कम्पनी मोडलमा संचालनमा आएका ठूला बस संकटमा, कुनै बन्द, कुनैलाई बैंकको किस्ता तिर्न समेत मुस्किल

दिनेश खड्का/बिजमाण्डू
२०७६ भदौ २६ गते १५:४० | Sep 12, 2019
कम्पनी मोडलमा संचालनमा आएका ठूला बस संकटमा, कुनै बन्द, कुनैलाई बैंकको किस्ता तिर्न समेत मुस्किल


Tata
GBIME
Nepal Life

काठमाडौं।०७० सालमा साझा यातायातको पुर्नजन्म भयो।साझा यातायातको उपत्यकामा पुर्नजन्मसँगै सार्वजनिक यातायातमा युटर्न समेत भयो।साना(माइक्रोबस)बाट आजित भएका उपभोक्ताका लागि साझाको ठूलो बस आकर्षित गर्यो।

साझाले ठूला बस संचालनमा ल्याएसँगै निजी कम्पनीहरु दर्ता भए।र, ठूला सुविधासम्पन्न बसहरु भित्र्याउन थाले। तत्कालीन अर्थमन्त्री डा.रामशरण महतले कम्पनी मोडलमा दर्ता भएर ४० सीटभन्दा माथिका बस चलाउनेलाई ८० प्रतिशत राजश्व छुट दिने नीतिगत निर्णयले ठूला बस संचालनको बहारनै आयो। यो निर्णयसँगै साना मिनीबस र माइक्रोको दबदबा हट्दै गयो।

रङगीविरङगी फराकिला ठूला/ठूला विभिन्न सुविधाहरु भएका बसहरु चल्न थाले। निजी कम्पनीहरु दर्ता हुने र बस ल्याउने लहर नै चल्यो। महानगर, सिटी मेट्रो, ओरेन्ज, बाबा गोकर्णेश्वर, मयूर, मध्य उपत्यका नगरबस लगायतका कम्पनीहरुले ठूला बस भित्र्याएर संचालनमा ल्याए। सामान्य नीतिगत सुधारले पनि ठूलो परिवर्तन ल्याउँछ भन्ने सफल उदाहरण समेत बन्यो।

उपत्यकाभित्रका सिमित रुटमा बाहेक बसहरु संचालन गर्न इजाजत नै पाईदैन थियो। झण्डै २५ बर्षेदेखि सार्वजनिक यातायातको क्षेत्रमा सिन्डिकेटधारी व्यवसायीहरुको राज थियो। लाखौ रुपैया यातायात संघ/ समितिमा बुझाएपछि मात्रै रुट इजाजत पाईन्थ्यो। कम्पनी दर्ता भएर ठूला बस भित्रन थालेपछि सरकारले सिन्डिकेट तोड्ने योजना बनायो।

यातायात व्यवस्था विभागले ०७४ साल चैत १८ गते यातायात व्यवस्थापन कार्यविधी निर्देशिका संशोधन गर्दै सार्वजनिक यातायातको क्षेत्रमा रहेको सिन्डिकेट हटाउने निर्णय गर्यो। निर्णय मात्रै गरेन मयुर यातायातलाई पहिलो पटक उपत्यका बाहिर कोटेश्वरपूर्वको रुट इजाजत दियो।यो निर्णयको विरुद्धमा यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघनै हड्तालमा उत्रियो।तर कम्पनीका बस निर्वाध रुपमा संचालनमा रहे।सिन्डिकेट कायम गरेका व्यवसायीले सधै झुकाउने सरकार यो पल्ट भने आफै झुक्न बाध्य भए।

 यातयात व्यवस्था विभागले पनि एकै दिन साझा,ओरेन्ज,महानगर,दुप्चेश्वर लगायतका कम्पनीलाई कोटेश्वर पूर्व धुलिखेल बनेपामा गाडी संचालनका लागि रुट इजाजत दियो। विभागले कम्पनीमा दर्ता भएर प्रक्रिया पुरा गरे एकैदिनमा जुनसुकै रुट पाईने सर्कुलर जारी गर्यो। अहिले धेरै यातायात समिति कम्पनीमा आइसकेका छन्।

