
काठमाडौं। सिप्रदी ट्रेडिङ र यात्रीबीचको संयुक्त पहलमा ‘पी२’ अर्थात इलेक्ट्रिक स्कुटर योजनामा निरन्तर काम भइरहेको छ। बूढानीलकण्ठमा इ-स्कुटरलाई आवश्यक पर्ने कम्पोनेन्ट्ससहित ब्याट्री तयार पार्ने काम भइरहेको हो।
बिजुली ‘स्टोरेज’ गर्ने ब्याट्री अहिले यात्रीले इन हाउस रुपमा सेलदेखि प्याकसम्म तयार पारिरहेको छ। सानो सेलदेखि ‘माइटी प्याक’सम्मको काम भइरहेका छन्।
कम्पनीले सेल ल्याएर ब्याट्री प्याक निर्माण गर्न रिसर्च एण्ड डेभलपमेन्ट (आरएण्डडी) टिम खटेको हो। कम्पनीले सेल बाहिरबाट ल्याएर त्यसको प्याक यही निर्माण गरिरहेको छ।
अहिले नेपाली बजारमा दुई पाङ्ग्रे इभीले चार पाङ्ग्रेजस्तै बजार पाउन सकेको छैन। यसैको कारण खोज्न कम्पनीले विभिन्न अध्ययनहरु गरिरहेको यात्री मोटरसाइकलका संस्थापक असिम पाण्डे बताउँछन्।
‘हामीहरुले गरेको अध्ययन अनुसार ब्याट्रीले दिने रेन्ज र यसमा ग्राहकहरुले पाउने वारेन्टीमा समस्यामा देखियो,’ उनले भने, ‘जसले गर्दा हामीहरु आफैले ब्याट्रीको सेल ल्याएर नेपालको भुगोल र नेपालीहरुको आवश्यकता मिट गर्ने गरि ब्याट्री प्याक बनाउन लागि परेका हौं।’
ब्याट्री प्याक बनाउन यात्रीले देशभर सर्वेक्षण गरेर डेटामात्रै संकलन गरेको छैन, बाटाका समस्याहरु पनि टिपोट गरेको छ। त्यसैलाई आधार बनाएर ब्याट्रीको प्याकलाई विकास गर्ने काम भइरहेको हो।

‘हामीले सर्भे गर्दा ग्राउन्ड लेभलमा गएर मार्केटले इभी दुई पाङ्ग्रेमा कुन फ्याक्टरले गर्दा समस्या भइरहेको छ भन्ने परसेप्सन के छ भन्ने कुरा बुझ्ने कोसिस गरेका छौं,’ असिम भन्छन्, ‘त्यही परसेप्सन र इन्जिनियरिङमा भएको समस्यालाई केलाउँदै यस्ता सबै कुरालाई ब्रिज गर्दै ब्याट्रीको विकास गरिरहेका छौं।’
पाण्डेका अनुसार यसका लागि युजर प्रोफाइलिङ गर्ने काम भइरहेको छ। प्रयोगकर्ताले भोगेका समस्याहरुलाई नेपालको भूगोलसँग अध्ययन गरेर समाधानको प्रयास यात्रीले खोजिरहेको छ। अहिले यिनै विषयलाई केन्द्रित गरेर ब्याट्री प्याकको डेभलपमेन्ट, टेस्टिङ र प्रोटोटाइपिङको काम चलिरहेको उनले बताए।
‘नेपालमा नै बनाउने एउटा स्कुटरले समस्या समाधान किन नगर्ने भन्ने धारणलाई यथार्थमा बदल्न खोजिएको हो,’ ब्याट्री सिस्टम इन्जिनियर विकास रेग्मी भन्छन्, ‘अहिले सबै कुरा डेटा ड्रिभन छन्। किनभने सेल कस्तो छान्ने, त्यसको ब्याट्री प्याक कस्तो बनाउने हो भन्ने कुरा सिद्धान्तभन्दा व्यवहारमा फोकस भएर काम गरिरहेका छौं। त्यहीलाई प्रोडक्टमा निकाल्ने हाम्रो फोकस हुन्छ।’
कम्पनीले अहिले संकलन गरेको डेटा अनुसारको सेल ल्याउने गरेको छ। त्यही सेलले कतिसम्मको ‘लाइफसाइकल’ देला? नेपालको भूगोलको वास्तविकतालाई बुझेर कसरी सेलको पर्फर्मेन्स रहला भन्ने बुझ्ने प्रयास भइरहेको छ।
‘जसरी अन्य देशहरुले आफ्नो देशको भुगोल र जनताको आवश्यकता अनुसार स्कुटरहरु बनाउँछन् त्यसैगरी हामीले पनि नेपाली जनताको लागि सोचेर ब्याट्रीको प्याक बनाउन लागेका छौं,’ उनले भने।
तयार भइसकेको ब्याट्री प्याकलाई कसरी स्कुटरमा इन्ट्रिगेट गर्ने भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ। त्यसका लागि यात्रीमा इलेक्ट्रिकल आर्किटेक्चर हेड कृष्ण प्रसाद श्रेष्ठले काम गरिरहेका छन्।

