कुनै बेला दरबारका लागि ढुंगा ल्याउन रोपवे चलेको हलचोक अर्थात् भीरमाथि बसेको नयाँ सहर

सहयोग रञ्जित
२०८० मंसिर १९ गते ०८:५१ | Dec 5, 2023
कुनै बेला दरबारका लागि ढुंगा ल्याउन रोपवे चलेको हलचोक अर्थात् भीरमाथि बसेको नयाँ सहर


काठमाडौं। सहर बनाउने ढुंगा खानीका लागि ख्याति कमाएको राजधानीको पश्चिमी गाउँ इचंगुनारायण। राणाकालमा दरबार बनाउन हलचोकदेखि लैनचौरसम्म करिब ४ किलोमिटरको रोपवे नै निर्माण गरिएको थियो। हलचोकको डाँडाबाट स्वयम्भू पछाडि हुँदै सोह्रखुट्टे र त्यहाँबाट लैनचौरसम्म रोपवेबाट तयारी अवस्थाको ढुंगा पठाइन्थ्यो।

Tata
GBIME
NLIC

यो त्यतिखेरको अवस्था हो जतिखेर नागार्जुन डाँडामुनि र स्वयम्भू पारिको फाँटमा फाट्टफुट्ट मात्रै घर थिए। अलि माथि आकाश भैरव मन्दिर रहेको हलचोकमा भने पुतुवार समुदायका कुल ५२ घर थियो।

इतिहासकार डा. त्रिरत्न मानन्धर भन्छन्, ‘हलचोक र इचंगु जाने बीचमा रोपवे थियो। स्वयम्भू पछाडिबाट सोह्रखुट्टे, गलकोपाखा हुँदै लैनचौरमा स्टेसन थियो। हरेक ५००-६०० मिटरमा टावर बनाइएको थियो। हलचोकबाट ठूलो ढुंगा रोपवेमा राखेर लैनचौर पठाइन्थ्यो।’

ढुंगाखानीको संचालन राणा शासन सकिएपछि पनि निरन्तर चल्यो। पछि ढुंगा सकिँदै जाँदा खानीको अस्तित्व अलप हुन थाल्यो। 

त्रिरत्न सम्झन्छन्, ‘बिजुलीबाट चल्ने रोपवे रोकिँदा हामी हेर्न झुम्मिन्थ्यौं। २०२५ सालसम्म रोपवे चलेको मलाइ याद छ।’

हलचोकको आकाशदेवी (सिंगल ट्री) बाट देखिएको काठमाडौंको दृश्य

स्थानीय सागर पुतुवारका अनुसार अहिले सशस्त्र प्रहरी बलको मुख्यालय रहेको क्षेत्रमा पहिला नेपाल कन्स्ट्रक्सन कम्पनी लिमिटेड (एनसीसीएल) को कार्यालय थियो। त्यहाँ ढुंगाका चिप्स र अलकत्रा तयार गरिन्थ्यो। त्यहीँबाटै काठमाडौं उपत्यकामा हुने विकास र पूर्वाधार निर्माणका लागि चाहिने ढुंगागिट्टीहरु पठाइन्थ्यो। विकासका लागि निजी क्षेत्रलाई प्रवर्धन गर्ने सरकारी नीतिसँगै एनसीसीएल संकटतिर धकेलियो। र, सरकारले कम्पनी बन्द नै गर्ने निर्णय गर्‍यो।

‘स्वयम्भूबाट यहाँ आउन सजिलो थिएन। गोरेटो बाटो थियो। ढुंगाखानीमा दिनभर काम हुन्थ्यो। डाँडाबाट ढुंगा फुटाएर फाँटमा लगेर मेसिनमा हालेर अलकत्रा र चिप्स बनाइन्थ्यो,’ सागरले भने।

अहिले स्वयम्भू पारिको फाँट घरैघरले भरिएका छन्। भीरमाथिको हलचोकमा काठमाडौंको दृश्य हेर्न मानिसको घुइँचो लाग्छ। पुतुवार समुदाय बस्ने थलोमा विभिन्न समुदायको बसोबास छ। डाँडामा रेष्टुरेन्ट र रिसोर्ट खोल्ने क्रम बढ्दो छ।

