्। वैदेशिक रोजगारमा जान आउजाउ गर्नेको थलो बनेपछि चहलपहल बढेको गोंगबुमा पछिल्लो समय मलहरुले थप रौनक ल्याएको छ।
भूकम्पअघि नै कान्तिपुर मल गोंगबु बसपार्कमा संचालनमा थियो। तर, त्यसले ‘मल कल्चर’ खासै स्थापित गर्न सकेको थिएन। २०७३ वैशाखमा बसपार्क क्षेत्रबाट गोंगबु चोक जाने सडकखण्डनिर बिजी मल खुलेपछि भने यहाँ नयाँ उमंग छायो।


पछि २०७८ असोजदेखि नयाँ बसपार्कमै ल्होत्से मल संचालनामा आयो। ल्होत्से बहुउद्देश्यीय प्रालिको लगानीमा एक अर्ब २५ करोड रुपैयाँमा मल निर्माण गरि थिएटरसहितको व्यापारिक भवन संचालनमा ल्याइयो। राम्रो फिल्म चल्दा वीकेन्डमा यहाँका सबै सिनेमा हलमा राम्रै भीड हुन्छ।
अहिले गोंगबु चोकबाट गणेशस्थान जाने बाटोमा नर्थपार्क प्लाजा पनि संचालनमा छ। कुनै बेला गोंगबुको ल्याण्डमार्क बनेको ‘नर्थ क्याफे’ हाल यही प्लाजामा समेटियो। सँगै इन्फिनिटी मुभिज पनि। सिनेमाको फुटफलले नर्थ क्याफेमा पनि राम्रै चहलपहल हुन्छ।


गणेशस्थान क्षेत्रमात्रै होइन जाल्पा चोकसम्म अहिले बजार बिस्तार भएको छ। वाणिज्य बैंक, रेष्टुरेन्ट र क्याफेसँगै मार्टको लस्करै देख्न सकिन्छ। तर, मन्दीको असरले सधैं चहलपहल रहने गोंगबु क्षेत्रको व्यापार पनि पहिला जस्तो छैन।
‘कोरोनापछि ब्युतिँदै गएको व्यापार पछिल्लो समय धेरै गाह्रो गरेर संचालन भइरहेको छ,’ यहाँका एक व्यापारीले भने।
गोंगबु माथि सरेको बस्ती
गोंगबु क्षेत्रबाट सुरु भएको सहरीकरणकरणको दृश्य बानियाँटार, बालुवापाटी, भत्केपुलदेखि साङ्गला र टोखाको भूतखेल मुनिसम्म बनिरहेका नयाँ घरहरुले प्रष्ट पारेको छ।
धापासीमा जन्मिएका विष्णु श्रेष्ठ २०५५ सालमा अहिले ढलमलका रुपमा चिनिने क्षेत्रमा आइपुगेका थिए। ७७ वर्षका भए उनी। उनले घर बनाउँदा वरिपरि खासै घर नै थिएनन्। ढलमल डाँडा पनि रित्तै। २०५२ सालको माओवादी जनयुद्धपछि गोंगबु हुँदै मानिसहरु माथि सर्न सुरु गरेको उनले बताए।
‘धापासीबाट यहाँ आउँदा सुनसान फाँट थियो। बानियाँटारमा पुरानो परालको छानो भएको घर थियो। माटोको घर थियो। अहिले यहाँको जीवनशैलीमा अकल्पनीय परिवर्तन भइसक्यो,’ उनले सुनाए।


यस्तै अनुभव छ गोरखाबाट २०६५ सालमा भत्केपुलमा आएका बलबहादुर घलेको पनि।
६० वर्ष उमेर पार गरेका उनका छोराको जागिर काठमाडौंमा थियो। उनका छोराले यहाँ घर बनाए। त्यसपछि यतै बसोबास गर्न थाल्दा उनलाई सम्झना छ- छेउछाउमा दुई-चार घर थिए।
‘हेर्दाहेर्दै घरहरु झुप्प बढे। भूकम्पपछि यहाँ अचाक्ली घर बढ्न थालेको हो, ’ बानियाँटार हाइटमा भेटिएका उनले भने।
बानियाँटार हाइट १५ वर्ष अघिसम्म गोंगबु क्षेत्रमा फाँट देख्न सकिन्थ्यो। अहिले हाइटबाट घरबाहेक केही देखिन्न। म्हेपी र स्वम्भू प्रष्टरूपमा देखिन्छ यहाँबाट।