रुट इजाजतका लागि लाखौंको चलखेल बन्द भएको छ। सिन्डिकेट हटाउन महत्वपूर्ण भूमिका खेलेका र काठमाडौं उपत्यकाको सार्वजनिक यातायातमा गेमचेन्जर बनेका कम्पनी भने विस्तारै हराउन थालेका छन्।दुई वर्ष अघि संचालनमा आएका कतिपय कम्पनी बन्द भएका छन् भने कतिपय घाटामा गएपछि संचालकनै फेरिएका छन्।

साझा यातायात निरन्तर घाटामा

सार्वजनिक यातायातमा गेम चेन्जर बनेको साझा यातायाता निरन्तर घाटामा चलिरहेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार आर्थिक वर्ष २०७४/०७५ मा साझालाई एक करोड ७८ लाख रुपैयाँ घाटा भएको छ। अघिल्लो बर्ष १ करोड ८२ लाख रुपैयाँ थियो। कम्पनीले ०७४/०७५ मा १३ करोड ५४ लाख रुपैयाँ आम्दानी गरेको छ भने यहि अवधीमा १५ करोड रुपैयाँ कुल खर्च गरेको छ।

साझाले आफ्नो हातामा रहेको जग्गा र बसमा रहेको विज्ञानपन बोर्डबाट मासिक करिव १९ लाख रुपैयाँ आम्दानी गर्छ। यो आम्दानी पनि नभएको भए घाटा अझै बढी हुन्थ्यो। सित्तैमा पार्किङस्थल र पेट्रोल पम्म साझाको स्वामित्वमा छ।यी पूर्वाधारबाट अतिरिक्त आम्दानी गर्दै आएको छ।

महानगरभित्रका अधिक व्यस्त रुटहरुमा साझाले बस संचालन गर्छ। खाली कहिल्यै हिड्नुपर्दैन भरिभराउ यात्रु हुन्छन्।पीक आवरमा खचाखच यात्रु हुन्छन्। ठूला बस भएका कारण अन्य बस भन्दा तुलनात्मक रुपमा संचालन खर्च पनि कम छ।सरकारको अनुदानमा बस किनेकोले ऋणको व्याज तिर्नुपर्दैन्। साझा यातायातका कार्यकारी संचालक भूषण तुलाधारले सेवामा सम्झौता नगरि सेवा दिँदा घाटामा गएको बताउँछन्। बृद्ध ,अपाङगता भएका व्यक्तिसँग भाडा नलिने कारणले बस घाटामा गएको उनको तर्क छ।

साझाको ७१ ठुला बस संचालनमा छन्। बाग्लुङ सम्म दुईवटा रात्री बस संचालनमा छ। बाँकी बसहरु उपत्यकाका तीन जिल्लाका विभिन्न रुटहरुमा संचालनमा छन्। घाटामा रहेको साझालाई सरकारले बर्षेनी पैसा दिदै आएको छ।

मयुर यातायात

मयुर यातायातलाई कोटेश्वर पूर्वको रुट इजाजत दिएर सिन्डिकेट तोड्ने निर्णय विभागले दिएको थियो। सुरुमा मयुर यातायातको सेवा आक्रामक थियो। एक बर्षमै एक हजार बस संचालन गर्ने घोषणा यो कम्पनीले गरेको थियो।

यति मात्रै होइन लुम्विनी र पोखरामा विद्युतीय बस  चलाउने कम्पनीले योजना प्रस्तुत गरेको थियो। चक्रपथमा एयरकण्डिसनसहितको सुविधा सम्पन्न बस संचालनको योजना पनि सार्वजनिक गरेको थियो।तर अहिले यो बस नियमित रुपमा संचालन भएको छैन।कम्पनीले पेट्रोल पम्पको उधारो समेत तिर्न नसकेपछि गाडीनै कब्जामा समेत पर्यो।

