
काठमाडौं। सोसल मिडियामा निकै भाइरल भयो एउटा रेस्टुरेन्ट – ठेट। इन्फ्लुएन्सरहरु पुगेर यहाँबाट काठमाडौंको भ्यु देखाउँदै खानाको बखान गरेपछि धेरैमा कौतुहलता जाग्नु स्वाभाविक थियो। सबैभन्दा अग्लो स्थानमा रुफ टप रेस्टुरेन्टबाट सहरदेखि हिमालसम्म सबै देखिने। अझ रोचक चाहिँ यो त्यस्तो स्थानमा छ जहाँ कुनै बेला काठमाडौंकै दोस्रो विमानस्थल थियो। र, उड्थे पिलाटस अनि हेलिकप्टरहरु।
न कुनै चर्चित गन्तव्य न त पायक पर्ने बाटो नै। यसपटक फैलिँदो सहरको यस शृंखलामा कलंकीभन्दा पश्चिम-उत्तरमा आएको रुपान्तरणको व्याख्या गर्दैछौं।
स्युचाटार घना बस्तीबीच विरानो सहर। परिवार र साथीसँग रमाइलो गर्न राम्रो रेष्टुरेन्ट खोज्दै त्यहाँका मानिस ठमेल र झम्सिखेल पुग्ने। नजिकै रेस्टुराँ कल्चर फैलिँदै गर्दा यो हाइटमा शंकर भट्ट र साधुराम गौतमले पनि संचालनमा ल्याए ‘ठेट’।
आक्रामक सोसल मिडिया प्रचारप्रसारका कारण छोटै समयमा खानाका पारखीबीच रेष्टुरेन्टको नाम स्थापित भयो। मुख्य सहरमा रेष्टुरेन्टका लागि भौंतारिने पुस्तालाई ठाउँ र रेष्टुरेन्ट दुवै चिनाउने फुड भ्लगरलाई बोलाएर उनीहरुले प्रमोसन गर्न लगाए। एकै भिडियोमा ४० लाख भ्युज !
सिंगो उपत्यकाको दृश्य देखिने। स्वयम्भूलाई फरक एंगलबाट हेर्न सकिने। त्यसमाथि ठेट परिकारको स्वाद दिने वाचा। मानिसहरु तानिन थाले।

नेपाल विद्युत प्राधिकरणको प्रसारण निर्देशनालय भवन अगाडिको ६ तल्ले भवनमा दुईवटा ब्याङ्कवेटसहित खोलिएको ‘ठेट’ले स्युचाटारमा रेष्टुरेन्टको जग बसाउँदैछ। ठेटको छतबाट हेर्दा पूर्वतिर बगैंचादेखि कभर्ड हलसम्म फैलिएको भूभाग देखिन्छ। देखिएको भूभाग कुनै बेला विमानस्थलको रन-वे थियो।
कुनै बेलाको रन-वे थियो भन्दा धेरैले अचम्म नै मान्छन्। स्वाभाविक पनि हो – स्युचाटारको विमानस्थल इतिहासका पानामा सीमित भइसकेको छ। त्यो इतिहास जुन धेरै थोरैलाई मात्र याद होला।
‘मानिसहरु गाइने चरो आयो भन्दै हेर्न जान्थे। २०२२ सालदेखि २०२७ सालसम्म विमानस्थल संचालनमा रह्यो,’ स्थानीय समाजसेवी दामोदार गौतमले तत्कालीन अवस्थालाई सम्झिँदै सुनाए।
उनका अनुसार काठमाडौंको यो दोस्रो विमानस्थल रणनीतिक हिसाबको थियो। राजा महेन्द्रले स्थानीयको जग्गा अधिग्रहण गरेर एयरपोर्टका लागि अनुमति दिएका थिए। विमानस्थलमा अध्यागमन थिएन। अमेरिकीले संचालनमा ल्याएका साना विमान यहाँ ल्याण्ड हुन्थे। हेलिकप्टरहरु पनि उडिरहन्थे यहीँबाट।

कांग्रेसका नेता समेत रहेका गौतमका अनुसार विमानस्थलको प्रयोग खम्पा विद्रोहका लागि प्रयोगमा ल्याइएको थियो। ‘यहाँबाट खम्पा विद्रोहीहरुलाई चाहिने बन्दुक हेलिकप्टरमा डाँडा डाँडासम्म पुर्याउने गरेको आरोप लागेको थियो,’ गौतमले भने, ‘विमानस्थल पूरै अमेरिकाको नियन्त्रणमा थियो। सरकारले यहाँ के भइरहेको छ वास्ता गर्दैन थियो।’
रणनीतिक उद्देश्यले सुरु भएको विमानस्थललाई लिएर चीनले आपत्ती जनाउनु अस्वाभाविक थिएन। अमेरिकाले खम्पा विद्रोहीलाई प्रवर्द्धन गरिरहँदा चीन भने कसरी निस्तेज पार्न सकिन्छ भन्ने प्रयासमा थियो।
‘नेपालबाट अमेरिकाले प्रत्यक्षरूपमा चीनविरुद्ध हतियार सप्लाइ गरिरहेको थियो। यसबारे चीनलाई अवगत नहुने कुरै भएन। उसले विमानस्थल बन्द गर्न दबाब दियो। २०२७ सालमा बन्द भयो,’ गौतमले भने।
नेपाली सेनाका अवकाशप्राप्त ब्रिगेडियर जनरल प्रेमसिंह बस्न्यातले एउटा लेखमा नेपालको भूमि प्रयोग गरेर काठमाडौंमा रहेको अमेरिकी मिसनले चीनविरुद्ध खम्पाहरुलाई सहयोग गरेको उल्लेख गरेका छन्। ‘सानो एयरक्राफ्टको प्रयोग गरेर मुस्ताङमा खम्पाहरुका लागि अमेरिकाले हतियार र खाद्यान्न ‘एयर ड्रप’ गर्ने गरेका थिए’ उनले लेखेका छन्।