भूकम्पपछि बढेको बस्ती

भीरमाथिको गोरेटो बाटो हुँदै सहर (काठमाडौं) आवतजावत गर्ने सागर पुतुवारले आफ्नै ठाउँ नयाँ सहर बन्दै गरेको प्रत्यक्ष देखेका छन्। २०५२ साल फागुन १ गते तत्कालीन नेकपा माओवादीले सशस्त्र द्वन्द्व सुरु भएपछि धान फल्ने खेतमा घर ठडिने क्रम बढ्यो।

‘बीस वर्ष अघिसम्म मुनि फाँटमा घर नै थिएन। माथि डाँडामा पनि फाटफुट्ट। सबैतिर खेती नै हुन्थ्यो। द्वन्द्वकालमा बिस्तारै बाहिरबाट मानिसहरु यहाँ आउन सुरु गरे। अनि बस्ती बस्न सुरु भयो,’ उनले भने।

सशस्त्र प्रहरीको मुख्यालयदेखि माथि नारायणगाँउसम्मको क्षेत्र नागार्जुन नगरपालिका वडा ३ मा पर्छ। जामाचो डाँडासँग यो वडाको सीमाना जोडिएको छ। वडा नम्बर ३ का सदस्य जीवन पुतुवार द्वन्द्वकालसँगै पछिल्लो १० वर्षको अवधिमा यस क्षेत्रमा बस्ती घना बनेको सुनाउँछन्।

२०७८ को जनगणना अनुसार नागार्जुन नगरपालिकामामात्रै १० वर्षमा ४० हजारभन्दा बढी जनसंख्या बढेको छ। यहाँको जनसंख्या वृद्धि दर काठमाडौंका १० नगरपालिकामध्ये तेस्रो सबैभन्दा धेरै हो। जनगणना अनुसार यहाँको जनसंख्या वृद्धिदर ५.१६ रहेको छ। २०७२ सालको भूकम्पपछि हलचोक क्षेत्रमा बसाइसराईसँगै धेरै घर बनेको वडासदस्य जीवन बताउँछन्।

‘भूकम्पपछि यहाँ निकै तीव्र गतिमा घरहरु बन्न सुरु भए। त्यही हिसाबमा जनसंख्या पनि वृद्धि भइरहेको छ,’ उनले भने।

पहिला पुतुवार समुदायको ५२ घरसँगै अन्य समुदायको थौरै संख्यामा घर रहेको हलचोक पर्ने वडा ३ मा मात्रै ७०० बढी घर छन्। करिब २० हजार मानिस यो वडामा बस्छन्। हलचोकसँगै सिनेमा हल, डिपार्टमेन्ट स्टोर र विकसित घडेरीहरु बन्न थालेका छन्।

सिंगल ट्रीले जगमगाएको ठाउँ

अहिलेको नयाँ पुस्तालाई नयाँ नयाँ ठाउँ ‘एक्सप्लोर’ गर्न खुबै रुचि छ। कोरोनाकालमा घरभित्रै थुनिएका उनीहरु लकडाउन खुकुलो भएसँगै काठमाडौं वरिपरिका नयाँ-नयाँ ठाउँ पुग्न थाले। त्यही क्रममा चर्चामा आयो हलचोकको ‘सिंगल ट्री’ पनि।

हाल ‘सिंगल ट्री’ भनेर चिनिए पनि यो ठाउँको वास्तविक नाम हो – आकाशदेवी थान। हलचोक पनि अपभ्रंश भएर भनिन थालेको हो। नेपालभाषामा यो ठाउँलाई ‘होलचो’ भनिन्छ। यहीबाट इन्द्रजात्रामा प्रदर्शनी गर्न आकाश भैरव (सव: भक्कु) लाई ‘काठमाडौं’ ल्याइन्छ। यो नाच हलचोकका स्थानीय पुतुवार समुदायले निकाल्ने गर्छन्। 

