आधा दर्जन उद्योग थपिएपछि डन्डी उद्योगमा अस्वस्थ प्रतिस्पर्धा, झण्डै आधा खर्ब लगानी संकटमा




विराटनगर। माग भन्दा आपूर्ति बढी भएपछि फलामे डन्डी उद्योगको संकट सुरु भएको छ।भूकम्प र नाकाबन्दीपछि डन्डीको अस्वभाविक माग देखेर दर्जन भन्दा बढी उद्योग स्थापना भए।

तर घरजग्गाको कारोबारमा मन्दी, विकास आयोजनाको मन्द गतिसँगै माग बढ्न सकेन् भने बजारमा आपूर्ति बढी भयो।बजारमा राम्रो नाफा देखेर डन्डी उद्योगमा आएका नवप्रवेशी र क्षमता विस्तार गरेका उद्योगलाई अहिले संचालन खर्च जुटाउनै मुस्किल परेको छ। झण्डै आधा खर्बको हाराहारीमा यो क्षेत्रमा भएको लगानी संकटमा पर्ने संकेत देखा परेको छ। अहिले बजारमा वार्षिक ११ लाख टन माग छ तर संचालनमा रहेका उद्योगले १८ लाख टनको हाराहारीमा डन्डी उत्पादन गरिरहेका छन्।

TATa
Swostik Collage

ठूला लगानीमा आएका श्री,प्रिमियर,आरती स्ट्रिप्सनै अहिले समस्यामा छन्।पूराना स्टील उद्योगले जेनतेन आफ्नो संचालन खर्च धानिरहेका छन्।डन्डी बजारमा सबैभन्दा ठूलो हिस्सा ओगट्ने जगदम्बा स्टीलमा समेत समस्या देखिन थालिसकेको छ।यो उद्योगको बजार ठूलो भएकाले तत्कालै समस्या नदेखिएपनि यस्तै अवस्था रहे ६ महिनाभित्र संकटमा पर्नेछ।

डन्डीको माग देखेर नयाँ लगानी गरेका तर संचालनमा नआइसकेका उद्योग समेत ‘पर्ख र हेर’को अवस्थामा छन्।अम्बे समूहको नेपालगंजको जयअम्बे स्टील पनि उपयुक्त समयको पर्खाईमा छ। लक्ष्मी ग्रुपले दुई अर्ब लगानीमा स्थापना गरेको सिद्धिलक्ष्मी स्टील उद्योग पनि संचालनमा आउने तयारीमा छ।नवलपरासीमा स्थापना भएको यो उद्योगले दशैंको पूर्वसन्ध्यामा डन्डी उत्पादन सुरु गर्दैछ।

समस्या सिमेन्टको जस्तै

डन्डी उद्योगमा संकट पर्नुको मूख्य कारण हो माग भन्दा आपूर्ति बढी। आपूर्ति बढी हुनेवित्तिकै डिलरहरुले उधारोमा डन्डी लिए।

नयाँ उद्योगले समेत आफ्नो सामान बिक्रीका लागि बैंक ग्यारेन्टी लगायतको कुनैपनि सुनिश्चतता नगरि डन्डी बिक्री गरे।उद्योगीका अनुसार डन्डी उद्योगको उधारो ६ महिनासम्म पुगेको छ।अझ बजारबाट पैसानै उठ्न छाडेको छ।योसँगै अन्तर्राष्ट्रिय बजारमा विलेटको मूल्य पनि घट्यो।

प्रिमियर स्टिलका सञ्चालक अनुपम राठीका अनुसार बैङ्कले दिने दबाबका कारण उधारोमा र सस्तोमा माल विक्री गर्नुपर्ने बाध्यता छ ।‘समयमा बैङ्कको ब्याज र ऋण भुक्तानी नगरे अर्को दशा आइलाग्छ’, उद्यमी राठीले भने, ‘यसैकारण छिटोछिटो, उधारोमा र सस्तोमा माल बेच्नुपर्ने बाध्यता छ। यसरी विक्री गरिएको डन्डीको भुक्तानी नआएर चालु पूँजीका लागि फेरि बैङ्क नै गुहार्नु पर्ने स्थितिमा अहिले डन्डी उद्योगहरू छन्।

उनका अनुसार तीन महिनायता अन्तर्राष्ट्रिय बजारमा फलामका सामग्रीमा आएको मन्दीले देशका सबैजसो डन्डी उद्योग सङ्कटग्रस्त भएका छन् ।उनले भने, ‘हामीले खरिद गर्ने बिलेट उच्च गुणस्तरको हो। यसको आयात भारतको दुर्गापुरबाट गरिन्छ। चार महिनाअघि यसको मूल्य प्रति टन ५ सय २० डलर थियो, अहिले घटेर ३८० मा आइपुगेको छ।’

