भाटभटेनीको जगसँगै उभिएको सहरको कथा : जहाँ चार/पाँच वर्षमै भयो कायापलट

सहयोग रञ्जित
२०८० मंसिर १२ गते ०९:०७ | Nov 28, 2023
भाटभटेनीको जगसँगै उभिएको सहरको कथा : जहाँ चार/पाँच वर्षमै भयो कायापलट


काठमाडौं। बीस वर्षअघि गणेश कुमार प्रजापति आफ्नो बेकरी व्यवसायलाई विस्तार गर्न नयाँ र फराकिलो ठाउँको खोजीमा थिए। पुरानो थिमिमा २०३७ सालदेखि सुरु भएको व्यवसायलाई उनले कोर क्षेत्रभन्दा बाहिर ल्याउन चाहे। त्यसबेला काठमाडौंको त्रिपुरेश्वरदेखि सूर्य विनायकसम्म ट्रली बस चल्थ्यो।

Tata
GBIME
Nepal Life

थिमिबाट सल्लाघारीको बीचको भागमा कुनै नामाकरण भइसकेको थिएन किनकि त्यहाँ केही थिएन। कुमारको व्यवसाय बिस्तारको जग त्यही ठाउँमा बस्यो जसको नामाकरण पटकपटक भइरह्यो।

खेती अनि राजकुलो बग्ने ठाउँ। एउटै घर नभएकाले त्यहाँ एक्लैदुक्लै हिँड्ने आँट पनि मानिसहरु गर्दैन थिए। कुमारले चाहिँ त्यही डरलाग्ने ठाउँमा आफ्नो कारखाना तयार पारे। आफूसँगै काम गर्ने टिम भएपछि उनको डर दुर भएको थियो।

‘एक्लै त यहाँ कोही पनि हिँड्दैन थिए। लुटिने डर हुन्थ्यो एकान्त भएकाले,’ कुमारले सुनाए, ‘यहाँ जग्गा नकिन्दासम्म थिमिबाट हामी पनि आउँदैन थियौं।’

कुनै पहिचान नभएको यस ठाउँमा फाट्टफुट्ट घर बन्न थाले। त्यही क्रममा भारतका चर्चित ‘कृपालुजी महाराज’का भक्तले सत्सङ्ग गर्ने मुकाम तयार पारे। स्याल कराउने र मानिस डराउने नामविहीन यस ठाउँको त्यसपछि नै हो नाम रहेको – राधे राधे। 

कुमारले जहाँ टहरा हालेर पाउरोटी बनाउँथे‚ त्यस ठाउँको कायाकल्प पूरै फेरिएको छ। टहरा हटेर ६ तल्ले कम्प्लेक्स बनेको छ। उनले त्यसलाई नाम दिएका छन् – प्रजापति कम्प्लेक्स। कपडादेखि रेस्टुरेन्ट र थ्रीडी आर्ट म्युजियमसम्म अटाएको छ प्रजापति कम्प्लेक्समा। त्यसको ग्राउन्ड फ्लोरमा छ लक्की बेकरी। त्यही बेकरी जसलाई उनले पुर्ख्यौली पेसाका रुपमा अहिले पनि चलाइरहेका छन्।

कुमारको टहरोले व्यापारिक कम्प्लेक्समा रुपान्तरित हुनुको कथा भने रोचक छ। २०७७ सालमा यहाँ भाटभटेनीले आफ्नो आउटलेट बिस्तार गर्‍यो। भाटभटेनी सुरु भएसँगै यस ठाउँको नामबाट राधे राधे क्रमशः छायामा पर्दै गएको छ भने उदय भएको छ कुमारजस्ता व्यवसायीहरुको।

‘त्यस्तो ठाउँ, यस्तो बन्छ भन्ने अन्दाज नै थिएन,’ कुमारले भने, ‘भाटभटेनी आएपछि यहाँ कायापलट भयो। माहोल नै बदलियो।’

राधे राधेको भाटभटेनी र १७ तल्ले भवन
भाटभटेनी अगाडिको प्रजापति कम्प्लेक्स

थिमिका कुमार थोरै रैथानेभित्र पर्छन् यहाँ। पाँच आनाका लागि कुल १ लाख २५ हजार रुपैयाँ हालेका नारायण घिमिरे यहाँको फेरिएको रूपबाट चकित छन्।