‘ब्याट्रीमा भएको बीएमएसले सबै कन्ट्रोल गर्छ भन्ने धेरै सुनिन्छ। तर, त्योभन्दा अन्य काम गर्ने काम भने आर्किटेक्चरले काम गर्छ, ‘ उनले भने, ‘जस्तै स्कुटरको डिस्प्लेदेखि लाइटिङ सबै सिस्टममा आर्किटेक्चरलले काम गरेको हुन्छ। स्कुटरको सिस्टममा हुने मोटर, कन्ट्रोलर, भीसियुहरु हुन्छ, त्यसलाई लेआउट गर्ने काम हुन्छ। त्यही लेआउटका आधारमा हार्नेस बनाउनेदेखि ब्याट्री प्याकेजिङ हुन्छ।’
८ वर्षसम्म वारेन्टी, पछि यही मर्मत
बजारमा अहिले उपलब्ध धेरै इलेक्ट्रिक स्कुटर तथा बाइकहरुमा ५ वर्षसम्मको मात्रै वारेन्टी देखिन्छ। साथै, मर्मत गर्न सक्ने अवस्थामा कुनै कम्पनीहरु छैनन्।
तर यात्रीले भने ८ वर्षको वारेन्टी दिने गरि ब्याट्री प्याक निर्माण गरिरहेको छ। साथै कम्पनीले सेलहरु यही मर्मत गर्ने वा परिवर्तन गर्ने सबै काम ‘इन-हाउस’ गर्न सक्ने गरि काम गरिरहेको छ।
‘अहिले बजारमा प्राय धेरैजसो दुई देखि ३ वर्षसम्म चल्ने स्कुटरहरु देखिरहेका छौं। तर हामी त्यसलाई ८ वर्षसम्म चल्ने बनाउनको लागि ब्याट्रीको सेल टु प्याकलाई बनाइरहेका छौं। जसमा सेल लेभलदेखिको ब्याट्री प्याक डिजाइन हुन्छ,’ ब्याट्री र चार्जिङ हेड सुजन ताम्राकार भन्छन्, ‘त्यसपछि ब्याट्री प्याक हाम्रो आरएण्डडी अनुसार तयार भइसकेपछि टेस्टिङका लागि इन-हाउसदेखि आउट सोर्सिङमा हामी जान्छौं।’

उनी थप्दै भन्छन्, ‘ब्याट्रीहरू पनि हामी मानिसहरू जस्तै हुन्। उमेर बढ्दै जान्छ। र हामीले जस्तै तिनीहरूले सधैं एकैनासको पावर प्रदान गर्दैनन। त्यसैले हाम्रो कामको एउटा महत्त्वपूर्ण पक्ष भनेको यी सेलहरू समयसँगै कसरी कमजोर हुन्छन् भनेर बुझ्नु र त्यो बुढ्यौली प्रक्रियालाई सुस्त बनाउने उपायहरू खोज्नु हो।’
यसको लागि हजारौं चार्ज र डिस्चार्ज चक्रहरू मार्फत सेलहरूलाई परीक्षण गर्नुपर्न उनी बताउँछन्। कम्पनीले राखेको टेस्टिङ मेसिनले हजारौं किलोमिटरमा सवारी चलाउने तरिकाको नक्कल गर्छ र ब्याट्री प्याकको डिग्रेडेसन कर्भको सही भविष्यवाणी गर्न विभिन्न चार्जिङ मोडहरू (एसी र डीसी) को पनि नक्कल गर्ने ताम्राकार बताउँछन्।
यो सबै अध्ययनले ब्याट्रीलाई ८ वर्षसम्मको वारेन्टी दिने र त्यसको मर्मत पनि यही गर्ने आफ्नो योजना रहेको ताम्राकार बताउँछन्।