यहाँकै आकाशभैरव मन्दिरभन्दा माथि उकालोमा ठूलो एउटा रुख मुनि आकाशदेवीको मन्दिर छ। स्थानीयमाझ यो ठाउँ परिचित भए पनि कोरोनापछि नै यहाँ धेरै मानिसको ‘फ्लो’ बढेको हो।

आकाशदेवी
आकाशदेवीसँगै बनेको सिंगल ट्री रेष्टुरेन्ट

वडासदस्य जीवन भन्छन्, ‘पहिला आकाशदेवी भनेर चिनिन्थ्यो। पछि मानिसहरु आउन थालेपछि सिंगल ट्री चल्न थाल्यो। त्यसपछि व्यवसायीहरु थपिने क्रम बढ्यो। अनि स्वीङ संचालन भएपछि यहाँ चहलपहल बढ्यो।’

यस ठाउँ अझ धेरै त्यतिखेरबाट चर्चामा आयो जब यहाँ स्वीङसँगै स्काई वाक संचालन भयो। युवा पुस्ताका लागि ‘ह्याङआउट’को नयाँ गन्तव्य बन्यो सिंगल ट्री। अनि विस्तारै यहाँ रेष्टुरेन्ट र रिसोर्टहरु खुल्न थाले। अहिले पनि भीरमा नयाँ नयाँ रेष्टुरेन्ट र रिसोर्ट खोल्ने तयारी छ। सहर पश्चिमतिर तन्किने क्रम जारी रह्यो।

हाल आकाशदेवी मन्दिर वरिपरि बनेका स्वीङ र स्काई ब्रिजले हलचोकलाई अलग पहिचान दिएको छ। यहाँबाट काठमाडौंको रमणीय दृश्य हेर्न सकिने भएकाले बिदाका दिन चर्कै भिड लाग्छ। यहाँ काठमाडौंको ‘नाइट भ्यु’ हेर्न पुग्नेहरु पनि उत्तिकै छन्।

 ‘आकाशदेवी थानमा नेपालको विभिन्न जिल्लाबाट र भारतबाटै पूजा आउँथ्यो। त्यति हुँदा पनि यस ठाउँले त्यति चर्चा पाएन। तर‚ पछिल्लो केही वर्षदेखि भने चर्चामा आउन थाल्यो,’ सागरले भने।

हलचोकमा रेष्टुरेन्ट खोलेजस्तै स्वयम्भू पारिको अर्को डाँडा चखडोलमा पनि रेष्टुरेन्ट तँछाड मछाड गर्दै खुलेका छन्। मंकी टेम्पल, मुन रक रेष्टुरेन्ट, सिटी लाइट यहाँ चलेका नाम हुन्। वारि र पारिका डाँडा राति संचालित रेष्टुरेन्टको झिलिमिली बत्तीले जगमग हुन्छ।

सिंगल ट्रीसँगै संचालनमा रहेको स्काइ ब्रिज र स्वीङ

चर्चामा रहेको सिंगल ट्रीसँगै क्याफे दी सिंगल ट्री रेष्टुरेन्ट संचालन गरिरहेका राज खनाल भन्छन्, ‘यो ठाउँ मलाइ निकै मन पर्‍यो। डाँडाबाट देखिने काठमाडौंको दृश्यले धेरैलाई लोभ्याउँछ। यहाँ बिजनेस राम्रो हुन्छ भनेर हात हालेँ।’

उनले सिंगल ट्रीमा रेष्टुरेन्ट संचालन गरेको करिब ५ महिना भयो। त्यसअघि अरुले नै यहाँ रेष्टुरेन्ट संचालन गरेका थिए। काठमाडौंको ठमेलमा लिटल बुद्ध र फ्याट डक ग्रील एन्ड वाइन रेष्टुरेन्ट पनि संचालन गरिरहेका उनले अहिले भने हलचोकमा रेष्टुरेन्टसँगै बस्न मिल्ने कोठा बनाउने योजना बनाएका छन्।