रामेछापबाट जनकपुर हुँदै फेरि काठमाडौं छिरेका घिमिरेका अनुसार राधे राधेसँगै यस ठाउँको नाम सत्र तल्ले रहन गयो। मूल सडकमा ठडिएर पूरा नभएको सत्र तल्लै भवनलाई नै देखाउँदै गाडी चालक र तिनका सहयोगीले भन्न थाले – सत्र तले।

‘अहिले भाटभटेनी भन्न थालेका छन्,’ घिमिरेले भने।  

कुमार प्रजापतिका अनुसार सुनसान क्षेत्रमा मल्टिप्लेक्ससहितको स्टोर तयार हुन थालेसँगै हो यस क्षेत्रमा जग्गाको भाउ उकालो लाग्न थालेको। जग्गामात्र होइन, यहाँ अग्ला घर बन्ने क्रम पनि बढ्यो र ती घरमा सजिन थाले ब्रान्डेड आउटलेट।

कुमारका छिमेकीका घरमा न्यूमिउ, केलमी, बेसमार्क लगायत ब्रान्डका शोरुम लस्करै छन्। रेष्टुरेन्टदेखि कन्सल्टेन्सी पनि उत्तिकै। गाडीका शोरुमदेखि देशीविदेशी स्वाद पस्किने हस्पिटालिटीको पनि लहर।

‘एउटा चर्चित आउटलेट आउने भनेपछि मनोवैज्ञानिक प्रभाव पनि पर्ने रहेछ,’ घिमिरेले भने, ‘अब धेरै कुरा यहाँ आउँछ भन्ने मानिसमा हुने रहेछ। त्यसको प्रभाव यहाँ प्रष्ट देखिन्छ।’

भाटभटेनीकै छेउमा करिब दुई वर्षदेखि संचालनमा छ रोयल थाई हस्पिटालिटी। थाइ क्युजिनसँगै अन्य परिकारको पारखीका लागि यो ठाउँ नयाँ स्पट बनेको छ भक्तपुरमा। हस्पिटालिटीका कर्पोरेट सेफ गणेश ढकाल अहिले खुलेका नयाँ व्यवसायहरुले पनि भाटभटेनीको ‘ग्रोथ’ मा सहयोग पुर्‍याइरहेको बताउँछन्।

‘भाटभटेनीले हामीलाई र हामीले पनि भाटभटेनीलाई सपोर्ट गरिरहेका छौं। हाम्रोमा काठमाडौंकै धेरै ठाउँबाट ग्राहक आउनुहुन्छ। त्यसैले दुवैले एकअर्काको बिजनेसलाई सहयोग पुगेको छ,’ उनले भने।

कुमार र नारायणले एकदमै छोटो अवधिमा यहाँको कायापलट भएको देखेका छन्। क्युएफएक्सदेखि केएफसीसम्म भाटभटेनीको परिसरमा अटाएका छन् भने बाहिर अरु ब्रान्डले डेरा जमाएका छन्। साँझ त निक्कै गुलजार हुन्छ यो ठाउँ। फाट्टफुट्ट घर र बेकरीपछि चक्रवर्ती हवि एजुकेसन एकेडेमीले नर्सिङ कलेज सुरु गरेको हो यहाँ। त्यसपछि यस ठाउँले सहरी यात्रामा पछि फर्केर हेरेको छैन।

पुरानो सहर नजिकैको जगमग नयाँ सहर

नयाँ थिमि र सल्लाघारीको करिबकरिब बीचैमा पर्ने यो ठाउँ अनपेक्षित हिसाबले किनमेल र मनोरञ्जनको केन्द्र बनेको छ। त्यसको प्रभाव – सप्ताहान्तमा निकै भिडभाड हुन्छ यहाँ। ‘विकएन्डमा मानिसको राम्रो चहलपहल हुन्छ। फिल्म हल खुलेपछि असर राम्रो देखिएको छ। हलमा भिड हुँदा यहाँका रेष्टुरेन्ट पनि भरिन्छन्,’ स्थानीय भुवन प्रजापतिले सुनाए।

