साँझ गुल्जार हुने पेप्सीपारिको नयाँ सहर‚ जहाँ कुनै बेला मनोहराको भेलले बनाइदिन्थ्यो बगर

सहयोग रञ्जित
२०८० मंसिर १५ गते ०८:४९ | Dec 1, 2023
साँझ गुल्जार हुने पेप्सीपारिको नयाँ सहर‚ जहाँ कुनै बेला मनोहराको भेलले बनाइदिन्थ्यो बगर


काठमाडौं। एकातिर व्यवस्थित घडेरी, अर्कातिर रेष्टुरेन्टको लस्कर। कतै कारखाना त कतै खेती। काठमाडौंको पेप्सीकोला कटेर भक्तपुरको मनोहरा फाँटमा रहेको दिव्येश्वरी जग्गा एकीकरण आयोजना (प्लानिङ) व्यवस्थित सहर र ‘इन्जोयमेन्टको जक्सन’ बन्न पुगेको छ।

Tata
GBIME
NLIC

बिहान मनोहरा करिडोरमा मर्निङ वाक गर्नेको भीड हुन्छ। साँझ रेष्टुरेन्टमा आउने युवापुस्ताले यो ठाउँ गुलजार हुन्छ। काठमाडौं, ललितपुर र भक्तपुरको मुख्य बस्तीबाट छोटो दुरीमा बन्दै गरेको सहरको विकास अरुतिरभन्दा निकै अलग छ।

भक्तपुरको मध्यपुर थिमि नगरपालिका-२ मा पर्ने प्लानिङ एकाएक रेष्टुरेन्ट हब बनेको हो। जग्गा एकीकरण आयोजनाले नै मूर्त रूप लिन सुरु गरेको छोटो अवधिमा नै यहाँ धेरै कुरा बदलियो। मनोहरा फाँट एकाएक कायापलट हुनुमा दुई प्रकोपको भूमिका रह्यो। पहिलो, २०७२ वैशाखको भूकम्प। सुरक्षित र व्यवस्थित बसोबासतिर मानिस तानिए। अनि यहाँ प्लानिङको काम अघि बढ्यो। दोस्रो, कोरोना महामारी। महामारीबाट मुक्त भएसँगै रमाउने ठाउँ बिस्तार हुने क्रम बढ्यो। र, यहाँ रेष्टुरेन्टहरु खुल्न सुरु भए।

मनोहरा किनारमा मर्निङ वाक गर्दै
दिव्येश्वरी टाउन प्लनिङ

सिलौटोले बसाएको रेष्टुरेन्टको जग

विश्वराज रेग्मीको घर काठमाडौंको पेप्सीकोला।  हरिबहादुर थापा मगर चाहिँ भक्तपुरको मगर गाउँका। कोरोना महामारी अघिसम्म यी दुई अपरिचितले नै हो फाँटमा सिलौटो सेकुवा घर एन्ड पार्टी भेन्यु खोलेको। महामारीको असर कम हुँदै गएसँगै लकडाउन खुल्यो। त्यही बेला मनोहरा किनारमा डुल्दै गर्दा यी दुईको जम्काभेट भयो। र, रेष्टुरेन्टको जग बसाउने निर्णय पनि।

त्यतिबेला टाउन प्लानिङ अन्तर्गतका क्षेत्रमा पर्ने बाटो कालपत्रे भइसकेको थियो। कोरोनामा धेरै समय बाहिर निस्कन नपाएकाहरु बिस्तारै प्लानिङमा हिँडडुल गर्न थाले। त्यहाँ पुगेर टिकटक बनाउनेहरु निकै थिए। त्यही देखेर मगर र रेग्मीले अनुमान गरे – यहाँ रेष्टुरेन्ट चल्न सक्छ।

‘यो ठाउँ अलि उचाइमा छ। रमणीय लाग्यो। रिस्क लिएर काम गरेँ भने पनि भोलि ‘हब’ बन्न सक्छ भनेरै काम गरेको हो,’ रेग्मीले भने। उनलाई लाग्थ्यो मानिस त जसरी नि तानिएर आउँछन्। तर, कतिपयले हतोत्साही नगरेको होइन। ‘केहीले त यस्तो ठाउँमा किन खर्च गरेको समेत भन्न आए,’ रेग्मीले सुरुवाती दिन सम्झिए।

२०७७ साउनबाट संचालनमा आएको यही रेष्टुरेन्टको जग बसेपछि नै हो यहाँ दर्जनौं रेष्टुरेन्टहरु थपिएका। त्यसअघि मध्यपुर थिमि-२ मा पर्ने यस क्षेत्रमा न गतिला रेष्टुरेन्ट थिए न त पार्टी भेन्यु नै।

