हुवावेमाथिको रहस्यमयी आक्रमण, के हुवावे अमेरिकाले भने झैं दोषी हो?

बिजमाण्डू
२०७६ जेठ १२ गते ०९:५६ | May 26, 2019
हुवावेमाथिको रहस्यमयी आक्रमण, के हुवावे अमेरिकाले भने झैं दोषी हो?

Tata
GBIME
Nepal Life

अफ्रिकन युनियनको अदिस अबाबामा रहेको केन्द्रीय कार्यालयको गगनचुम्बी हेडक्वार्टर कुनै स्पेस शीप जस्तो डिजाइनमा बनेको छ। इथियोपियाको राजधानीमा रहेको यो गगनचुम्बी भवन पछिल्लो समय चर्चामा छ।

भवनको हरेक लिफ्टमा भिजिटरलाई स्वागत गर्छ प्लास्टिकको 'पाल्म ट्रि बियर'ले जुन लोगो हो चाइना डेभलपमेन्ट बैंकको।

यो भवनको जहाँ तहीँ स-सानो यस्ता संकेत छन् जसले यो भवन चिनियाँ वित्तीय सहयोगका कारण संभव भएको देखाउँछ।

सन् २००६ मा बेइजिङले यो भवन बनाउन २० करोड डलर सहयोग गरेको थियो।

सन् २०१२ मा निर्माण सकिएको यो भवनका सबैकुरा चिनियाँहरुले बनाइदिएका छन् यहाँको कम्प्युटर सिस्टम पनि।

केही वर्षसम्म यो भवन चीन र अफ्रिकाको सम्बन्धलाई मजबुत बनाउने धरोहरका रुपमा प्रख्यात भयो।

दुई देशबीचको व्यापार विगत दुई दशकमा तीब्र वृद्धि पनि भयो।  चीनको बर्षेनी २० प्रतिशत व्यापार अफ्रिकासँग हुने गरेको अन्तराष्ट्रिय कन्सल्टेन्सी म्याककिन्सेको अनुसन्धानले देखाएको छ। चीन अफ्रिकाको सबैभन्दा ठूलो आर्थिक पार्टनरका रुपमा उभियो।

तर सन् २०१८ को जनवरीमा फ्रेन्च अखबार 'ला मोन्ड आफ्रिक'ले यस्तो समाचार प्रकाशित गर्यो जसले बम फ्याके झैं असर गर्यो। समाचार अफ्रिकन युनियनको गगनचुम्बी भवनको कम्प्युटर सिस्टममा भएको गडबडीका बारेमा थियो।

अखबारले बिभिन्न स्रोतको हवाला दिँदै ५ वर्षदेखि मध्यरातदेखि दुई घण्टासम्म यस भवनको सर्भरमा रहेको डाटाहरु ८ हजार किलोमिटर पर रहेको चीनको सांघाईको सर्भरमा ट्रान्सफर भइरहेको खुलासा गर्यो।

अखबारले दावी गर्यो – 'सर्भरको डाटा ट्रान्सफर लगातार १८ सय २५ दिनसम्म चलेको थियो।'अखबारले यस बारेमा सन् २०१७ मा नै जानकारी पाएको लेखेको छ जब एक बैज्ञानिकले काम गर्ने क्रममा  अफिस बन्द भैसकेको रातको समयमा पनि कम्प्युटरहरुमा उच्च दरको गतिविधि भइरहेको जानकारी पाए।

जब अनुसन्धान सुरु भयो भवनका भित्ता तथा भवनका डेस्कहरुमा माइक्रोफोन र सुन्ने यन्त्रहरु समेत फेला पर्यो। तर दुबै पक्ष अफ्रिकन युनियन र चिनियाँ अधिकारीहरुले सार्वजनिक रुपमै यस घटना भ्रामक र कपोलकल्पित भएको दावी गर्यो।

उनीहरुले पश्चिमी मिडियाले दुई देशको सम्बन्ध बिगार्न यो गलत कथा बनाएको समेत बताए।

तर 'ला मोन्द आफ्रिक'ले भने अफ्रिकन युनियनका केही अधिकारीहरुले नै  गोप्य वार्ताका क्रममा कतै आफूहरु चिनियाँ सहयोगमा निर्भर हुँदा गम्भीर परिणाम भोग्न बाध्य पो भएको हो की भन्ने आशंका ब्यक्त गरेको समेत लेख्यो।