चर्चित स्टोर नजिक भएपछि बस्ती बस्नेक्रमले पनि तीव्रता पायो यस क्षेत्रमा। किनमेलका लागि टाढा जानेहरु रोकिएनन् मात्र, अरुतिरबाट यहाँ आउनेहरु थपिए।

‘पछिल्लो ४/५ वर्षमा कायापलट भयो। नत्र हामी ठूलो किनमेल गर्न काठमाडौं जाने हो। सानोतिना किनेमल गर्न थिमि जानु पर्थ्यो,’ कुमारले सुनाए, ‘अब कहीँ जानु पर्दैन।’

लक्की बेकुरीका संचालक गणेश कुमार प्रजापति।

पुरानो सहर थिमि र भक्तपुर नजिकै बदलिँदो सहरको परिभाषा समेट्ने ठाउँ बनेको छ यो स्थान। त्यसो त काठमाडौंका धेरै ठाउँमा यस्तै सहरहरु नबनेका होइनन् तर ‘ह्यापेनिङ’ को मामिलामा यो ठाउँले विशेष स्थान बनाएको छ। र, त्यसको कारण बनेको छ ब्रान्ड बनिसकेको आउटलेट।

‘यस्तो हुन्छ भनेर सोचेकै थिएनौं। घरदेखि रेष्टुरेन्ट, ब्रान्डेड शोरुमदेखि थुप्रै व्यवसाय यही ४/५ वर्षको अवधिमा खुले। भाटभटेनीले यो ठाउँलाई ह्यापेनिङ गर्‍यो,’ नारायणले भने, ‘यो ठाउँ विकास हुनुको अर्को कारण भनेको ब्युरोक्रेसीका टप लेभलका मान्छे यहाँ आए। सचिव, पूर्वसचिव, न्यायाधीश बसे। प्रोफेसरदेखि चिकित्सकको रोजाइमा पर्‍यो।’

यहाँको परिवर्तनको साक्षी नारायण ‘भाइब्रेन्ट’ सहर बन्न समाजको भूमिका महत्त्वपूर्ण हुने बताउँछन्। धेरैखाले पृष्ठभूमिका मानिसहरु भेला हुँदा विकासले गति लिँदो रहेछ भन्ने लाग्छ उनलाई। जसरी ठाउँ परिवर्तन भयो, यहाँका मानिसको जीवनशैलीमा पनि आमूल रुपान्तरण देखेका छन् उनले। किनमेल र मनोरञ्जनमात्र होइन, पेसा र व्यवासायिक शैलीमै परिवर्तन पाएको उनले सुनाए।

‘पहिले बस्ती नभएकाले यहाँ राँगा भैसी ओराल्ने र गोठ चलाउने थिए,’ उनले भने, ‘गोठ यहाँबाट सर्‍यो। यसखाले कारोबार गर्नेले पनि व्यवसायलाई बिस्तार गरे। उनीहरुको आर्थिक उन्नति पनि लोभलाग्दो छ।’

आर्थिक गतिविधिले बनेको भाइब्रेन्ट सहर

भाटभटेनी खुलेपछि यस क्षेत्रमा व्यापार व्यवसाय ह्वात्तै बढेको छ। क्युएफएक्सको ‘फुटफल’ को फाइदा राधे राधे क्षेत्र वरपरका रेष्टुरेन्टले राम्रै उठाएका छन्। शनिबार र शुक्रबार अनि राम्रो फिल्म लागेको समय – व्यावसायिक कारोबारले जगमग बनाउँछ यस क्षेत्रलाई।

‘भाटभटेनी आएपछि वडाको राजस्वमा वृद्धि भएको छ। नयाँ व्यवसाय खोलिएको छ। वडालाई फाइदा पनि भएको छ,’ मध्यपुर थिमि नगरपालिका वडा नम्बर-५ का अध्यक्ष बालकृष्ण श्रेष्ठले भने।

नगरपालिकाका ४/५/६ र ९ नम्बर वडाको केन्द्रजस्तै बनेको छ यस ठाउँ। भक्तपुर नगरपालिका र अन्य छिमेकी नगरपालिका सूर्यविनायक र चाँगुनारायणसँगै काठमाडौं र ललितपुरका ग्राहकलाई समेत अहिले यो ठाउँमा तानेको छ।

