
काठमाडौं । भारत र पाकिस्तानबीच युद्ध जारी छ। पहलगाम आक्रमणपछि भारतले पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीरमा आक्रमण गरेपछि दुवै देशबीचको सम्बन्धमा थप दरार आएको हो।
दुवैतर्फ गरेर ५० जनाभन्दा बढीको मृत्यु भइसकेको छ। अझै दुवै तर्फबाटै आक्रमण भइरहेको छ। सहरी क्षेत्रमा नै आक्रमणको अवस्था बढ्दै जाँदा नागरिकहरुलाई सतर्कता अपनाउन भनिएको छ।
भारतसँग युद्धको अवस्था बढ्दै जाँदा पाकिस्तान स्टक एक्सचेन्ज (पीएसएक्स) निरन्तर ओरालो लागिरहेको छ। पाकिस्तानी संचार माध्यमले पीएसएक्स लगातार ‘बल्डबाथ’ मा पुगेको उल्लेख गरेको छ। बिहीबारसम्म ८२० बिलियन अमेरिकी डलर बजारले गुमाइसकेको छ।
भारतले सुरुमा कश्मीर आसपासको पाकिस्तानी क्षेत्रमा आक्रमण गरेको थियो। त्यसपछि अहिले कराँची र लाहोर जस्ता सहरमा समेत आक्रमण गरिरहेको छ। पाकिस्तानले पनि चन्दीगढसम्म आक्रमण सुरु गरेको छ।
युद्ध लम्बिने खतरा बढ्दै जाँदा पाकिस्तानको अर्थ मामिला मन्त्रालयले विदेशी दातासँग ऋणको माग गरेको छ।
आधिकारिक एक्स अकाउन्टमा मन्त्रालयको आर्थिक मामिला डिभिजनले अन्तर्राष्ट्रिय दाताहरुसँग ऋण सहयोग माग गरेको हो।
भारतको पहलगाममा आक्रमण हुँदा २६ जना मारिएपछि भारतले जवाफमा पाकिस्तानमा रहेका आतंकी लक्षित ठेगानामा एयर स्ट्राइक गरेको थियो। त्यसपछि पाकिस्तान र भारतबीच हवाई आक्रमण निरन्तर चलिरहेको छ। जसकारण दुवै देशको हवाई सेवा समेत प्रभावित बनेको छ।
भारतलाई ‘शत्रु’ भन्दै पाकिस्तान सरकारले थप ऋण मागेको हो। युद्ध बढ्दै जाँदा पाकिस्तानी स्टक बजार ‘क्रयास’ भएको एक्समा उल्लेख छ। पाकिस्तानको आर्थिक अवस्था नाजुक बन्न सक्ने भन्दै सरकारी तवरबाटै अन्तर्राष्ट्रिय साझेदारहरुसँग सहयोग माग गरिएको हो।

पाकिस्तान चरम आर्थिक संकटमा फस्ने अवस्थामा रहँदा आज अन्तर्राष्ट्रिय मुद्रा कोषको बैठक पनि बसिरहेको छ। यसले ऋणमा डुबेको पाकिस्तानलाई थप सहयोग गर्ने कि नगर्ने भन्नेबारे निर्णय पनि गर्नेछ।
सो बैठकमा भारतले पाकिस्तानलाई सहयोग गर्न नहुने पक्षमा अडान राख्नेछ।
पाकिस्तान हालैका वर्षहरुमा उच्च विदेशी ऋण र न्यून विदेशी मुद्रा सञ्चितीको समस्याबाट गुज्रिरहेको छ। उसको भुक्तानी सन्तुलन संकटमासाग पनि मुद्रस्फीति पनि उच्च छ।
पाकिस्तानको बाह्य ऋण २०२४ मा १३० अर्ब डलरभन्दा बढी पुगेको छ। बाह्य ऋणमा सबैभन्दा धेरै हिस्सा चीनको रहेको अनुमान छ।
पाकिस्तानको विदेशी मुद्रा सञ्चिती १५ अर्ब डलरभन्दा बढी छ। यो अब करिब ३ महिनाको आयातका लागि मात्र प्याप्त हुनेछ।
फिचको रिपोर्ट अनुसार मुद्रा सञ्चितीको अवस्था आवशयक्ताको तुलनामा धेरै कम छ। यसले युद्ध लम्बिएको अवस्थामा पाकिस्तानको अर्थतन्त्रमा नै गम्भीर असर पुर्याउनेछ।