दुर्गमबाट ‘डाउनटाउन’मा फेरिएको सहर जहाँ मर्निङ वाकमा ठोकिन्छन् नेता, अर्थशास्त्री, कलाकार र इलिटहरु

उन्नत सापकोटा, सहयोग रञ्जित
२०८० पुष १ गते ०९:०२ | Dec 17, 2023
दुर्गमबाट ‘डाउनटाउन’मा फेरिएको सहर जहाँ मर्निङ वाकमा ठोकिन्छन् नेता, अर्थशास्त्री, कलाकार र इलिटहरु

काठमाडौं। मौसम चिसिए पनि बिहानैदेखि चहलपहल छ। मानिसहरु मर्निङ वाकमा निस्किरहेका छन्। कोही ढुंगा बिछ्याइएको खुला ठाउँमै ओहोरदोहोर गरिरहेका छन् त कोही भञ्ज्याङसम्म उकाली ओराली। मर्निङ वाक गर्नेको लावलस्करमा नेतादेखि कलाकार, उद्यमीदेखि अर्थविद्, अनि विभिन्न पेसासँग जोडिएकाहरु छन्। यो सबै देख्दा लाग्छ कुनै विदेशको डाउनटाउन पार्कको बिहानको दृश्य।

Tata
GBIME
Nepal Life

झुक्किनु पर्दैन यो हो ललितपुर सहर पारिको भैंसेपाटी। बिहानको चिसोमा चिया खाने लहरलाई कफीले विस्थापित गरिसकेको छ यहाँ। कफीको चुस्कीसँगै राजनीतिदेखि अर्थतन्त्रसम्मका विविध आयाममाथि चर्का बहस चलिरहन्छ। त्यसैले क्याफेहरु गुलजार छन्।

प्रकाश सायमिलाई बिहानको यिनै दृश्य निकै रमाइलो लाग्छ। चलचित्र निर्देशकसमेत रहेका उनी भन्छन्, ‘आनन्दले मर्निङ वाक गर्छ पाइन्छ। विविध पेसा र समुदायबीच राम्रो भाइचारा छ। उग्रदेखि नम्र नेता सबै यता छन्। हिँड्दाहिँड्दै सिंगो देशको राजनीति छलफल हुन्छ।’

सैंबुँ भैंसेपाटी आवास क्षेत्र

देशका इलिटहरुको यो ‘डाउनटाउन’ कुनै बेला उपत्यकाकै अनकन्टार मध्येको ठाउँ थियो। ‘देशमा भएका ‘क’ वर्गका बैंकहरु सबैका शाखा यहीँ छ। दुई दर्जन कफी स्टेसन र एक दर्जन मार्ट छन्,’ हाउजिङ व्यवसायी मीनमान श्रेष्ठ भन्छन्। यो डाउनटाउनको केन्द्रीय आकर्षण हो- आवास क्षेत्र गेट नजिकैको स्क्वायर। राति झिलिमिल बत्ती र रेस्टुराँहरुमा देखिने ‘ह्यापनिङ’ले  विदेशको झल्को दिन्छ, ठमेल र झमेललाई बिर्साउँछ।

+++

प्रभावती खोला (नख्खु) पारि पुरानो सहर बुंगमती र खोकना। वारि सम्पन्न सहर पाटन। यी दुई सहरको बीचमा अलिक फराकिलो थली। खोलाभन्दा निकै उचाइका कारण बन्जर ठाउँ। काँठको यो ठाउँ सबैभन्दा नजरअन्दाजमा परेको थियो। पानीको उस्तै हाहाकार। वरपरका बस्तीबाट यहाँका केटालाई छोरी दिन कोही नचाहने। बुंगमतीका मानिस पनि भैंसेपाटीलाई ‘बाइपास’ नै गर्दै हिँड्ने। बस्ती पातलो भएकाले नख्खुबाट उकालो लाग्ने मानिसको संख्या पनि कम। एकलास भएकाले लुटिने भय। त्यसैले बनाएको थियो भैंसेपाटीको अत्यासलाग्दो ‘इमेज’।

