- अमर बडुवाल/बिजमाण्डू
काठमाडौं । राजधानीमा सार्वजनिक सवारी साधनमा माइक्रोबस विस्थापित गरेर ठूला सवारी साधन चलाउने बहस सुरु भइरहेको छ । यो बहसको एउटै कारण हो साना सवारी साधनले कम यात्रु बोक्छन् र ट्राफिक जाम पनि बढी गराउँछन् ।
साना सवारी साधनप्रतिको यो आम धारणा हो । तर यो वाहेकपनि साना सवारी साधन चलाउँदा मुलुकले धेरै पेट्रोलियम पदार्थ खपत गरिरहेको छ जसले उर्जाका लागि थप रकम विदेशिएको छ । २०६३ सालमा वैज्ञानिक भाडादर कार्यान्वयनमा ल्याउनुअघि अनुसन्धान गरेका पुल्चोक इन्जिनियरिङ क्याम्पस मेकानीकल विभागका प्रध्यापक रामचन्द्र सापकोटाका अनुसार साना गाडीले कम यात्रु बोक्ने र इन्धनको खपत बढी हुँदा मुलुकबाट पेट्रोलियम पदार्थका लागि ठूलो रकम बाहिरिएको छ ।
उनका अनुसार काठमाडौं उपत्यकाको चक्रपथ वरपर पूरानो वसपार्क देखि जान आउन बढीमा २० किलोमिटरको दूरी पर्छ । यो दुरीमा एक पटक गाडी ओहोर/दोहोर गर्दा माइक्रोबसलार्इ चार लिटर तेल आवश्यक पर्छ ।
माइक्रोबसले एक पल्टमा २० जना यात्रु ओसार्ने क्षमता हुन्छ । सापकोटाका अनुसार त्यही दूरीमा ७० यात्रु ओसार्ने बसले पाँच लिटर मात्रै तेल खपत गर्छ । यो आधारमा ठूला बसले आर्थिक रुपमा पनि मुलुकलार्इ फाइदा पुर्याउँछ ।उपत्यका र आसपासमा चल्ने २० हजार सवारी साधन मध्ये १० हजार सवारी साधन २० सिट भन्दा कम क्षमताका छन् । वाँकी सवारी साधन ३५ देखि ४० सिट क्षमताका छन् ।
साझा यातायातका केही बस भने ५४ सिट क्षमता सम्मका छन् । किर्तिपूर बाट पूरानो बसपार्क हुदै किर्तिपूर पुग्न सानो गाडीले १५/२० यात्रु बोक्न ४ लिटर तेल खान्छ भने ठूलो गाडीले ३५/४० यात्रु बोक्न ५ लिटर तेल खान्छ । यसरी २० किलोमिटरको बाटोमा झण्डै दोब्बर यात्रु बोक्न जम्मा १ लिटर तेलमात्रै बढी खर्च हुन्छ ।
गाडीको सिट क्षमता | एक पटकमा लाग्ने तेल | एक दिनमा गर्ने यात्रा | जम्मा लाग्ने तेल | घटिमा बोक्न सक्ने यात्रु संख्या |
१५/२० | ४ लीटर | ५ पटक | २० लिटर | १०० जना |
३५/४० | ५ लीटर | ५ पटक | २५ लिटर | २०० जना |
एक पटक ओहोर दोहोर गर्दा ट्राफिक जाममा खेर जाने ईन्धन र समय
जाम हुँदा लाग्ने तेल | जाम नहुँदा लाग्ने तेल | खेर गएको ईन्धन | जाममा लाग्ने समय | जाम नहुँदा लाग्ने समय | खेर जाने समय |
५ लिटर | ४ लिटर | १ लिटर | ३ घण्टा | १ घण्टा ३० मिनेछ | १ घण्टा ३० मिनेट |
दैनिक २० हजार सवारीसाधनले ५ पटक मात्रै यात्रा गर्दा पनि प्रत्येक पल्ट १ लिटर तेल खेर जादा १ लाख लिटर तेल दिनहु ट्राफिक जाममा खेर गैरहेको छ ।
पूरानो बसपार्क बाट १० किलोमिटर दुरीमा पर्ने मुख्य ठाउँहरु
ठाउँ | सतुङगल | बौद्ध | बुढनिलकण्ठ | किर्तिपूर | पेप्सीकोला | हात्तिवन |
दुरी | ९.१ | ७.५ | ९.५ | ९.३ | ७.८ | ८.८ |
ठाउँ | कौशलटार | टोखा | चोभार | कपन | धापासी | रामकोट |
दुरी | ९.१ | ८.५ | ७.६ | ६.५ | ६.४ | ७.८ |
यातायात व्यवस्था कार्यालयको तथ्यांक हेर्ने हो भने बाग्मति अञ्चलमा २ लाख २० हजार चार पांग्रे र सो भन्दा ठूला सवारी साधन छन् भने ७ लाख भन्दा बढी मोटरसाईकलहरु पनि छन् ।
प्राध्यापक सापकोटा राजधानीको सार्वजनिक यातायातको समस्या कम गर्न तीन कुरामा ध्यान दिन जरुरी ठान्छन । एक, ठूला यातायातका साधन थप्नु पर्छ । बाटोको स्तर उन्नती गर्दै साना यातायतका साधन लाई विस्तारै हटाउनुपर्छ । ट्राफिक ब्यवस्थापन प्रभावकारी बनाउँदै ईलोक्ट्रोनिक सवारी साधनलाई बढावा दिन सकेमा मुलुकले समेत फाइदा पाउने उनले बताए ।