गभर्नेन्स मुद्दाले आइसिआइसिआइ बैंककी सिइओ चन्दा कोचरको छुट्टी लम्बियो, वक्क्षी सिओओ

बिजमाण्डू
२०७५ असार ५ गते १०:३६ | Jun 19, 2018

 
मुम्बइ। भारतीय निजी क्षेत्रको सबैभन्दा ठूलो बैंक आइसिआइसिआइकी प्रमुख कार्यकारी अधिकृत चन्दा कोचरको छुट्टी लम्बिने भएको छ। बैंकले भिडियोकोन मुद्दामाथि भइरहेको आन्तरिक जाँचले पूर्णता नपाएसम्म कोचरको छुट्टी लम्बिने जनाएको छ। बैंकले कोचरको काम हेर्ने गरी प्रमुख सञ्चालन अधिकृतमा सन्दिप वक्क्षीलाई नियुक्त गरेको छ।
 
वक्क्षी आइसिआइसिआइ प्रुडेन्सियल लाइफ इन्स्योरेन्सका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत हुन्। उनले मंगलबारबाट प्रमुख सञ्चालन अधिकृतको जिम्मेवारी वहन गर्ने छन्। बैंकले संस्थागत सुशासन र कर्पोरेट स्ट्यान्डर्डका कारण कोचरलाई छुट्टीमा पठाउने निर्णय भएको जनाएको छ। बैंकले मे ३० गतेबाट आन्तरिक जाँच गरिरहेको छ।
 
अब वक्क्षीले बैंकको सबै काम हेर्ने छन्। उनलाई सञ्चालक समितिका कार्यकारी निर्देशक र कार्यकारी ब्यवस्थापनले रिपोर्ट गर्ने छन्। वक्क्षीले चन्दा कोचरलाई रिपोर्ट गर्ने छन्। कोचर अहिले पनि बैंककी प्रमुख कार्यकारी अधिकृत र प्रबन्ध निर्देशक हुन्। 
 
अहिलेसम्म बैंकको बोर्डले कोचरको पक्ष लिँदै आएको छ। बोर्डले उनी बिरुद्धका सबै आरोपहरु गलत भन्दै उनको समर्थन गर्दै आएको छ। सन् २०१२ मा भिडियोकोन ग्रुपलाई बैंकले ३२५० करोड भारतीय रुपैयाँ ऋण दिएको थियो। यसमध्ये भिडियोकोनले २८१० करोड रुपैयाँ फिर्ता गरेन जसलाई बैकले सन् २०१७ मा नन पर्फर्मिङ एसेट (एनपीए) घोषणा  गरिसकेको छ।

Tata
GBIME
Nepal Life