‘बिलेट पनि विभिन्न गुणस्तरका हुन्छन्, अहिले दुर्गापुर वा विशाखापट्टनममा बिलेटको मुल्य गुणस्तरअनुसार प्रति टन ३ सय ६० देखि सुरु हुन्छ, चार महिनापहिले ५ सयबाट सुरु हुन्थ्यो’, राठीले भने, ‘भारतमा पनि फलामे उद्योगले सङ्कट ब्यहोरिरहेका छन्। आरबिआईको पछिल्लो नीतिले त्यहाँका बैङ्कमा पनि तरलताको समस्या छ। ठूला उद्योगहरू चालु पूँजीको अभावले छट्पटाएका छन् ।’

उनका अनुसार नेपालका उद्योगले मागभन्दा बढी उत्पादन गरेका कारण ठूलो परिमाणमा कच्चा पदार्थ र तयारी मालको मौज्दात राखेका छन्। अन्तर्राष्ट्रिय बजार एक्कासी आएको मन्दीले अब ठूलो नोक्सानी खप्न तत्पर हुनुपर्नेछ। निर्माणाधीन स्वस्तिक रोलिङ एन्ड स्टिलका सञ्चालक रमेश राठीले व्यवसायीले एकले अर्कालाई उधारो नतिर्ने प्रवृत्तिले चौतर्फी बेथिति बढिरहेको उल्लेख गर्दै उधारो नतिर्ने प्रवृत्तिविरूद्ध कडा कानुन हुनुपर्ने माग गरे।

‘व्यवसायीले उधारो नतिरेका का कारण व्यापारमा विशृङ्खलता आएको छ, समयमा कर र बैङ्कको ब्याज बुझाउन सकिने अवस्था छैन’, उद्यमी राठीले भने, ‘माल लगेको फर्मले उधारो नतिरेपछि उद्योगले श्रमिकलाई दिने ज्याला पनि बैङ्कबाट ऋण लिएर भुक्तानी गर्नुपर्ने अवस्था छ। खासमा उधारोले चौतर्फी बेथिति बढेको छ।’

विगतको पुनरावृति

पचासको दशकको आरम्भ थियो, मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा फलामे डन्डी कारखाना ह्वात्तै थपिए। तर विडम्बना भयो, साठीको दशक सुरु नहुँदै अधिकांश कारखाना बन्द गरिए।त्यो बेलामा हिमाल,हामा,पंचकन्या,कमला र पशुपति आइरन मात्रै बचे।अरु देखासिकीमा लगानी गरेका उद्योग बन्द भए।

‘यही अवस्था ६ महिना पनि विद्यमान भयो भने’, बन्द भएको हेटौँडा आइरनका सञ्चालक श्रीनिवास शारडाले भने, ‘२५ वर्ष अघिको इतिहासको पुनरावृत्ति नहोला भन्न सकिन्न।’मोरङको बुढीगङ्गा गाउँपालिकाको बाँसबारी चौकमा नेपालकै दोस्रो डन्डी उद्योगका रूपमा २०३५ सालमा खुलेको एभरेस्ट आइरनमा चार जनाको साझेदारी थियो। यसअघि देशको पहिलो डन्डी उद्योग हिमालय आइरन, मणिहर्ष ज्योतिले परवानीपुरमा खोलेका थिए।

एभरेस्ट आइरनमा लाहानबाट विराटनगर आएका शारडा समूह र मुरारका समूह तथा काठमाडौँका वृजलाल अग्रवाल र अर्का एक नेवार समुदायका उद्योगी संलग्न थिए।चार औद्योगिक घरानाको साझेदारी तीन वर्ष पनि टिकेन। आपसमा अन्यौल बढेपछि शारडा र मुरारका त्यहाँबाट अलग भए। शारडाले मोरङको टङ्कीसिनवारीमा हेटौँडा आइरन र मुरारकाले सुनसरीको सोनापुरमा पशुपति आइरन २०३८ सालमा खोले।

चालीसको दशक लागेपछि मोरङमा फलामको अर्को फलामको उद्योग थपियो। विशाल ग्रुपको अग्रसरतामा मोरङको बाँसबारीमा कमला आइरन एन्ड रोलिङ मिल २०४२ सालमा खुलेको थियो। कमला आइरनले डन्डी त उत्पादन गर्थ्योनै र अहिले पनि गरिरहेको छ, डन्डीका लागि आवश्यक पर्ने कच्चा पदार्थ इन्गोट पनि बनाउँथ्यो । इन्गोट फलामका स्क्रयाप पेलेर बनाइन्छ। कालान्तरमा २०६४ पछि इन्गोटको उत्पादन कमला आइरनले बन्द गर्यो।