सिलौटाका संचालक विश्वराज रेग्मी र हरिबहादुर थापा मगर

‘खोलाको छेउ कसैले वास्ता नगरेको ठाउँ। बेलुकी भएपछि हिँड्न डराउने थियो पहिला। यस्तो व्यवस्थित हुन्छ भनेर कसैले कल्पना गरेको थिएन,’ अर्का संचालक मगरले भने।

५ सय ७५ रोपनीमा फैलिएको दिव्येश्वरी प्लानिङमा अहिले १०० वटाभन्दा बढी घर बनिसकेको छ। तिनै घरको वरिपरि दर्जनौं रेष्टुरेन्ट र क्याफे खुलेका छन्। चकटी, अरेन्ज वाउल लन्ज एन्ड बार, पानस, ह्वाइट र्‍याबिट, ससुराली, कोइला, म्याडरिक्स, चिया कटेरो, छानो, चिया हब, माछा हाउस, द चिल हाउस स्पोर्ट्स एन्ड बार, अरेबिका लगायत थुप्रै रेष्टुरेन्ट र क्याफे खुलेका छन् यहाँ। त्यसैले नयाँ पुस्ताका लागि ‘गेट टुगेदर’का लागि अर्को ‘जक्सन’ बनेको छ यो ठाउँ।

भूकम्पपछिको प्लानिङ

अनकन्टार र अस्तव्यस्त। १५/२० वर्ष अघिसम्म मनोहरा खोला पारिको फाँटमा मानिस साँझको समय हिँड्न पनि डराउँथे। खोलाको तटबन्ध थिएन। मनोहरा खोला सधैं मनमौजी। हिउँदमा सुक्खा बगर, बर्खामा धार कताबाट कता पुग्छ पत्तै नहुने। अनि पानीको भेलले तहसनहस हुन्थ्यो फाँट। किसानको पसिना कतिखेर पानी र बालुवामा रुपान्तरण हुने पत्तै नहुने।

बारी र खेत बगर बन्दा साँधसीमा समेत छुट्याउनै कठिन। आफ्नै खेतमा जानसमेत जग्गाधनीले सास्ती ब्यहोर्नुपर्ने। तर, मनोहरा पारि काठमाडौंको सिनामंगलमा भने २०५८ सालमै जग्गा एकीकरण आयोजनाले काम सुरु गरिसकेको। नदी किनारमा तटबन्ध लगाएसँगै काठमाडौंपट्टि बाढीले आतंक मच्चाउन रोक्यो। तर, भक्तपुरतिर भने बाढीले कहर चलिरहने।

जग्गाधनी र मोहीले काठमाडौंमा जस्तै यहाँ पनि प्लानिङ गर्नुपर्ने माग राखे। उनीहरुको माग कसले सुन्ने? त्यतिखेर स्थानीय निकाय जनप्रतिनिधिविहीन भएकाले सरकारले नियुक्त गरेका कर्मचारीले रिस्क किन लिन्थे? त्यसमाथि राजनीतिक खिचातानीले उनीहरुको माग सम्बोधन हुन सकेन।

स्थानीय विष्णुमान साँय् भन्छन्, ‘नजिकै चलिरहेको मनोहरा, कमेरोटार जग्गा एकीकरण आयोजना हामीले देखिरहेका थियौं। हामीले पनि गर्न पायौं भने राम्रो बनाउनुपर्छ भन्ने थियो।’

त्यसो त नेपाल सरकारले यहाँको जग्गा एकीकरणको आयोजना विसं २०६३ मा नै स्वीकृत गरिसकेको थियो। काम रोकिएको थियो त राजनीतिक अस्थिरताले। प्लानिङ ‘प्लानिङ’ मै सीमित रह्यो।

‘६० प्रतिशत ठाउँमा डोजर लगाइसकेका थियौं। सरकारको नेतृत्व गरेकाहरुबाटै जग्गाको काम एक-दुई दिनलाई रोकिदिन भनियो। अनि प्लानिङको काम पछि उठ्नै सकेन,’ साँयले सुनाए।

अवरोधका कारण यहाँका जग्गाधनी र मोहीलाई आफ्नै खेत देख्दा विरक्त लाग्थ्यो। बीचको समथर जग्गालाई पारि खोलाले कटान गर्ने, वारीबाट डाँडाको भेलले त्यही जग्गा पुरिने। खेतमै उब्जाएको अन्न बजारसम्म पुर्‍याउनै सकस। २०७२ को भूकम्पपछि भने यहाँका स्थानीय फेरि एकजुट भए प्लानिङलाई मूर्त रूप दिन।

