साढे छ अर्ब रुपैयाँ लगानीमा चौकुने सिमेन्ट थाल्ने अजय सुमार्गीको घोषणा, २ महिनाभित्र काम थाल्ने

बिजमाण्डू
२०७६ असार ५ गते १९:०७ | Jun 20, 2019
साढे छ अर्ब रुपैयाँ लगानीमा चौकुने सिमेन्ट थाल्ने अजय सुमार्गीको घोषणा, २ महिनाभित्र काम थाल्ने

Tata
GBIME
Nepal Life

सुर्खेत। उद्योगी अजेयराज सुमार्गीले पश्चिम नेपालमा रहेको चौकुने सिमेन्ट उद्योग एक वर्षमा सञ्चालनमा ल्याउने घोषणा गरेका छन्।

सुर्खेत उद्योग वाणिज्य संघले आयोजना गरेको छलफलमा बोल्दै उनले चौकुने सिमेन्ट उद्योगबाट एक वर्षभित्र उत्पादन सुरु गर्ने दावी गरेका हुन्।१० वर्ष अघिनै लगानी सम्झौता भएको चौकुने सिमेन्टमा लगानी गर्ने गरि पश्चिम नेपालमा झरेको बताउँदै उनले, कर्णालीको भौगोलिक सम्भाव्यता अध्ययन गरिसकेको बताए।

उनले अव आर्थिक सुर्य पश्चिमबाट उदाउने भन्दै चौकुने गाउँपालिकामा रहेको चौकुने सिमेन्ट उद्योगलाई एक वर्षभित्र सञ्चालनमा ल्याउने दाबी गरे।‘यसअघिनै मैले पश्चिम नेपालबाट आर्थिक सुर्य उदाउँछ भनेको छु।’ उनले भने, ‘यहाँका नागरिक भारत मजदुरी गर्न र सलाम ठोक्न जानुपर्ने बाध्यता छ। अव कर्णालीमा यस्तो क्लास रोक्नुपर्छ।’

अवको एक वर्षमा चौकुने सिमेन्ट 

सम्झौता भएको करिव एक दशकपछि यो सिमेन्ट कारखाना खुल्ने पक्का भएको हो। उद्योगमा साढे ६ अर्ब लगानी हुने उनले बताउँदै अर्को वर्षको भदौंबाट उत्पादन सुरु गर्ने बताए।'खानी सम्म झण्डै १३ किलोमिटर सडकमार्ग पनि पुगिसकेको छ। अव थोरै विद्युतमा जोड दिनुपर्ने छ। विद्युतका लागि प्रदेश सरकारसँग पनि भनेको छु।’उनले भने।

यो सिमेन्ट उद्योग सञ्चालनका लागि २५ मेगावाट विद्युत आवश्यक पर्नेछ। बावियाचौरमा रहेको सवस्टेशनबाट १० किलोमिटर प्रदेश सरकारले विद्युतीकरण गरिदिनुपर्ने र बाँकी ३/४ किलोमिटर कम्पनीले तार तान्ने उनको भनाई छ।

अहिले तत्कालका लागि ५/५ सय किलोवाटको दुई वटा जेनेरेटर लिएर काम सुरु गर्ने बताए। उद्योगको प्लान्ट राख्ने विषयमा छलफल भइरहेको भन्दै अहिले टुंगो लागि नसकेको बताए।

खानी क्षेत्र चौकुने गाउँपालिकाको चौकुने, गुटु, कुँवा, खोप्री, थरलगाउँ, काफलगैरा र ओटपोखरीमा गरी करिव २०० विगाहा क्षेत्रफलमा फैलिएको छ।उद्योगमा उत्पादित सिमेन्ट कर्णालीमा मात्रै नभएर भारत समेत पठाउन सकिने सुमार्गीको भनाई छ।  झण्डै देनिक ६०० टन सिमेन्ट उत्पादन हुने र भारतको दिल्ली, लखनउ लगायत ठाउँमा पठाउन सकिने  उनले बताए।

‘चौकुनेमा उत्पादन भएको सिमेन्ट कर्णालीमा मात्रै खपत हुन्छ भन्ने छैन्। यहाँको बजार हेटौँडा, काठमाण्डौँ पनि होइन।’ उनले भने, ‘भारतको दिल्ली, लखनउ लगायतको बजारमा पठाउन सकिन्छ।’