आखिर किन समस्यामा पर्यो यो कम्पनी?कम्पनी मोडलमा संचालनमा आएका यो बसमा धेरै साझेदार थिए।तर केही साझेदारले पनि बसबाट आएको आम्दानी आफूखुशी चलाए।सामूहिक लगानीमा संचालनमा रहेको कम्पनीमा आफूखुशी पैसा चलाएपछि नोक्सानीमा गएको एक संचालकले बताए।बैंकले बैंकको ऋण समेत नियमित तिर्न सकेको छैन।

कम्पनीका अध्यक्ष मोहन श्रेष्ठले आन्तरिक कारणले समस्या आएको स्वीकार गर्छन्।उनले धेरै समस्या समाधान भएको र कम्पनीले सेवालाई चुस्त बनाउने दाबी गरे।

बाबा गोकर्णेश्वर विभाजित

१० बर्ष देखि साना निलो माईक्रोबसको एकाधिकार तोडेको बाबा गोकर्णेश्वर यातायात दुई वटा कम्पनीमा विभाजन भइसकेको छ। सो कम्पनीबाट छुटेका व्यवसायीले ओम गोकर्णेश्वर यातायात दर्ता गरेर ८ वटा बस संचालनमा ल्याएका छन्। बाबा गोकर्णेश्वरसँग भने ८० वटा बस छ।

कम्पनीका अध्यक्ष भीम बस्नेतले बसको आम्दानी नहुँदा बैंकको ऋण पनि तिर्न नसक्ने अवस्थामा पुगेको बताए। उनले आफ्नै खल्तीबाट पैसा हालेर किस्ता तिरिरहेको बताए।

दिगो शहरी यातायात पनि छैन नाफामा

सरकारकै पहलमा पाइलट प्रोजेक्टको रुपमा संचालनमा ल्याइएको दिगो शहरी यातायात प्रालिको हालत पनि उस्तै छ।ठूला बस चलाउन प्रोत्साहन स्वरुप १५ प्रतिशत अनुदान, ८० प्रतिशत सहुलियत ऋण तथा दिगो शहरी यातायात आयोजनाले ५ प्रतिशत व्योहोरेपनि भएपनि नाफामा जान सकेको छैन्।

कम्पनीका सचिव लालप्रसाद गुरागाईका अनुसार कम्पनी अहिले ब्रेक इभनमा छ।उनले किस्ता तिर्न ,मर्मत सम्भार गर्न,चालक सहचालकलाई तलव पुगेको बताए। गत बर्ष सिनामंगल- नयाँ बसपार्क रुटमा साना माईक्रो र ट्याम्पो हटाएर युरो-४ मापदण्डका १७ ठुला बसहरु संचालनमा ल्याइएको थियो।

अरु पनि हराए

सिटी मेट्रो यातायात कम्पनीले १५ वटा बस संचालनमा ल्याएपनि अहिले अस्तित्वमा छैन। ४० सीटभन्दा माथिका ती बस काँडाघारीबाट सुरु भएर माईतीघर-न्यू प्लाजा-पुतली सडक-नक्साल-महाराजगंज-बसुन्धरा हुँदै बनस्थलीसम्म पुग्ने र सोही बाटो फर्कने गरेका थिए।

नेपाल यातायातका साना बसबाट सास्ती पाएका यात्रुले विकल्प पाएका थिए।तर यो रुटमा सिटी मेट्रो चल्न बन्द भएको छ। महानगर यातायातको पनि अवस्था राम्रो छैन् । सुरुमा रिङरोडबाट सेवा सुरु गरेको कम्पनीले ४० वटा बस थपेर रिङरोड भित्रका मूख्य रुटमा सेवा विस्तार गरेको थियो।

तर ती रुटमा बसहरु संचालनबाट सोचेजस्तो फाईदा नभएपछि सेवा खुम्च्याएर रिङरोडमा केन्द्रित गरेको छ।केही समय अघि संचालकबीच खटपट परेपछि फूटको संघारमा पुगेको थियो। ठूला बस चलाउने अर्को कम्पनी ओरेन्ज यातायातले रिङरोडमा १० बस मार्फत सेवा सुरु गरेको थियो। यो कम्पनीको बस पनि प्रभावकारी छैन।