यहाँ भाटभटेनीले जग बसाउनुअघि आनाको २३/२४ लाख रुपैयाँ थियो।  ६ लेनको सडकसँगै जोडिएर पनि पछि परेको यो भूभागमा २०६५-६६ सालसम्म आनाको ६ देखि ७ लाखमै जग्गा मिल्थ्यो। स्थानीय व्यवसायीका अनुसार यही लाइनमा आनाको डेढ करोडसम्म कारोबार भयो। भाटभटेनीको लाइन भन्दा भित्री भागमै आनाको ६० देखि ८० लाखमा कारोबार भइरहेको छ।

‘नयाँ घरहरु धेरै बनेका छन्,’ ५ नम्बरका वडा अध्यक्ष श्रेष्ठले भने, ‘त्यससँगै सुविधाको माग पनि धेरै बढेको छ। पार्किङदेखि पानीसम्मका समस्या छन्। त्यसलाई हामी मिलाउँदै छौं।’

सहरसँगै समस्या

यस ठाउँमा बस्ती र बजार बसे पनि हनुमन्ते खोलाको बाढीले सधैं प्रभाव पारिरह्यो। हनुमन्तेको बाढीले घर डुबे। कारखाना जलमग्न भए। २०६१ को बाढीका कयौं दिन मानिसहरु घरभित्रै थुनिए पनि। त्यसपछि स्थानीयहरु डुबान नियन्त्रण गर्न कमिटीनै गठन गरेर लागि परेको नारायण घिमिरे बताउँछन्।

‘हनुमन्ते बाढी रोकथाम करिडोरको नाम दिएर काम सुरु गर्‍यौं। सरकारबाट बजेट आयो। करिडोर बन्यो। अनि बाढीको समस्या कम भयो,’ उनले सुनाए।

भाटभटेनी मध्यपुर थिमि वडा नम्बर ५ मा पर्छ। राधेराधे वडा नम्बर ९ मा पर्छ। नजिकैको कमेरोटार जग्गा एकीकरण आयोजना भने नगरपालिकाको ४, ५ र ६ वडामा विभाजित छ। यी सबैमा बस्ती नयाँ नयाँ बसेका छन्।

नयाँ बस्तीसँगै चुनौतीहरु पनि रहेको बताउँछन् वडा ५ का वडा अध्यक्ष बालकृष्ण श्रेष्ठ। उनले भाटभटेनीसँगै जोडिएको प्लानिङका जग्गामा सडकको दुरावस्थाबारे गुनासो आउने गरेको सुनाए। मुलुकका अरु सहरमा जस्तै ठेकेदारको लापरवाही यस ठाउँले पनि भोगेको छ। त्यसको असर सडक कालोपत्रे बनिसकेको छैन।

‘सडक बनेन भनेर आउनुहुन्छ। बस्ती त बस्यो। हिउँदमा धुलो भयो, बर्खामा हिलो। ठेकेदारलाई पटक पटक बोलाएर भनेका पनि हौं। प्लानिङमा पर्‍यो। ठेकेदारको लापरवाहीले काम हुनसकेको छैन,’ उनले सुनाए।

भाटभटेनीले पछिल्लो समयमा एकाएक रुपान्तरणको उत्प्रेरक बनेजस्तै सुस्त गतिमा कमेरोटार जग्गा एकीकरण आयोजना चल्यो। २०५८/५९ सालबाट सुरु भएको आयोजनामा अझै पनि घर बन्दैछन्।

दुई वर्षमा प्लानिङ सकाउने लक्ष्यसहित सुरु भए पनि त्यो हालसम्म सकिएको छैन। प्लानिङको समस्या समाधान नहुँदा त्यसको असर नयाँ सहरसम्म परेको छ।

वडा नम्बर ६ का  वडाध्यक्ष ज्ञानदास प्रजापतिले भने, ‘सबै काम भइरहेको छ। केही ढिलासुस्तीले काम रोकिएको हो। तर सकाउने गरी हामी अघि बढ्दैछौं।’