प्रजातन्त्रको पुनःस्थापना र गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा एकमना सरकारपछि पूर्वमा अरुण तेस्रो जलविद्युत् परियोजना स्वप्नदर्शी आयोजनाका रूपमा पूर्वका लगानीकर्ताका आँखामा नाच्न थाल्यो।

यसरी अरुण तेस्रोको परिचर्चासँगै मोरङ–सुनसरीमा ५० को दशकमा फलामे डन्डीका ठूला उद्योग ह्वात्तै थपिए।हरि धनावत र शम्भु धनावतसहित ५ जनाले खोलेको इस्टर्न आइरन, विजय तोदी, धर्मचन्द डागा र विनोद डालमियाको स्वदेशी आइरन, दीनबन्धु गोयलको गायत्री आइरन, हरिचरण शर्माको परशुराम आइरन र मङ्ग्तुराम समूहको अन्नपूर्ण आइरन यस क्षेत्रमा फलामे डन्डीका ठूला कारखाना थिए ।

अरुण तेस्रोको तत्कालीन अवसानसँगै ५० को दशकको अन्त्यसम्ममा अधिकांश फलामे उद्योग बन्द भइसकेका थिए।त्यस बेलादेखि हालसम्म बन्द नभई निरन्तर चलेका उद्योगमा मुरारका समूहको पशुपति आइरन र विशाल ग्रुपको कमला आइरन मात्र हुन्। अन्य उद्योग सबै बन्द भए।

क्षमता विस्तारमा दोधार

पशुपति आइरन अहिले क्षमता विस्तारको क्रममा छ। प्लान्ट लगाउन भवन निर्माणको क्रम जारी छ।

‘क्षमता विस्तार ३ वर्ष पुरानो योजना हो, त्यसैले बाध्य भएर गर्नै पर्यो’, संचालक प्रदीप मुरारकाले भने, ‘अहिले आएर ३ वर्षअघि हामीले किन यस्तो निर्णय लियौँ होला भन्ने लागिरहेछ। खाउँ भने दिनभरिको सिकार भन्ने उखानको हाल भएको छ।’

राजलक्ष्मी गोल्छाको नेतृत्वमा रहेको हुलास वायर इन्डस्ट्रिज फलाम, तामा र पित्तलका सामग्रीमा उम्दा निस्किएपछि यस उद्योगले २०७१ सालदेखि डन्डीको उत्पादन सुरु गरेको हो।

स्वस्तिक रोलिङ उद्योग नाउँमा खुल्न लागेको यस उद्योगले डन्डीका साथ यसको कच्चा पदार्थ इन्गोटको पनि उत्पादन गर्नेछ। उद्यमी राजेन्द्र राउतले व्यवस्थापन सह्माल्ने गरी यस उद्योगमा गोल्छा हाउसका राजकुमार गोल्छा र स्वस्तिक समूहका रमेश राठीको पनि साझेदारी छ।उनीहरु पनि अहिलेको बजार देखेर संशकितनै छन्।

उपभोक्तालाई राहत

डन्डीको मूल्य घटेको उपभोक्ताका लागि भने खुशीको कुरा भएको छ।

विराटनगरको सबैभन्दा ठूलो खुद्रा पसल गोयल हार्डवेयरका सञ्चालक राजु गोयलका अनुसार अहिले डन्डीको उपभोक्ता मूल्य घटेर विराटनगरमा प्रति किलो ७४ रुपैयाँमा आइपुगेको छ।

चार महिनाअघिसम्म प्रति किलोग्राम ७९ रुपैयाँ थियो। त्यस्तै चार महिना अघिसम्म डन्डीको कारखाना मूल्य प्रति किलो भ्याट वाहेक ६७ रुपैयाँ  थियो भने अहिले ६२ रुपैयाँमा भ्याट लाग्छ। यो घट्ने क्रम जारी छ। यही अवस्था रहेमा ६०को हाराहारीमा डन्डी बिक्री हुन थाल्छ। उपभोक्ता मूल्य ७३ रुपैयाँ हुनसक्छ।


Share this Story

   

आधा दर्जन उद्योग थपिएपछि डन्डी उद्योगमा अस्वस्थ प्रतिस्पर्धा, झण्डै आधा खर्ब लगानी संकटमा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.