तर घटना सार्वजनिक हुँदा एउटा तथ्यबारे भने कतै सार्वजनिक भएन। अफ्रिकन युनियनको हेडक्वार्टरमा सूचना तथा संचार प्रविधि प्रणालीको मुख्य आपूर्तिकर्ता थियो चीनको सबैभन्दा ठूलो टेलिकम उपकरण निर्माण कम्पनी हुवावे।

'यसको अर्थ कम्पनी यस डाटा चोरीमा सहभागी थियो भन्ने होइन।'- घटनाको समीक्षा गर्दै अष्ट्रेलियन स्ट्रयाटेजिक पोलिसी इन्स्टिच्यूटका डेनियल केभ भन्छन्। 'तर  के भन्न कठिन छ भने हुवावेको उपकरण उपलब्ध गराउने भूमिका र मुख्य सूचना तथा संचार सेवा उपलब्ध गराउने भवनको डाटा सेन्टर  र पूरै बिल्डिङमा सबै सेवा उपलब्ध गराउने कम्पनी कसरी पाँच वर्षसम्म लगातार हरेक दिन यति ठूलो  डाटा चोरीको घटनाबारे अनभिज्ञ हुनसक्छ?'- उनी प्रश्न गर्छन्।

तर हुवावेका प्रवक्ता दावी गर्छन्- 'यदि त्यहाँ कुनै डाटा लिक थियो भने यो चोरी हुवावेले सप्लाई गरेको प्रविधिका कारण भएको होइन। किनभने हामीले अफ्रिकन युनियन परियोजनामा तथा डाटा सेन्टरमा उपलब्ध गराएको प्रविधिमा कुनै स्टोरेज वा डाटा सेन्टर थिएन।'  

चिनियाँ सरकार वा अन्य संस्था समक्ष  हुवावेको टेलिकम नेटवर्क उपकरणले कुनै पनि उपभोक्ताको डाटासम्म पहुँच पुर्याउन प्रयोग गरेको ठोस प्रमाण हालसम्म फेला परेको छैन। फेरि हुवावे यस परियोजनाको अन्य धेरै आपूर्तिकर्ता मध्येको एक हो।

आजसम्म पनि अफ्रिकन युनियनको प्रणाली कसले प्रयोग गर्यो भन्नेबारे आधिकारिक पुष्टि हुन सकेको छैन।तर यी तथ्यहरुले वर्षौदेखि हुवावले चिनियाँ सरकारको प्रभावमा रहेर काम गरेको हुनसक्ने आशंकाहरुलाई भने सतहमा ल्याइदियो।

'जब ३० वर्षअघि मैले यो कम्पनी सुरु गरें हामीसँग खासै धेरै टेलिफोन थिएन। केवल दोस्रो विश्वयुद्धताकाका चलचित्रमा देखिने जस्ता केही फोनसेटहरु थिए।  त्यसबेला हामी निकै अविकसित थियौं।'-हुवावेका संस्थापक तथा अध्यक्ष रेन जेनफेईले हाल विश्वै दोस्रो ठूलो स्मार्टफोन कम्पनीको स्थापनाकाल यसरी सम्झन्छन्।

सान्जेनमा रहेको हुवावेको हेडक्वार्टर निकै भव्य छ। केही किलोमीटर पर डोङगाउमा रहेको हुवावेको लेटेस्ट क्याम्पस अझ आकर्षक छ। यस साइटलाई कम्पनीको १२ वटा 'भिलेज' का रुपमा विकास गरिएको छ जसले विभिन्न यूरोपियन शहरहरु  पेरिस, वालोग्ना र ग्रानाडाको झल्को दिन्छ।

यो सिलिकन भ्याली झैं फरक विश्व हो जहाँ रेनले सन् १९८७ मा कम्पनी सुरु गर्दा ताका देखेको सपनाले साकार रुप लिइरहेको छ।
 

‘चीनले आफ्नो खुला तथा सुधारात्मक नीति कार्यान्वयन गर्ने समयमा मैले हुवावे स्थापना गरेको हुँ,’ उनी भन्छन् ‘चीन त्यसबेला योजनाबद्ध ढंगले बजार अर्थतन्त्रमा प्रवेश गर्दै थियो। त्यो बेला ममात्र नभई धेरैजसो उच्च सरकारी अधिकारीहरुलाई बजार अर्थतन्त्रका बारेमा धेरै कुरा थाहा थिएन। हामीलाई काम कसरी गर्ने भन्ने बारे निर्णय गर्न निकै गाह्रो महसुस भएको थियो।‘