विमानस्थल संचालन रोकिएपछि स्युचाटारमै तत्कालीन पंचायत सरकारले ‘एम्बेसडर कोलोनी’ बनाउने भन्दै फेरि जग्गा अधिग्रहण गर्ने निर्णय गर्यो। त्यसविरुद्धमा स्थानीयबासी आन्दोलनमा उत्रिए। त्यही आन्दोलनको नेतृत्व गरेका थिए गौतमले। सरकारबाट जनतामा जग्गा फिर्ता ल्याउन उनी जेल पनि परे। नेपाल विद्यार्थी संघमा शेरबहादुर देउवाका समकक्षी हुन् गौतम। त्यसैले उनी पञ्चायतविरुद्ध ज्यान फालेर लागेका थिए।
‘पंचायतविरुद्ध आन्दोलनमा उत्रिएका थियौं। म अन्डरग्राउन्ड बसेँ। धेरैजनालाई समातेर थुने पनि,’ उनले सम्झिँदै भने, ‘काठमाडौंमा भारत, बेलायत र अमेरिकाको आफ्नै जग्गा थियो। त्यसैले अरु राजदूतावासलाई हामी जग्गा दिन तयार छैनौं भनेर पत्राचार गर्यौं। विरोधबीच उनीहरुले पनि त्यहाँ जान्नौं भने। पछि त्यो योजना तुहियो।’
स्थानीयको असहयोगका कारण राजा महेन्द्र असन्तुष्ट थिए। त्यही भएर रनवेकै छेउमा तत्कालिन सरकारले नेपाल विद्युत प्राधिकरणको स्टेसन बनायो। काठमाडौंले १८ घण्टासम्म ब्यहोरेको लोडसेडिङको साक्षी र लक्ष्मी पूजाको दिन सबैभन्दा धेरै विद्युत खपतको रेकर्ड हुने ठाउँ बन्यो प्राधिकरणको यही ग्रीड भवन।

२०४६ सालमा बहुदलीय प्रजातन्त्र पुनर्बहाली भएपछि रनवे यातायात कार्यालयको ‘डम्पिङ साइट’ बन्यो। बुलडोजर, स्काभेटर लगायतका कबाडी थन्काइए त्यहाँ। नजिकै दुईचार घर, बाँकी खाली खेतबारी भएकाले लामो समय यो ठाउँ उजाड नै देखियो। काठमाडौं छिर्ने पश्चिमी वायुको मूल हिस्सा यहीबाट आउने भएकाले पानी चाहिँ हत्तपत्त नपर्ने। त्यसैले खेतीपाती पनि औसत मात्रै हुन्थ्यो।
तर, २०५२ सालदेखि सुरु भएको नेकपा माओवादीको ‘जनयुद्ध’ले यहाँ बस्ती बस्ने क्रम बढ्दै गयो।
‘पंचायतकालसम्म त्यति घर थिएनन्। खेतीयोग्य जमिन थियो,’ गौतमले भने, ‘२०५२ सालपछि यहाँ घर बढे। काठमाडौंभर त्यसको असर थियो, स्युचाटारमा पनि पर्यो। २०५५ सालसम्म यहाँका स्थानीयले धेरै जग्गा बेचे। जहाँ जग्गा बेचियो, त्यहाँ घर बन्न सुरु भयो।’

कुनै बेला विमानस्थल र राजदूत कोलोनी नै बन्ने योजनासाथ जग्गा अधिग्रहण भएको स्युचाटार हाल नागार्जुन नगरपालिका वडा नम्बर १० मा पर्छ। वडाध्यक्ष सुन्दरबहादुर केसीका अनुसार यस क्षेत्रमा दुई चरणमा गरेर बस्ती बढेको हो।
‘२०५२ साल र २०६२/६३ साल गरि यहाँ दुई पटकको अन्तरालमा बस्ती बढ्न सुरु भयो। अहिले करिब १४ सयभन्दा धेरै घर छन् यहाँ,’ उनले भने।
२०७२ सालको भूकम्पपछि यहाँका पुराना घर भत्किए, नयाँ घर बने। कोरोना महामारीपछि पनि सहरका मानिस यतितिर मोडिए। नेविसंघको राजनीति गर्दा गौतम ढिलो भयो भने साथीभाइकै डेरातिर बस्थे, यहाँ पुग्न असहज थियो। तर, अहिले पहिलेको गाउँ ‘गाउँ’ रहेन।

