एयरबस-३३०को प्रुभिङ फ्लाइटमा श्रीलंकाको प्राविधिक रहने, प्रुभिङ फ्लाइट साउन पहिलो साता

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७५ असार २९ गते १४:०६ | Jul 13, 2018

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल वायुसेवा निगमको एयरबस ३३०को प्रुभिङ फ्लाइटका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले श्रीलंकाबाट इन्स्पेक्सन  अफिसर ल्याउने भएको छ।

निगमका अनुसार प्रुभिङ फ्लाइट साउनको पहिलो साता काठमाडौँ-दिल्ली उडान गर्नेछ।प्राधिकरणले  हवाई सुरक्षालाई प्राथमिकता दिँदै श्रीलंकाबाट 'इन्स्पेक्सन अफिसर' ल्याउन लागेको जनाएको छ। नेपालमा एयरबस- ३३०को लागि इन्स्पेक्सन अफिसर नभएकोले श्रीलंकाबाट ल्याउन लागेको प्राधिकरणका उप-महानिर्देशक राजन पोखरेलले भने।

कोअपरेटिभ डेभलोपमेन्ट अफ अपरेशनल सेफ्टी एण्ड कन्टिन्यूइङ एयर वर्दिनेस प्रोग्राम- साउथ एसिया(कोस्क्याप-एसए) लाई अनुरोध गरेर तत्कालका लागि श्रीलंकाबाट फ्लाइट इन्सपेक्टर झिकाउन लागिएको पोखरेलले जानकारी दिए। उनका अनुसार निकट भविष्यमा प्राधिकरणले एयरबस ३३० इन्स्पेक्सन गर्ने जनशक्ति समेत तयार पार्नेछ।

हाल जहाज सर्टिफिकेसन प्रकृयामा रहेको पोखरेलले बताए।यो वाहेक मर्मत सम्भार र संचालन व्यवस्था सम्वन्धी अध्ययन भइरहेको उनले बताए।
असार १४ गते फ्रान्सको टुलुसबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको नयाँ जहाज नागरिक उड्डयन प्राधिकरणमा उडान अनुमति पत्र (एओसी ) लिने प्रक्रियामा रहेको निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले बताए।'प्रुभिङ फ्लाइट यात्रु विना उडान गरिनेछ। रजिष्ट्रेशनका लागि दुर्इ साता लाग्नेछ' निगमका प्रवक्ता श्रेष्ठले भने।

निगमसँग हाल तीनजना विदेशी पाइलट कार्यरत छन्। यो जहाजबाट पहिलो चरणमा दुबर्इ /दोहा उडान गर्ने निगमले जनाएको छ।निगमको नयाँ जहाजले जापान र दक्षिण कोरिया उडान सुरु गर्नेछ। आउँदो सेप्टेम्बरबाट निगमको नयाँ वाइडबडी जहाजले जापानको नारिता विमानस्थलमा साताको तीनवटा उडान भर्ने निगमले बताएको छ।