गर्मीदेखि चिसोसम्म टिक्ने ब्याट्री नेपालमै
यात्रीले अहिले बनाइरहेको ब्याट्रीलाई नेपालगंजको चर्को गर्मीदेखि मुस्ताङको अत्याधिक चिसो मौसम झेल्न सक्ने गरि बनाइरहेका दाबी गरेको छ। अर्थात नेपालको हरेक भूगोलमा सहजै स्कुटर पुर्याउने यात्रीको अभिप्राय छ।
ताम्राकार भन्छन्, ‘हाम्रा ब्याट्री प्याकहरूले नेपालगञ्जको चर्को गर्मीदेखि मुस्ताङको कठ्याङ्ग्रिने जाडोसम्म सबै मौसम झेल्न सक्छन् भन्ने कुरा सुनिश्चित गर्न हामी विस्तृत थर्मल सिमुलेशन र वास्तविक संसारमा हुने कठिन परीक्षणहरू गर्छौं।’
उनले थप भने, ‘ हाम्रो ब्याट्री इन्जिनियरिङले उत्कृष्ट डीसी फास्ट चार्जिङ क्षमता प्रदान गरेर एक कदम अगाडि बढेको छ। जसले हाम्रा ब्याट्री प्याकहरूलाई छिटो चार्ज गर्न सक्षम बनाउँछ र तपाईंको विद्युतीय सवारी साधनको यात्रालाई अझ सहज बनाउँछ!’

ब्याट्री म्यानेजमेन्ट सिस्टमले कसरी काम गर्छ?
ब्याट्री सेल्स एउटा डमी जस्तै हुन्छ। तर त्यसलाई चलाउने भनेको ब्याट्री म्यानेजमेन्ट सिस्टम (बीएमएस) ले हो। बिएमएसले सेलहरुलाई कन्ट्रोल गर्ने, मोनिटरिङ गर्ने, सेलमा भएको पावर कसरी पठाउने, रिचार्ज गर्ने, प्रोडक्टिभ बनाउने कामह गर्छ।
यसलाई ब्याट्री प्याकभित्र नै ‘इनकर्पोरेट’ गरेर राखिएको हुन्छ। यसले ब्याट्रीलाई ‘ब्यालेन्स’मा राख्ने काम पनि गर्छ।
‘भौतिक परीक्षणहरू मात्र पर्याप्त छैनन्। हामी ब्याट्री व्यवस्थापन प्रणाली (बीएमएस) को मुटुसम्म पुग्छौं। यो ब्याट्रीको मस्तिष्क हो, जसले यसलाई अत्यधिक तापक्रम, अत्यधिक चार्ज र अन्य जोखिमहरूबाट लगातार निगरानी र सुरक्षा गर्छ, ‘ब्याट्री सिस्टम इन्जिनियर विकास रेग्मी भन्छन्, ‘एक उत्कृष्ट बीएमएस केवल संरक्षक मात्र होइन – यो ब्याट्रीको क्षमतालाई अधिकतम बनाउने र तपाईंलाई हरेक किलोमिटरको अधिकतम दायरा दिने रहस्य हो।’

बिएमएसलाई केवल एक अभिभावकको रूपमा हेर्नु पर्याप्त नहुने उनको तर्क छ।
‘यो त ब्याट्रीको कार्यक्षमतालाई उत्कृष्ट बनाउने र हरेक किलोमिटरमा अधिकतम दूरी तय गराउने महत्त्वपूर्ण कडी हो। यो केवल विद्युतीय सवारी साधनको कुरा मात्र होइन, यो त गतिशीलताको भविष्य हो, विशेष गरी नेपाल जस्तो भूबनोट भएको ठाउँका लागि जहाँ टिकाउ र विश्वासिलो यातायातको खाँचो रहेको छ,’ उनले भने।
यात्रीका संस्थापक असिम पाण्डेका अनुसार यात्रीले केवल ब्याट्री बनाउने काम गरिरहेको छैन नेपालमा विद्युतीय दुई-पाङ्ग्रे सवारी साधनको ब्याट्री प्रविधिको भविष्यसमेत कोर्ने प्रयास गरिरहेको छ।