काठमाडौं महानगरले सडक मर्मतका लागि स्पेशल टास्क फोर्स बनाउने, आगामी बर्षबाट विद्युतीय बस

बिजमाण्डू
२०७६ असार ५ गते १३:१३ | Jun 20, 2019
काठमाडौं महानगरले सडक मर्मतका लागि स्पेशल टास्क फोर्स बनाउने, आगामी बर्षबाट विद्युतीय बस

Tata
GBIME
Nepal Life

काठमाडौं। काठमाडौं महानगरपालिकाले महानगरको अधिकार क्षेत्रभित्र पर्ने सडकको मर्मत सम्भार गर्न स्पेशल टास्क फोर्स बनाएर परिचालन गर्ने भएको छ ।

महानगरपालिकाले आर्थिक बर्ष २०७६/०७७ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै तत्काल सडक मर्मत गर्नका लागि स्पेशल टास्क फोर्स बनाएर परिचालन गर्न लागिएको जनाएको छ। अहिले महानगरपालिकाले ८ मिटर सम्मका भित्री सडक र अन्य केही सडक समेत मर्मत सम्भार र निर्माण गर्दै आएको छ। ती सडकहरुमा खाल्डा खुल्डी र समस्याहरु बढ्न थालेपछि महानगरपालिकाले नीति नै बनाएर सडक मर्मत सम्भार गर्न लागेको हो।

त्यसैगरि महानगरपालिकाले सम्भाव्य स्थानहरुमा साईकल लेन बनाउने भएको छ।निश्चित स्थानहरु पहिचान गरेर भेहिकल फ्रि जोन बनाउन लागेको छ। महानगरको अधिकार क्षेत्र भित्रका प्रमुख चोकहरुमा आधुनिक सिग्नलाईज्ड प्राणालीमा आधारित ट्राफिक लाईटहरु जडान गरि ट्राफिक व्यवस्थापनलाई थप सहज र व्यवस्थित बनाउने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ।

महानगरपालिकाभित्र स्मार्ट पार्किङ निर्माण गर्ने नीति लिएको छ। शहरका विभिन्न स्थानमा  स्मार्ट भर्टिकल पार्किङ र अण्डरग्राउण्ड पार्किङ निर्माण गरिने उल्लेख गरेको छ। अन्य नगरपालिका र निजी क्षेत्रसँग समन्वय गरेर विद्युतीय सवारीसाधन संचालन गर्ने नीति लिएको छ।