वायुसेवा निगमले जापान प्रतिनिधिमा एआइजेलाई नियुक्त गर्यो, टिकट बुकिङ धमाधम हुँदै

बिजमाण्डू
२०७६ साउन ६ गते १७:०६ | Jul 22, 2019

Tata
GBIME
Nepal Life

काठमाडौं। तोकिएको शर्त पुरा गर्न नसकेको भन्दै नेपाल वायुसेवा निगमले देवमान हिराचनलाई जापान प्रतिनीधीबाट हटाएपछि नउको ठाउँमा जापानको एआइजे (एभिएशन इन्टरनेश्नल जापान) कम्पनीलाई नियुक्त गरिएको छ।

हिराचनले आफू प्रतिनिधी भएपछि जापानमा जिएसए (जेनरल सेल्स एजेन्ट) हुने माग राखेका थिए। उनले माग थप्दै लगेपछि जिम्मेवारीबाट हटाएको निगमको दावी छ। 

निगमका प्रवक्ता गणेशबहादुर चन्दले भने 'जापानमा सहजै निगमको कर्मचारी परिचालन गर्नका लागि प्रतिनिधी नियुक्त गर्ने गरिन्छ। जसले गर्दा यताबाट गएका निगमका कर्मचारीहरुलाई भिसाको समस्या हुँदैन। उनीहरुले आधिकारीक रुपमा जापानमा बसेर काम गर्ने वातावरण पाउन सक्छन्।  निगमको बोर्डले अध्ययन गरेपछि एआइजेलाई प्रतिनिधी नियुक्त गरेको हो।' 

एक साता अगाडि निगमको बोर्ड बैठकले हिराचनलाई प्रतिनीधी पदबाट हटाउने निर्णय गरेको थियो। हिराचन एक दशक अगाडि नेपाल-जापान उडान क्रममा प्रतिनीधी पदमा नियुक्त भएका थिए। हिराचनले आफूलाई जानकारी नदिइ हटाएकाले कानुनी उपचारमा जाने बताएका छन्।

निगमले आउँदो अगष्ट २९ तारिखदेखि सुरु गर्ने भनिएको काठमाडौं-ओसाका उडानको लागि जापानको सम्पर्क कार्यालयमा छिट्टै टिकट बुकिङ सिस्टम संचालनमा ल्याउने योजना रहेको चन्दले बताए। 

निगमका अनुसार हाल एमिडियोस, स्यागर, ग्यालिलियो र इन्फिनी लगायत  चारवटा टिकेटिङ सिस्टम संचालनमा ल्याइसकिएको छ। निगमका अनुसार इन्फिनी सिस्टम भने १० जुलाईमा परिक्षण भएर संचालन (गो लाइभ) गरिएको थियो। काठमाडौं-ओसाका उडानका लागि हालसम्म इ-बुकीङ र टिकट बुकिङ सिस्टममार्फत यात्रुहरुले टिकट काट्न सुरु गरिसकेका छन्। 

काठमाडौं-ओसाका उडानका लागि मासिक तीन वटासम्म चार्टर उडानको प्रस्ताव आइरहेको निगमले जनाएको छ।