पर्यटकीय गन्तब्य २४सै घण्टा संचालनमा ल्याउने योजना कार्यान्वयनमा आएन, भ्रमण वर्षमा खोल्न लबिङ

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७६ साउन ६ गते २०:५३ | Jul 22, 2019

Tata
GBIME
Nepal Life

काठमाडौं। दुई वर्षअघि तात्कालिन गृहमन्त्री जनार्दन शर्माले ठमेल,दरबारमार्ग र पोखराको लेकसाइड २४सै घण्टा खोल्ने घोषणा गरे।

शर्मा गृहमन्त्री भएर आएपछि नाइटलाइफलाई मान्यता दिँदै भनेका थिए-‘ठमेल,पोखराको लेकसाइड र दरबारमार्ग २४सै घण्टा खुलाउन सुरक्षा दिइनेछ।‘शर्माले घोषणा गरेको दुई वर्ष पुगिसकेको छ।तर यी तीन पर्यटकीय गन्तब्य २४सै घण्टा खुलेका छैनन्।बरु धेरै बेरसम्म रेष्टुरेन्ट,क्लब खुलेको भन्दै प्रहरीले त्यसका संचालकलाई पक्राउ परिरहेका छन्।

सुरक्षा निकायले सहयोग गर्नुको साटो व्यवसायीलाई हत्तोसाहित बनाइरहेको छ।सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२०का लागि पनि यो घोषणा कार्यान्वयनमा ल्याउनुपर्ने व्यवसायीको माग छ।

रेष्टुरेण्ट एण्ड वार एशोसिएसन नेपाल(रेवान)का अध्यक्ष प्रमोद जैसवालले पर्यटकीय गन्तब्य २४सै घण्टा खोल्ने वातावरण तयार गर्नुपर्ने बताउँछन्।‘हामीले भ्रमण वर्ष २०२० घोषणा गरिसकेका छौं। यस्तो अवस्थामा पर्यटकलाई आकर्षित गर्न पनि नाइट लाइफको ठूलो महत्व हुन्छ’ उनले बिजमाण्डूसँग भने,’त्यसमा पनि दुई वर्षअघि घोषणा भएको योजना कार्यान्वयन गर्नेतर्फ सरकारनै लाग्नुपर्छ।’ उनले दिनभरि विभिन्न गन्तब्यमा घुम्ने पर्यटक राती अवेरसम्म बसेर रमाइलो गर्न मन पराउने बताए।

‘विश्वका धेरै देशमा केही पर्यटकीय गन्तब्य २४सै घण्टा खुल्ला हुन्छन्।तर यहाँ राती १० बजेपछि प्रहरी आएर रेष्टुरेन्ट बन्द गर्ने चलन छ। यसले पर्यटकले कम खर्च गरे भनेर प्रश्न गर्नुको कुनै अर्थ हुँदैन’ जैसवालले भने,’हामीले नाइटलाइफ खोल्नलाई हिचकिचाउनुहुँदैन।’ उनका अनुसार रात्रीकालिन व्यापारका लागि केही आचारसंहिता र राज्यको सुरक्षा व्यवस्था पनि राम्रो हुनुपर्छ।

रेष्टुरेन्ट एण्ड बार एशोसिएसन पोखराका उपाध्यक्ष योगेश भट्टराईले पर्यटकको खर्च बढाउनका लागि समेत केही पर्यटकीय स्थल २४सै घण्टा खोल्नुपर्ने बताउँछन्।उनले २४सै घण्टा खोल्नका लागि केही पूर्वाधार तयार गर्नुपर्ने बताउँछन्।‘हामीले पनि आन्तरिक सुरक्षा प्रणालीदेखि आचारसंहिता बनाउनुपर्छ। जनशक्ति समेत थप्नुपर्छ’ उनले भने।नेपाल पर्यटन बोर्ड समेत मूख्य पर्यटकीय गन्तब्य २४सै घण्टा खोल्न लबिङ गरिरहेको छ।बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटकको बसाई लम्ब्याउन र खर्च बढाउन सहयोग पुग्ने बताए।

 

 

 

 

 

 

 

'पर्यटकहरु कम समयमा धेरै अनुभव लिन भ्रमणमा आएका हुन्छन्। यसो हुँदा दिनभरी उहाँहरु साइट सिनमा व्यस्त हुन्छन्। थकानपछिको खानपानसँगै स्थानीय संस्कृति र जीवनशैली झल्कने कार्यक्रम हेर्न रुचाउँछन्। पर्यटकलक्षित रात्रीकालिन सुविधाका लागि मुख्य हबमा भएका रेष्टुरेण्ट २४ घण्टा संचालनमा ल्याउनु आवश्यक देखिन्छ।' जोशीले भने।