२०३६ सालमा एसएलसी सकाएपछि बुंगमतीमा पढाउन जावलाखेलदेखि पुग्थे राजन गुरुङ। नख्खु कट्न उनलाई निकै डर लाग्थ्यो। उकालोसँगै जंगल, ढुंगे बाटो। विद्यालय पुग्न निकै सकस हुन्थ्यो। ‘नख्खुमा पनि सानो पुल थियो। भञ्ज्याङ जान पनि गोरेटो बाटोमात्र। स्कुल पढाउन यहाँबाट साइकल कुदाउन पनि गाह्रो। मकैबारी, खेत अनि ढुंगैढुंगा,’ उनले पुराना दिन सम्झिँदै भने।

कुनै बेला सैंबुँका नामले मात्र चिनिने यस ठाउँ कसरी भैंसेपाटी रह्यो भन्ने रोचक प्रसंग छ। मल्लकालमा भोटबाट आएका तिब्बती (भोटे)लाई यहाँका राजाले खेतीपाती गर्न ठाउँ दिए। त्यसैले पछि यस ठाउँलाई भोटेहरुको खेत (नेपाल भाषामा सें भनेको भोटे, खेत भनेको बुँ) सैंबुँ भनिएको बताउँछन् स्थानीय प्रकाश सायमि। भोटेहरुले खेती गर्न नसकेपछि उनीहरुलाई भैंसी दिइयो। ती भैंसी राख्न उनीहरुले पाटी बनाए। त्यसपछि सो ठाउँ भैंसेपाटी भनेर चिनिन थालेको सायमिको भनाइ छ।

प्रकाश सायमि

इतिहास जति बिर्सन लायक किन नहोस्, अहिले त्यही निर्जर र बन्जर ठाउँ काठमाडौं उपत्यकाकै ‘इलिट’ बस्ती बनेको छ। त्यसैले भैंसेपाटीलाई अहिले हाइप्रोफाइलहरुको मुकाम भन्दा फरक पर्दैन।

+++

२००७ सालमा नख्खुमा कारागार खुल्यो। चलचित्र निर्देशकसमेत रहेका प्रकाश सायमिका अनुसार त्यसपछि अन्य कलकारखाना पनि खुले। विस्तारै भैंसेपाटीमा मानिस बस्न सुरु गरे। ‘तर, पानीको अभाव र बन्जर हुँदा यो ठाउँ लोकप्रिय भएन,’ उनले भने। पछि नख्खु कारागार भैंसेपाटीको हाइटमा सार्ने तयारी सरकारले गर्‍यो। सरकारले स्थानीयको जग्गा अधिग्रहणसमेत गरेको बताउँछन् सिद्धि डंगोल।

‘कारागार खोल्ने भनेर अधिग्रहण गरियो तर कारागार बनेन। अहिले मन्त्री क्‍वाटर बनिरहेको ठाउँ त्यहीबेलाको जग्गा हो,’ उनले भने।

२०४७ सालमा प्रधानमन्त्री हुँदा कृष्णप्रसाद भट्टराईले त्यहाँ कारागार नभइ संसद भवन बनाउने बताएपछि यो ठाउँमा मानिसको ध्यान खिचिएको प्रकाश सायमिको तर्क छ। तर, त्यो योजना पनि हल्लामै सीमित भयो।

आवास  र हिमाल सिमेन्टको संयोग

विकासको मूल फुटाउन विभिन्न प्रयास भए पनि लामो अवधिसम्म भैंसेपाटी निर्जर नै रह्यो। यहाँ आएको परिवर्तनका पछाडि दुई महत्त्वपूर्ण आर्थिक योजना रहे – व्यवस्थित बसोबासका लागि सैंबु आवास एउटा रह्यो। अर्को चाहिँ हिमाल सिमेन्ट कारखाना।