‘बहत्तर सालमा भूकम्प आयो। आफ्नै जग्गा छ, पैसा छ। तर, बाटो छैन। हुनेले पनि भाडामा बस्नुपर्‍यो। कमसेकम आयोजना भयो भने बाटो बन्छ भन्ने भयो,’ दिव्यश्वरी जग्गा एकीकरण आयोजना उपभोक्ता समितिका अध्यक्षसमेत रहेका साँयले भने, ‘भूकम्पले व्यवस्थित बस्ती चाहिन्छ भनेर पाठ सिकयो। अनि सबैजना एकजुट भएर काम अघि बढायौं।’

दिव्येश्वरी टाउन प्लानिङभित्रको दृश्य
उपभोक्ता समितिका अध्यक्ष साँय्

उपभोक्ता समितिका सचिव रामभक्त थापा पहिला आफ्नै खेतबारीमा जान निकै सास्ती ब्यहोर्नु परेको सुनाउँछन्। अहिले प्लानिङ तयार भएको देख्दा उनलाई सन्तोष महसुस हुन्छ। उनका अनुसार यस आयोजना अरुतिर जस्तो सरकारको बजेटले तयार भएको होइन। स्थानीय जग्गाधनीले जग्गावापत् पाउने रकमको प्रतिशत कटाएर आयोजनाको काम भएको हो।

‘सरकार यहाँ सहजकर्तामात्रै हो। यस जग्गाको जिम्मेवारी लिए पनि नेपाल सरकारले लगानी गरेको छैन। यहीँकै जग्गा धनीबाट निश्चित प्रतिशत कटाएर खर्च भइरहेको छ। विकसित घडेरीदेखि पार्क, सडक सबै जग्गाधनी कै लगानीमा तयार भएको हो,’ उनले भने।

रातको समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल देखिने गरि प्लानिङ भित्रको दृश्य ।

उपत्यका विकास प्राधिकरणले हालसम्म काठमाडौं उपत्यकामा करिब २५ वटा जग्गा एकीकरण आयोजना संचालन गरिसकेको छ। जसमध्ये दिव्येश्वरी प्लानिङ उत्कृष्टमा गणना हुनेगर्छ। जग्गा एकीकरण आयोजनाअन्तर्गत ९० प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ। पानी फिल्ट्रेसन र बगैंचा निर्माण लगायत केही काम भने बाँकी नै छ।

‘लगभग आयोजनाको काम सम्पन्न भइसकेको छ। भौतिक पूर्वाधार निर्माण भइसकेका छन्। सीसीटीभी जडान बाँकी छ। ओपन स्पेसको व्यवस्थापन हुँदैछ,’ दिव्येश्वरी जग्गा एकीकरण आयोजनाका जुनियर इन्जिनियर कुमार पौडेलले भने।

अनौठो हिसाबमा प्लानिङले बढायो आम्दानी

अहिले मनोहरा खोलाको किनारमा जगमगाएको सहर पुग्ने धेरैले भन्छन् – ‘पेप्सीकोला’। पेप्सीको फ्याक्ट्री खुलेपछि पुरानो सिनामंगलबाट पेप्सीकोलामा नाम रुपान्तरण भयो। पेप्सीकोला काठमाडौंमा पर्छ। तर, मनोहरा पारिको प्लटिङलाई पनि पेप्सीकोला भन्नेहरु छन्। 

‘पेप्सीकोला काठमाडौंको ३२ वडामा पर्छ। यो मनहोरा खोला पारि मध्यपुर थिमि वडा २ हो। फरक फरक आयोजना हो। तर गर्ने निकाय एउटै हो,’ स्थानीय रामेश्वर श्रेष्ठले भने। कुनै पहिचान नभएकाले यसलाई पेप्सी नै ठान्नेहरु थिए। तर अब यसले विस्तारै आफ्नो पहिचान बनाउँदै गएको उनको भनाइ छ।

१० वर्षअघिसम्म आफ्नै खेतबारीबाट आय गर्न नसकेका जग्गाधनी र मोहीले अहिले प्लानिङ बनेपछि भने निक्कै फाइदा उठाइरहेका छन्। सचिव थापा स्थानीयले प्लानिङबाट शतप्रतिशत फाइदा उठाउन पाएको दाबी गर्छन्।

‘उद्योग व्यवसाय चल्नु भनेको यहाँका बासिन्दालाई फाइदा हुनु हो। जहाँ आर्थिक क्रियाकलाप धेरै हुन्छ त्यहीँ चहलपहल हुन्छ। चल्ती फिर्ता बढी हुन्छ। यसलाई राम्रै मान्नुपर्छ,’ उनले भने।

अध्यक्ष साँय् किसानले पहिला दु:ख किसानको आयस्तर बढेको सुनाउँछन्। आफ्नै जग्गामा उब्जाएको साग बेच्न नपाउने परिस्थितिबाट सहजै बजार पाउने अवस्था बनेको छ। नभए जग्गा भाडामा दिनसक्ने अवस्था बनेको उनले बताए।