रेन सन् १९४४ मा देशकै सबैभन्दा गरिब क्षेत्र मानिने दक्षिणी चीनमा जन्मिए। लामो समयसम्म उनले धेरै दुख र हैरानी खेपे तर त्यसैकारण उनी निकै मेहनती पनि निस्के।

'७ जना सन्तान भएको परिवारमा जन्मिएका रेन गरिब भएकै कारण जीवनभर कडा परिश्रम गर्न सके जसका कारण उनलाई आजको अवस्थामा आउन सहयोग गर्यो।'-रेन र हुवावेका बारेमा लेखिएको किताबका लेख डेभिड डे क्रिमेर भन्छन्।

त्यसबेला गरिबीबाट माथि उक्सिन रेनले त्यही गरे जुन त्यसबेलाका आम चिनियाँ युवाहरुले गर्थे। उनले आर्मी ज्वाइन गरे।'म पिपुल्स लिबरेसन आर्मीमा लो र्याङ्किङ अफिसर थिए' उनी भन्छन्- 'मैले युद्ध क्षेत्रमा नभई सामान्य निर्माण परियोजनामा काम गरे। म सेनामा प्रवेश गर्द टेक्निसियनको हैसियतमा थिएँ पछि इन्जिनियर भएँ।'

सन् १९८३ मा उनी सेनाबाट बाहिरिए र इलेक्ट्रोनिक्सको व्यापार थाले। आफ्नो पहिलो व्यापार पूरै घाटा खाएका रेनले दोस्रोपल्ट व्यापार गर्नुअघि धेरै अनुसन्धान गरे।चीन पहिलोपल्ट बजार अर्थतन्त्रमा प्रवेश गरेको थियो। त्यसबेला खासै व्यापार कानुनबारे जानकारी थिएन। चिनियाँ कानुनका बारेमा धेरै कम किताव थिए त्यसैले रेनले यूरोपेली र अमेरिकी कानुन पढे।

त्यसको पाँच वर्षपछि उनले हुवावे स्थापना गरे। हुवावेको चिनियाँ अर्थ हो 'अभूतपूर्व उपलब्धी' वा 'चीन सक्षम छ'। पहिले यसले सामान्य टेलिकमका उपकरणहरु चीनको ग्रामीण बजारमा बेच्न थाल्यो।

केही वर्षभित्र हुवावेले आफै उपकरणहरुको विकास र उत्पादन गर्न सक्षम भयो। सन् ९० को दशकको सुरुमै हुवावेले चिनियाँ आर्मीलाई टेलिकम उपकरण उपलब्ध गराउने सरकारी सम्झौता हात पार्यो।

सन् १९९५ मा कम्पनीले ग्रामीण बजारमा वार्षिक २२० मिलियन डलरको बिक्री गर्यो। अर्को वर्ष हुवावेले चीनको राष्ट्रिय च्याम्पियन टेलिकम कम्पनीका रुपमा सरकारी मान्यता पायो। सरकारले बिदेशी प्रतिस्पर्धालाई बन्द गर्दै हुवावेलाई एकमात्र राष्ट्रिय कम्पनीका रुपमा काम दियो।

त्यसबेला जब चीनको अर्थतन्त्र बर्षेनी औसत १० प्रतिशतका दरले वृद्धि भैरहेको थियो त्यसबलासम्म कम्पनीलाई देशभित्र खासै फाइदा लिन सकेको थिएन। तर जब हुवावेले सन् २००० मा आफ्नो कारोबार बिदेशमा कारोबार थाल्यो यसको कायापलट भयो।  

सन् २००२ मा हुवावेले ५५२ मिलियन अमेरिकी डलर बिदेशी बिक्रीकाट हासिल गर्यो। सन् २००५ मा पहिलोपटक यसको अन्तराष्ट्रिय बजार सम्झौता आन्तरिक ब्यापारभन्दा धेरै भयो।रेन कम्पनीको सुरुवाती दिनमा स्टक मार्केटभन्दा परै रहे। यसकारण हुवावे निजी कम्पनीका रुपमै संचालित रह्यो।