विसं २०२८ मा चोभारमा हिमाल सिमेन्ट कारखाना स्थापना भयो। कारखानाले चोभार आदिनाथको मन्दिरभन्दा तलतिर रहेको ढुंगाखानीको प्रयोग गरिरहेको थियो। खानीबाट ढुंगा निकाल्दा माथिको आदिनाथ र बस्ती दुवै जोखिममा पर्ने भए। सहर बिस्तार हुँदै गएपछि सिमेन्ट फ्याक्ट्री हटाउनुपर्ने लबिङ हुन थाल्यो। पर्यावरणीय मुद्दाले पनि ठाउँ लियो। हिमाल सिमेन्ट कारखानाबाट उडेको धुलो र धुँवाले भैंसेपाटी ढाकिने भएकाले बस्ती विस्तार होइन उजाड भइरहेको थियो।

भैंसेपाटीमा न कारागार बन्यो, न संसद भवन नै। एकपछि अर्को गर्दै सरकारी योजना कागजमै सीमित भए। त्यसपछि राजा वीरेन्द्रले जर्मन सहयोग नियोग (जीआईजेड)लाई भैंसेपाटीमा आवास क्षेत्रको डिजाइन गर्न आग्रह गरको बताउँछन् सायमि। सरकारी पहलमा व्यवस्थित प्लटिङ भयो। तर, मानिसहरु किन्नै आएनन्।

सिमेन्ट कारखानाको धुलोले जग्गा किन्नेलाई लखेटिरह्यो। त्यही लखेट्याइमा परेका थिए जग्गा व्यवसायी मीनमान पनि।

हाउजिङ व्यावसायी मीनमान श्रेष्ठ

काठमाडौं उपत्यका विकास प्राधिकरणले जग्गाका बिक्रीका लागि टेन्डर आह्वान गरेको थियो। मीनमानले त्यतिबेला किन्ने तयारी पनि गरेका थिए। तर, कारखानाकै कारण उनी रोकिए।

‘मैले नै ५०-५० रुपैयाँ तिरेर ६ वटा टेन्डर लिएको थिएँ। ११ मिटर रोडमा ११ लाख रोपनीको टेन्डर थियो। त्यो नि बिकेन। मैले पनि लिँदैछु भनेर साथीहरुसँग कुरा भयो। उनीहरुले त्यहाँ नलिनु भनेर सुझाए,’ मीनमानले त्यतिखेरको अवस्था सम्झिँदै सुनाए। जग्गा किन्ने योजना उनले हापे।  

२०५८ सालमा प्रदूषण फैलाएको ठहर गर्दै हिमाल सिमेन्ट कारखाना बन्द भयो। त्यसपछि मात्रै भैंसेपाटीमा जग्गाको कारोबार हुन थालेको मीनमानलाई याद छ। तर एक-दुई पटक टेन्डरमा जग्गा नबिक्ने समस्या कायमै थियो। सहरमा जनसंख्या बढ्दै गएपछि मानिस नख्खु कटेर फाट्टफुट्ट उक्लने क्रम भने बढिरहेकै थियो।

‘बिस्तारै सहरका व्यापारी गाउँ पस्न थाले। काठमाडौंमा जग्गा बेचेर यहाँ जग्गा किन्न थाले। उता एउटा घर बिक्दा यता दुई तीन सन्तानलाई पुग्ने,’ मीनमानले भने, ‘अहिले त यताको मूल्य उताको भन्दा बढी भयो।’

आवास क्षेत्रभित्र रहेको मुख्यमन्त्री निवास जाने सडक
सातै प्रदेशका मुख्यमन्त्रीका लागि बनाइएको निवास

प्रकाश  सायमि हिमाल सिमेन्ट कारखाना अहिलेसम्म चोभारमै भएको भए भैंसेपाटी अहिलेको जस्तो ‘ह्यापनिङ’ नहुने स्वीकार्छन्।