‘पहिले त जग्गा बेचौं भन्दा पनि कसैले किन्दैन थिए। किसानले उब्जाएको बाली बेच्ने ठाउँ पनि थिएन। बिचौलिया हाबी हुन्थे,’ उनले भने, ‘अहिले खेतसम्म नै गाडी पुग्छ। कसैले घर बनाएका छन् त कसैले भाडामा दिएका छन्। प्लानिङले यहाँका किसानलाई माथि उठ्ने मौका दियो।’

हाल प्लानिङमा करिब ७० प्रतिशत नगदेशका किसान र वरपरका स्थानीयको जग्गा छ। बाहिरबाट बसाइँसराइ गरेर आउने करिब ३० प्रतिशत छन्। समुदाय मिश्रित बन्दै जाँदा गाउँले सहरको रूप धारण गरिरहेको छ सबै दृष्टिकोणबाट।

‘अलि उचाइमा छ। एयरपोर्ट देखिने। शान्त ठाउँ र प्रदूषण पनि अन्यत्रजस्तो छैन। मध्यम आयदेखि उच्च आय भएका मान्छेहरु छन्। मिश्रित बस्तीले हब जगायो,’ सिलौटाका रेग्मीले भने।

प्लानिङभित्र  रेष्टुरेन्टको भविष्य !

जग्गा एकीकरण आयोजनाको मुख्य उद्देश्य व्यवस्थित घडेरी विकास गरेर वस्ती विकास गर्नु हो। समुदाय बसोबास गर्नाका लागि न्यूनमत मापदण्डसहितको परिकल्पना गरेर नै प्लानिङ गरिन्छ। दिव्यश्वरीमा भने अहिले व्यवस्थित घडेरी त बनेकै छ, सँगै रेष्टुरेन्टहरु पनि। सोफा कारखानादेखि तेल मिल र अन्य उद्योग पनि यहीँ संचालित छन्। यी सबैले आवास क्षेत्रमा ‘नोइज’ त ल्याउँछ नै। त्यही डर छ रेस्टुरेन्ट चलाउनेहरुसँग।

प्लानिङ भित्रै रहेको द चिल हाउस स्पोर्ट्स एन्ड बारका म्यानेजर सागर ढकाल राति छिट्टै रेष्टुरेन्टहरु बन्द गर्नुपर्दा व्यवसायमा समस्या आउने बताउँछन्। यसबारेमा उनले स्थानीय र प्रशासनसँग समन्वयका लागि पटकपटक संवाद पनि गरिरहेको बताए।

एक वर्ष अघिदेखि चिल हाउस सुरु गरेका उनले भने, ‘दिव्येश्वरी प्लानिङलाई सेकेन्ड ठमेल भनेर चर्चामा ल्यायौं। तर व्यवहारमा हुन सकेको छैन। हब त रातभरी चल्नुपर्छ।’

चिल हाउसका म्यानेजर सागर ढकाल

आयोजनाभित्रै रहेको कारणले राति ९-१० बजे भित्र व्यवसाय बन्द गर्न प्रशासनले नै भन्न थालेको छ। त्यसले रेस्टुराँमा ‘क्रेज’ घट्ने उनले तर्क गरे।

स्थानीय रामेश्वर श्रेष्ठ भने सबैको समन्वयमा यस प्रकारका विषय व्यवस्थापन गर्न सकिनेमा विश्वस्त सुनिए।

‘व्यवस्थित बस्ती भएपछि यहाँ बस्नेहरुले असुविधा भोग्नु भएन। त्यसको लागि व्यवस्थापन गर्न सकिन्छ। सबै मिलेर विकल्प सोच्न सकिन्छ,’ उनले भने। रेष्टुरेन्टकै कारण प्लानिङले पहिचान पाएको बताउँदै ढकालले पनि सबै मिलेर अघि बढ्नुपर्ने बताए।

के आवास क्षेत्रमा रेष्टुरेन्टको भविष्य छ त?

‘मानिसको बस्ती बसेको ठाउँमा सबै कुराको आवश्यकता छ। रेष्टुरेन्ट जाने ट्रेन्ड नि बढ्दो छ। धेरै व्यक्तिले रोजगारी पाएका छन्। जग्गाधनीले भाडा राम्रै पाएका छन्,’  उपभोक्ता समितिका सचिव थापा भन्छन्, ‘नगरपालिकाले कर पाइरहेको छ। ठमेल मात्रै गएर खर्च गर्नपर्छ भन्ने छैन। यहाँका मानिसले पनि कमाउन पाएका छन्।’