यसले रेनलाई अनुसन्धान तथा विकासमा थप खर्चिने बल पुग्यो। हरेक वर्ष हुवावेले २० अर्ब डलरसम्म खर्च गर्छ जुन विश्वकै ठूलो अनुसन्धान खर्च मध्ये पर्छ।'सार्वजनिक रुपमा लिस्टिङ गरिएका कम्पनीहरुले आफ्नो ब्यालेन्स सिटमा धेरै ध्यान दिनुपर्छ उनीहरु धेरै लगानी गर्न सक्दैनन्। हुवावेमा भने हामी आफ्नो लक्ष्य कसरी पूरा हुन्छ  त्यसमा खर्च ब्यबस्थापन कसरी गर्ने भन्नेबारे सहजै निर्णय लिन स्वतन्त्र छौं जसले हामीलाई सफल बनाएको हो।'-रेन भन्छन्।  

कम्पनीको सुरुवातमा एकदिन रेन कम्पनीमा आफ्नो स्टाफका लागि खाना बनाइरहेका थिए। अचानक उनी किचेनबाट बाहिर निस्किए  र घोषणा गरे 'अबको २० वर्षमा हामी ग्लोबल कम्युनिकेसन मार्केटको टप ३ मा पर्छौ।'

नभन्दै रेनको महत्वाकांक्षा वास्तविकतामा परिणत भयो। आज हुवावे विश्वकै सबैभन्दा ठूलो नेटवर्क टेलिकम्युनियकसेन उपकरणको बिक्रेता हो। एप्पल कम्पनीबाट प्रभावित भएर कुनै दिन एप्पलजस्तो बन्ने सपना देखेको हुवावेले आज एप्पलको भन्दा बढी स्मार्टफोन बिक्री गर्छ।

तर जब हुवावेले अन्तराष्ट्रिय सफलता हात पार्दै गयो यसमाथि बिभिन्न समस्याका बादल मडारिन थाले।रेनको चिनियाँ कम्युनिष्ट पार्टीमा रहेको बलियो पकड र सम्बन्धलाई आधार बनाउँदै अमेरिकाले कम्पनीमाथि बिभिन्न आरोप लगाउन थाल्यो।

अमेरिकाले हुवावेलाई चिनियाँ सरकारको स्पाईको काममा उपयोग भएको आरोप लगातार लगाउँदै आएको छ। यसलाई रेन भने अस्वीकार गर्छन् – 'हुवावे आज जुन अवस्थमा छ यो कसैको विशेष कनेक्सन वा कृपाका कारण भएको होइन।' उनी भन्छन् -'शतप्रतिशत सरकारी स्वामित्वको कम्पनीहरुपनि फेल भएका छन्। हामी उत्कृष्ट भयौ यसको अर्थ यो होइन कि हामी प्रयोग भयौं। हुवावेको सफलता हाम्रो कडा मेहनतका कारण प्राप्त भएको हो।'

सन् २०१८ को १ डिसेम्बर का दिन अमेरिकी राषट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सि जिनपिङ ब्यूनर्स आयर्समा जि २० को समिटमा एकसाथ डाइनिङ हलमा थिए। उनीहरुले त्यहाँ धेरै बिषयमा छलफल गरे।त्यसबेला अमेरिका र चीन ट्रेड वारको चरम अवस्थामा थिए। उनीहरु एक अर्काका सामाग्रीहरुमाथि करको दर बढाइरहेका थिए। जसको परिणामस्वरुप दुबै देशको अर्थतन्त्र मन्दी थियो।  

त्यसबेला ट्रम्प र सीले ट्रेड वार बन्द गर्न सहमत भए। तत्काल ट्रम्पले ट्विट गरे- 'चीनसँगको सम्बन्धले अब नयाँ फड्को मार्दैछ।'तर ठिक त्यसैबेला त्यहाँभन्दा हजारौं किलोमिटर उत्तर क्यानडामा एउटा गिरफ्तारीले सबै कुरा उलटपुलट भयो।