‘हिमाल सिमेन्ट कारखाना यहाँबाट उठेपछि बस्ती अलि बढ्न थाल्यो। उद्योग यहीँ बसिरहेको भए मान्छे यहाँ बस्दैन थिए,’ उनले भने।

३० वर्षअघि भैंसेपाटीमा जग्गा किन्न दिएको ३०० रुपैयाँ त्यागेर हिँडेका मीनमानले १९ वर्ष फेरि त्यहीँ फर्किएर जग्गा किने। भैंसेपाटी हाइटको आफ्नै कार्यालय भवनभित्र लगानीको योजनासहित हाइराइज अपार्टमेन्टको चित्र झुन्ड्याएका छन् उनले। तीन सय करोड रुपैयाँको लगानीमा दुईवटा ‘हाइराइज बिल्डिङ’ बनाउने योजनामा छ उनको।

‘एउटा विनायक कोलोनीसँगैको हाइटमा। र अर्को भैंसेपाटीमै बनाउने योजना छ। एउटाको १५० करोड गरी ३०० करोडको प्रोजेक्ट रन गर्ने सोचेको छु,’ उनले भने।

घरजग्गा कारोबारसँग जोडिएका उनीजस्तै धेरैलाई व्यावसायिक मुनाफा दिइसकेको छ यस क्षेत्रले। हाल सैंबु भैंसेपाटी क्षेत्रमा सिभिल, विनायक, रियाएबल, संगम, सीजी लगायत दर्जनौं कोलोनी र हाउजिङ संचालनमा छन्। अनि पहिलो आवास क्षेत्र त छँदैछ।  

स्वीस राजदूतको घरसँगैको सडक
स्वीस र इजिप्ट राजदूत निवास अगाडिको चिल्ड्रेन्स पार्क

कुनैबेला देशका विभिन्न ठाउँबाट फुटबल खेल्न मानिस भैंसेपाटी पुग्थे। हाल सो मैदानसँग सातै प्रदेशका मुख्यमन्त्रीलाई बनाइएका आवास छन्। स्थानीय क्लबका युवाहरु यहाँ फुटबल खेल्न पुगिरहन्छन्। साँझको समयमा मैदान वरिपरिको भाइब्स निकै रमाइलो हुन्छ।

अनि बढे रेष्टुरेन्ट र मार्ट

भैंसेपाटी सैंबु आवास क्षेत्रमा २०७२ सालको भूकम्पपछि बस्ती थप तीव्र भएको मीनमान बताउँछन्। काठमाडौं र ललितपुरको कोर क्षेत्र छाडेर धेरै मानिस भैंसेपाटी प्रवेश गरेको उनले देखेका छन्।

‘२०७२ सालको भूकम्पपछि एकदमै पिक भएको ठाउँ हो। २०७३  मा यहाँको जग्गा आनाको १२ लाख पुग्यो। आजको दिनमा आनाको सवादेखि डेढ करोड रुपैयाँ बीचमा छ। यही अवधिमा जम्प भएको हो मूल्य,’ उनले भने।

यहीबीचमा बहालवाला मन्त्रीदेखि नेता, चिकित्सक, बैंकर, कलाकार, सञ्चारकर्मी धेरैको मुकाम बन्यो भैंसेपाटी। स्वीटजरल्याण्ड र इजिप्टका राजूदतको निवास पनि आवासको बीचमै छ। बिहान र साँझको गुलजार दृश्यका पछाडि यिनीहरुकै भूमिका रह्यो।

भैंसेपाटी अहिलेजस्तो ‘हब’ नहुँदा नै यहाँ कफी पसल खोलेका थिए दीपक दुलालले। हाल आवास क्षेत्रभित्रै उनले ग्रेस होटेल समेत संचालन गरिरहेका छन्। यहाँभित्र धेरै दीपकहरु छन् जसले नयाँ सहरलाई भाइब्रेन्ट बनाइरहेका छन्। आवास क्षेत्रभित्रै रेष्टुरेन्ट, क्याफे, जीम संचालित छन्। कोरियन र जापनिज खाना चाख्‍न पुग्नेका लागि पनि यो ‘डेस्टिनेसन’ बनेको छ।

