नाफा बुक गर्न खोज्दा बजारको गति रोकियो, दुई दिनमा ३४ अंकले झर्यो, कारोबार रकम घट्यो

बिजमाण्डू
२०७६ असोज ५ गते १५:३७ | Sep 22, 2019
नाफा बुक गर्न खोज्दा बजारको गति रोकियो, दुई दिनमा ३४ अंकले झर्यो, कारोबार रकम घट्यो

Tata
GBIME
Nepal Life

काठमाडौं। अर्थमन्त्रीको अभिव्यक्तिले ५० अंकले सुधार भएको शेयर बजारमा लगानीकर्ताले छिट्टै नाफा बुक गर्न खोज्दा बजार सुधार हुन सकेन। दुई दिनमै ५० अंकले बढेको बजारमा पछिल्लो दुई दिनमा ३४ अंकले घटेको छ। 

बजारप्रति लगानीकर्ताको मनोविज्ञान बढ्न नसक्दा बढेको नाफा बुक गर्न खोज्दा शेयर आपूर्ती बढेको हो। आइतबार शेयर बजार १६.०५ अंकले घटेर ११३९.२५ अंकमा रोकिएको हो। बैंकिङ तरलता अभाव गत वर्षको भन्दा पनि चर्किने देखिएपछि बजारलाई थप धक्का पुर्याएको हो। 

अन्यको सूचक बाहेक सम्पुर्ण सूचक ओरालो झरेका छन्। सूचक ओरालो झरेपछि कारोबार रकम पनि २२ करोड ६९ लाख रुपैयाँमा सिमित भएको छ। सूचक सुधार हुने वित्तीकै लगानी बढाउने र सूचक ओरालो झर्ने वित्तीकै लगानी नगर्ने ट्रेण्ड बढेको हो। 

सबैभन्दा धेरै अंकले सुधार भएको शिवम सिमेन्टमा नाफा बुक गर्ने हाबी हुँदा कारोबार रकम सबैभन्दा धेरै एक करोड ८० लाख रुपैयाँको कारोबार भएको छ। त्यस्तै गण्डकी विकास बैंकको संस्थापक शेयर मात्रै एक करोड ६५ लाख रुपैयाँको कारोबार भएको छ। 

सबैभन्दा धेरै वेस्ट फाइनान्सको शेयर मूल्य ४ प्रतिशतले सुधार भएको छ भने रिलायन्स फाइनान्सको ८.३३ प्रतिशतले घटेको छ। आइतबार १८ कम्पनीको शेयर मूल्य बढ्दा १३१ कम्पनीको भने घटेको छ। अघिल्लो दुई करोबार दिनमा अधिकाम्स कम्पनीको शेयर मूल्य बढेको थियो। बढेका कम्पनीहरुमा लगानीकर्ताहरुले नाफा बुक गर्न खोज्दा शेयर मूल्य थप घटेको हो। 

दोस्रो बजारलाई प्रत्यक्ष असर पुर्याउने बैंक व्याजदर घट्ने संकेत नदेखिदा बजार सुधार हुन नसकेको हो। बजार लगातार ओरालो झरेपछि लगानीकर्ता अर्थमन्त्री गुहार्न पुगेका थिए। लगानीकर्ताहरुले अनुरोध सँगै अर्थमन्त्रीले बजार प्रति सकारात्मक अभिव्यक्ती दिए पनि यसले दुई दिन भन्दा काम गरेन। 

नजिकिदै गरेको दशै खर्च जोहो गर्ने क्रममा रहेका लगानीकर्ताहरुले शेयर बिक्री गर्न खोजिरहेका छन्। दुई दिन ५० अंकले सुधार भएको बजारबाटै पैसा जोहो गर्न खोज्दा बजार थप ओरालो झरेको हो।