सहरको कोलाहल छिचोल्न तन्किएको सहर
लामो समय क्यान्टिन अनि ब्याङ्कवेट सर्भिसमा लागेका शंकर भट्ट २०५८ सालमा स्युचाटार आएका हुन्। त्यसबेलासम्म खेतैखेत थियो वरपर। स्युचाटारमा आएर क्याटरिङ सुरु गर्दा स्थानीयल अचम्म मानेका थिए। भट्ट भने यो ठाउँको कायापल्ट हुन्छ भन्नेमा ढुक्क थिए।
‘यस ठाउँमा म जस्ताले त घडेरी जोड्ने भएँ भने कुनै दिन सहर बन्छ भन्ने विश्वास थियो,’ भट्टले भने, ‘त्यस बेला बबरमहलमा ५ लाख आनामा जग्गा मिल्थ्यो। यहाँ रोपनीको १० लाखमा पाइने। आज उताजस्तै महँगो छ यहाँ।’
सहरको कोलाहल र उकुसमुकुस छिचोल्न मानिस काठ क्षेत्रमा सर्दै गरेको उनको बुझाइ छ।
‘सहरका प्राइम लोकेसनबाट मानिस बाहिर आइसके। त्यहाँ खुलापन छैन। उकुसमुकस भइसक्यो,’ उनले भने, ‘सहरभित्र जग्गा टन्न हुँदैन। यहाँ मानिस आउन थालेपछि जग्गाको भाऊ पनि बढ्यो। यहीँका मानिसले जग्गा जमिन बेचेर नयाँ घर बनाउन पनि थाले।’

स्युचाटारको सालिक चोकदेखि ५/७ किलोमिटर परसम्मै तन्किसकेको छ बस्ती। थपिएको सहरमा उनले साधुराम गौतमसँग मिलेर ‘ठेट’ खोलेका हुन्। उनको रेष्टुरेन्टमा केही सुन्न र बोल्न नसक्ने फरक क्षमता भएकासहित ५० जनाले रोजगारी पाएका छन्।
‘ब्रान्ड बनाउन स्थायी ठाउँ चाहिन्छ। धेरै ठाउँ हेरेँ। तर यो कसैले नपत्याएको ठाउँमा नै आएर रेष्टुरेन्ट खोल्ने निर्णय गरेँ,’ उनले भने।

रेष्टुरेन्टमा उनका पार्टनर रहेका साधुराम गौतम ‘रिस्क’ लिएर यहाँ रेष्टुरेन्ट चलाएको बताउँछन्। स्युचाटारका रैथाने उनी ३० वर्षअघिबाट यहाँ जग्गाको कारोबार हुन थालेको बताउँछन्।
‘अठ्ठाइस वर्षअघि उहाँ (शंकर)ले खोलेको पार्टी प्यालेस चल्ला भन्ने हामीले नै सोचेका थिएनौं। यहाँको पेसा नै खेती थियो। अहिले यस्तो बन्ला भनेर आशा त कसैको थिएन,’ साधुरामले भने।


नजिकै कलंकी चोक, त्यहाँबाट माथि स्विटजरल्यान्ड पार्क, कालुपाँडेको समाधी। त्यहाँसम्मै फैलिएको छ बस्ती र व्यवसायहरु। रेस्टुराँहरु खुल्नेक्रम जारी छ। कुनै बेला खेतीका लागि भाडा लिनेहरु अहिले पलायन भइसकेका छन् यस क्षेत्रबाट। खेतीबाट उनीहरु असफल नै रहे। त्यसैले नयाँखाले व्यवसायमा मानिसहरु खिचिएका छन्। र‚ कतै व्यवस्थित त कतै अव्यवस्थित पारामै सहर तन्किएको छ।
दामोदर गौतमलाई जसरी सहरीकरण भयो चित्त बुझेको छैन। व्यवस्थापनमा जतासुकै चुकेको सुनाउँछन् उनी। उनलाई त्यसो लाग्नु स्वभाविक पनि हो। किनकि सरकारले अधिग्रहण गरेको जनताको जग्गा फिर्ता गराउन ज्यान फालेर लागेका थिए।
यता नयाँ पुस्तालाई भने स्युचाटार ‘तारैतार’ भएकोमा असन्तुष्टि छ सब स्टेसनका कारण। एयरपोर्ट त गयो गयो, एम्बेसडर कोलनी बनेको भए आज स्युचाटार कस्तो हुन्थ्यो? लाजिम्पाट या झम्सिखेल? युवापुस्तामा यस्तै ‘हाइपोथेटिक’ प्रश्न ज्युँदै छ। तर, यहाँ तन्किएको सहरले जस्तो रुप लिएको छ, त्यसले लजिम्पाट या झम्सिखेलकै स्वरुप बन्न त दिँदैन नै। ठेटजस्ता रेस्टुराँले लाजिम्पाट र झम्सिखेलतिर आकर्षित युवालाई त्यतै अल्मल्याउने सम्भावना छ।