सहरमा सुरक्षा चुनौती
गोंगबु जति सहर बन्दै गयो त्यति यो क्षेत्र ‘अपराधको अड्डा’ पनि बन्दै गयो। बाक्लिएको बस्तीमा लुटपाटमात्रै भएनन् हत्या र यौन उत्पीडनका समेत घटना भए। जसले गोगंबु बदनाम पनि भयो।
७७ जिल्लाबाट आउजाउ गर्न बसपार्क नजिकैका होटल र गेस्ट हाउस मानिसको प्राथमिकतामा पर्ने गर्छ। ‘रेसिडेन्सियल एरिया’भित्रै खोलिएका केही गेस्ट हाउस र क्लबमा अपराधिक क्रियाकलाप हुन थालेको धेरै भयो।
बसपार्क क्षेत्रका होटलमा विभिन्न प्रकृतिका मानिसहरुको बसोबास हुने गर्छ। जसकारण यो भेग काठमाडौंको अन्य क्षेत्रभन्दा आपराधिक दृष्टिले जोखिमपूर्ण मानिन्छ। होटलमा बस्ने ग्राहकहरुको पूर्ण विवरण नराख्नुले अपराध अनुसन्धानमा समस्या हुने देखिएको छ।

पूर्व प्रहरी अधिकारीहरुका अनुसार गोंगबुमा क्षेत्रमा अपराधको ग्राफ बढ्ने सिलसिला वैदेशिक रोजगारमा जानेहरुले यहाँ आउजाउ बढाएपछि सुरु भएको देखिन्छ।
‘विदेश जाने सुरु भएपछि यहीबाट आउजाउ हुन थाल्यो। विदेशबाट फर्किँदा पनि यहीँ नै बस्ने भयो। जनसंख्या एकै ठाउँमा जम्मा हुँदा त्यहाँ ठगी लगायतका अपराध बढ्ने गर्छ। त्यो गोंगबुमा पनि देखियो,’ पूर्व डीआइजी हेमन्त मल्ल ठकुरीले भने।
उनका अनुसार गोंगबुमा दुईखाले जनसंख्याको थ्रेट सुरुदेखि नै थियो। एउटा भूगोलबाट एकीकृत बनाएर आएको समुदायको बस्ती र ‘लिडर’ बिनाको समूह।
‘एकै ठाउँबाट आएकाहरुबाट कुरा निकाल्न गाह्रो हुन्छ। उनीहरु समूहमा बसेका हुन्छन्। त्यसले अपराधको अनुसन्धानमा सहयोग हुँदैन,’ उनले गोंगबुमा अपराधको ट्रेन्डबारे भने, ‘अर्को त बिना लिडरको मास गोंगबुमा सधैं रहन्छ। त्यसबाट सो क्षेत्रमा अरु ठाउँको भन्दा सुरक्षा थ्रेट बढी नै हुन्छ।’

त्यसैले उनी धेरै ‘मास मोबिलिटी’ हुने गोंगबु क्षेत्रमा एउटा सानो प्रहरी इकाइमात्रै राखेर नहुने मत राख्छन्। गोंगबुमा हुने गरेका ससानादेखि ठूला अपराधिक घटना नौला होइनन्। २०७९ फागुनमा गोंगबु क्षेत्रमा तोडफोड र लुटपाट मच्चाउँदै ‘मब’ले गरेको प्रदर्शनमा प्रहरी निरीह नै बनेको थियो। त्यसैले घनाबस्ती रहेको गोंगबु क्षेत्रमा शान्ति सुरक्षाका लागि प्रहरीले संवेदनशील भएर विशेष रणनीति बनाउनुपर्ने देखिन्छ।
‘बसपार्कमा सानो पुलिस युनिटमात्रै राखेर हुँदैन। सहरमा जनसंख्या बढ्दै गएपछि त्यही अनुसारको प्रहरीको संख्या हुनुपर्छ। सानो युनिटले ससाना कुरा मात्रै हेर्न भ्याउँछ। नयाँ बसपार्क क्षेत्रलाई लक्षित गरेर छुट्टै युनिट बनाउनुपर्छ। मब कन्ट्रोलिङका लागि पनि छुट्टै युनिट हुनुपर्छ,’ उनले भने।