सैंबुँ आवास क्षेत्रमा २०७१ सालमा घर किनेर सरेका राजन गुरुङ किशोरावस्थादेखि नै यस ठाउँसँग परिचित। उनका अनुसार २०५२ सालमा सुरु भएको माओवादी ‘जनयुद्ध’पछि बस्ती भैंसेपाटीतिर सर्न थालेको हो।

कुनैबेला गोरेटो हुँदै बुंगमतीमा पढाउन जाने गुरुङले पनि अहिले आवास क्षेत्रमै रेष्टुरेन्ट खोलेका छन्। भैंसेपाटी कम्प्लेक्सको रुफटपमा संचालनमा रहेको स्काइ पार्क रेष्टुरेन्ट एन्ड क्याफेबाट उपत्यकाको ३६० भ्यु देख्न सकिन्छ।

पाँच वर्षअघि रेष्टुरेन्ट खोलेका हुन् उनले। हाल आवास क्षेत्रमा मात्रै दर्जनौं रेष्टुरेन्ट छ। कोरोना महामारीपछि त उनकै शैली पछ्याउनेहरु टन्नै छन्।

स्काई पार्क रेष्टुरेन्ट
राजन गुरुङ

‘सुरुमा दुई तीनवटा थिए। अहिले रेष्टुरेन्टको च्वाइस धेरै भयो। कम्पिटिसन हाइ हुँदैछ। इन्भेस्टरले डिमान्ड हेर्छ। नचल्ने ठाउँमा कसैले खोल्दैन,’ उनले भैंसेपाटीमा बढ्दै गएको रेष्टुरेन्ट कल्चरबारे सुनाए, ‘यहाँ डिमान्ड छ। भीभीआईपी बस्छन्। बाहिरबाट आउने क्राउड छ। यहाँ नचले कहाँ चल्छ?’

नख्खु उकालोको अलपत्र सडकमा कालोपत्रे भएपछि बिगमार्ट र सेल्सबेरीले दुई-तीन महिनाको अन्तरालमै आउटलेट खोले। गुरुङ चर्चित आउटलेटको आगमनलाई ‘डिमान्ड’ का रुपमा प्रष्ट्याउँछन्। अझ महानगरपालिकाले नख्खुदेखि सडक किनारमा सडक बत्ती राखेपछि राति यो ठाउँ थप जगमगाएको छ।

‘धेरै भएको छैन यो ठाउँ ‘ग्रो’ भएको। यहीँ बसे पनि चाहिने सामान किन्न जावालाखेल कुमारीपाटी जानुपर्थ्यो। ५-६ वर्षमा निकै परिवर्तन भयो। अहिले सबै यहाँ नै छ,’ उनले भने।

आवास क्षेत्र भित्रै नर्सरी, प्री-स्कुल, गोल्ड सलुन, जिम, बज्र ननितास फिटनेस लगायत अन्य जिम छन्। झिर सेकुवा, थकाली खाना पारखीका लागि पनि रेष्टुरेन्ट, लामा बर्गर, कृष्ण पाउरोटी, डल्ले मम, भेगन क्याफे, अचार घर लगायत स्वीट फिक्स जस्ता आइसक्रिम पार्लर यहाँ संचालित छन्। आवास बाहिरको क्षेत्रमा पनि धेरै मार्ट र रेष्टुरेन्ट छन्। आवास क्षेत्र भित्रै मोटर शोरुम समेत संचालनमा आइसकेको छ।

कुनै बेला सिनेमाको स्टुडियो

अहिले व्यवस्थित प्लानिङसँगै बिजनेस हब बन्दै गरेको भैंसेपाटी कुनै बेला नेपाली फिल्म छायांकन हुने प्रसिद्ध स्थल हो। निर्देशक प्रकाश सायमिले ओझेलमा परेको भैंसेपाटीलाई चिनाउन यहाँ फिल्मको सुटिङ सुरु गरेका थिए।