‘सम्भावना भएको ठाउँ हो। त्यसैले चार पाँचवटा लक्जरी रुम बनाउने सोचिरहेको छु,’ उनले भने। हाल सिंगल ट्रीमा डिलक्स स्वीङ, स्काई ग्लास ब्रिज स्विङ, सिंगल स्वीङ र इलेक्ट्रिक स्विङ संचालनमा छन्।

सिंगल ट्रीले युवापुस्तालाई आकर्षण जति गरेको छ उचाइमा रहेको हलचोकका अन्य ठाउँमा पनि अहिले रेष्टुरेन्ट कल्चर विकास भइरहेको छ। पछिल्लो समय ट्रपिकल रेष्ट, स्काईलाइन रेष्टुरेन्ट एन्ड बार, हिमालयन क्वीन बी रिसोर्ट आदि संचालनमा छन्। काठमाडौंको दृश्य हेर्नै रमाउन विकेन्डमा यहाँ मानिसहरुको घुइँचो लाग्ने गरेको छ।

स्काइलाइन रेष्टुरेन्ट
ट्रपिकल रेष्ट

‘अहिले बिदाको दिन यहाँ भिड लाग्छ। जसले गर्दा स्थानीय पसललाई समेत फाइदा भएको छ,’ स्थानीय सुमन निरौलाले भने।

काठमाडौंमा नयाँ सहर जति बनिरहेका छन् त्यहाँ व्यवस्थित योजनासहितको घडेरी नहुँदा पूर्वाधारको समस्या छ। हलचोक क्षेत्रमा पनि सडक नबन्दा लामो समयसम्म स्थानीयलाई सास्ती भोग्नु परेको छ। सम्भावना देखेर रेष्टुरेन्ट खोलेकाहरु पनि सडक नबन्दा मार परेको बताउँछन्।

राज भन्छन्, ‘पहिला निकै क्राउड हुन्थ्यो। मन्दीले व्यापारमा प्रभाव परेको त छँदैछ सडकका कारण पनि मानिस आउने कम छ।’

स्थानीय पनि बस्ती बढेसँगै सडकसँगै अन्य पूर्वाधार बनाउन नगरपालिकाले ध्यान दिनुपर्ने बताइरहेका छन्। विस्तारै रेष्टुरेन्ट खुलेसँगै बढेको मानिसको आवतजावतलाई निरन्तर बनाउन यहाँ साइक्लिङ, हाइकिङ लगायत थप आकर्षणका केन्द्र बनाउन सकिने राज बताउँछन्।

यहाँ पूर्वाधार विकासकाे कामले गति लिएकाे छ। त्यसैले पनि व्यवसाय गर्न चाहनेकाे आकर्षण बढेकाे हाे। वडासदस्य जीवन पुतुवार भन्छन्, ‘बस्ती बढेसँगै विकास पनि हुँदैछ। पहिला गोरेटो र हिलाम्मे बाटो हुँदै स्वयम्भूबाट हलचोक पुग्नुपर्थ्यो। अहिले भने बाटोलाई चौडा गरेर पिच र ढलान गर्ने काम भइरहेको छ। बढ्दो जनसंख्याको मागलाई सम्बोधन गर्दै चारवटा खानेपानी आयोजना संचालन भइरहेका छन्। पूर्वाधारलाई थप व्यवस्थित बनाउने हाम्रो प्रयास छ।’

इतिहासकार त्रिरत्न मानन्धरका अनुसार २०५०-५५ सालसम्म रोपवेका अवशेषहरु काठमाडौंमा थिए। पछि ती हटाइए। अहिलेको तन्किएको सहरको बीचमा रोपवे जसरी गायब भयो त्यसरी नै यस क्षेत्रले काँचुली फेर्‍यो। यहाँको भूगोल रुपान्तरित भएको देखेकाहरु भन्ने गर्छन – पछि यो ठाउँ कस्तो होला अन्दाज गर्न सकिन्न।