‘मेरो पहिलो फिल्म पृथ्वीको सुटिङ भैंसेपाटीमा गरें। सीमानाको सुटिङ अहिले आवास बनेको ठाउँमा गरेको। त्यो ठाउँ पहिला हिलै हिलो थियो। सहर र गाउँ एकै ठाउँमा भएको। दुर्गमको दृश्य खिच्न पनि यहाँ नै धेरै पटक सुटिङ गरियो,’ उनले भने।

‘हे… मान्छे हुँ मान्छे,’ शंकर फिल्ममा राजेश हमालले छातीमा हात ठोक्दै भनेको यो चर्चित डायलग अहिले पनि चर्चामा रहन्छ। त्यो सिन हेर्नेले अहिलेको भैंसेपाटी त्यही हो भन्दा पत्याउने छैनन्। 

‘ठाउँको केही प्रचार हुन्छ यही बस्ने भनेर कार्यविनायकमा फिल्मको मुहुर्त गरेँ अवतार फिल्मको। राजेश हमालले हे.. भन्न थालेको त्यहीँबाट हो। पहिला सिनमात्र सुटिङ हुन्थ्यो। पछि यहाँ गीत सुटिङ हुन थाल्यो,’ प्रकाशले भने।

‘घुम्न जाउँ घुम्न जाउँ घुम्न धुलिखेल,’ ‘पराई जस्तो देखेर होकी मन रुन्छ धुरुरु,’ ‘उकाली ओराली गरेर आफ्नै गाउँ फर्कें,’ ‘लुकी लुकी चोरी चोरी हेर्थ्यो अनुहारमा,’ ‘बैंसको नौनी तिमी नै हौ नी’ लगायत त्यसबखत नेपाली सिनेमाका दर्जनौं गीत र फिल्म यहाँ नै सुटिङ भए।

‘भैंसेपाटीमा मैले ६/७ वटा फिल्मको सुटिङ गरेँ। पछि यहाँ अरुहरु पनि सुटिङ गर्न आउन थाले। यहाँ फिल्म बनाउनेहरुले यहाँ घर नै बनाए,’ उनले भने।

मुलुकको दुर्गम भेग देखाउन पर्‍यो भने फिल्मकर्मीको नजरमा यही ठाउँ पर्थ्यो। किनकि सहरबाट एक/डेढ किलोमिटरमै दुर्गम गाउँका दृश्य क्यामरामा कैद गर्न सकिन्थ्यो।

तन्किरहेको सहर

मीनमानको विचारमा भैंसेपाटी आवास क्षेत्र बिस्तारै कम्पिल्ट रेष्टुरेन्ट र होटलमा कन्भर्ट भएर जानसक्छ। अनि यहाँको मान्छे फेरि अझ पर छम्पी, बुंगमती र खोकनातिर जान्छन्।

‘ठमेलबाट झमेल (झम्सिखेल)। झमेलबाट भैसेंपाटी आयो। अब तन्किन्छ,’ उनले भने।

जसरी मीनमानले सहर तन्किँदै जाने प्रक्षेपण गरे राजन गुरुङ विकास नरोकिने यथार्थ स्वीकार्छन्। तर यससँगै राजन खोकना र बुंगमती पुरानै सहरका रुपमा रहिरहुन् भन्ने कामना गर्छन्। बिहान हुने मर्निङवाकसँगै कफी गफमा राजन पनि रमाउँछन्। त्यहीँ रमाइरहँदा बुंगमती र खोकनाका किसानले खर्पनमै तरकारी नयाँ सहरमा बेच्‍न ल्याउँदाको दृश्य नटुटोस् ठान्छन्। किनकि उनी सहर र संस्कृतिको कोलाज रुचाउँछन्।