रेनकी जेठी छोरी तथा हुवावेकी चिफ फाइनान्सियल अफिसरर मेङ वाङहु  भ्यानकुभर एउरपोर्टबाट पक्राउ परिन्। क्यानडाका अधकारीहरुले उनलाई इरान विरुद्ध लगाइएको नाकाबन्दी तोडेर सामाग्री उपलब्ध गराएको आरोपमा अमेरिकाको आग्रहमा पक्राउ गरे।

'जब उनी पक्राउ परिन् पिताका रुपमा मेरो हृदय भक्कानियो।'- रेन भन्छन्। 'म कसरी आफ्नो सन्तान त्यसरी समस्यामा परेको हेर्न सक्थें? तर जे हुनु भैसकेको थियो यसकालागि हामी केवल कानुनी समाधान मात्र खोज्न सक्थ्यौं।'हुवावेको समस्या भर्खर सुरु हुँदै थियो। त्यसको दुई महिनापछि अमेरिकी कानुन मन्त्रालयले हुवावे र मेङका विरुद्ध दुई केस फाइल गर्यो।

यसमा मेङलाई अमेरिकी सरकार तथा बैंकहरुलाई इरानसँगको बिजनेसका बारेमा गुमराहमा राखेको आरोप लगाइएको थियो।दोस्रो हुवावेको विरुद्ध हुवावे आपराधिक गतिबिधिमा संलग्न रहेको र ट्रेड सेक्रेट चोरीमा संलग्न रहेको आरोप थियो। दुबै आरोपको हुवावे र मेङले बचाउ गरिन्।

हुवावेलाई टि मोबाइलले बनाएको ट्यापी नामक रोबोटिक टुलको ट्रेड सेक्रेट चोरेको आरोप लगाइएको थियो।त्यससबेला हुवावे र टि मोबाइलको सहकार्य थियो। हुवावेले ट्यापी किन्न खोजेको थियो। तर यसबाट टि मोबाइलका प्रतिस्पर्धी क्मपनीकालागि हुवावेले उस्तै प्रविधि प्रयोग गरी फोन उत्पादन गर्ला भन्ने डरले कम्पनीले चिनियाँ फर्मको अफर स्वीकारेन।

यसपछि हुवावेका अमेरिकास्थित एक कामदार ट्यापिको रोबोटिक आर्म लुकाएर चीन लैजान लागेको आरोपमा पक्राउ पर्यो। तर हुवावेका कमर्चारीले भने त्यो रोबोटको हात झुक्किएर आफ्नो ब्यागमा परेको दावी गरे।

हुवावेले यसमा कामदारमात्र संलग्न रहेको दावी गर्यो। यो केश सन् २०१४ मा सेटल पनि भयो। तर हाल फेरि चीनस्थित म्यानेजर र कम्पनीको अमेरिकास्थित कामदारबीच भएको इमेल आदानप्रदानबाट हुवावेको ब्यबस्थापन नै यसमा संलग्न रहेको लिंक अमेरिकाले प्रस्तुत गरे।

हुवावेलाई ट्रेड सेक्रेट्स चोरी गरेको आरोप लागेको यो मात्रै पहिलो घटना थिएन। सिस्को, नोर्टेल र मोटोरोलाले पनि यस कम्पनीले विभिन्न समयमा प्रविधि चोरी गरेको आरोप लगाउँदै आएको छ।

तर अमेरिका हुवावेसँग डराएको कारण भने यति मात्रै होइन एक दशकभन्दा बढी समयदेखि अमेरिकी सरकारले हुवावेलाई चिनियाँ कम्युनिष्ट पार्टीको दाहिने हातका रुपमा स्पाइको काम गर्ने आरोप लगाउँदै आएको छ।

यसकै कारण पटक पटक अमेरिकाले हुवावेलाई चिनियाँ जासुसको संज्ञा समेत आएको छ।अमेरिकाले लगाएको आरोपसँगै बेलायत, जर्मनी र क्यानडाले पनि हुवावेका उत्पादनहरुलाई सुरक्षा थ्रेट हो होइन भनेर समीक्षा गरिरहेका छन्।

अष्ट्रेलियाले गतवर्षनै कम्पनीको उपकरणहरु माथि बन्देज लगायो। हुवावेलाई उसको सरकारी लिंकका कारण राष्ट्रिय सुरक्षा खतराको जोखिम हुने अष्ट्रेलियाली स्ट्रयाटेजिक पोलिसी इन्स्टिच्यूटका ड्यानिलय केभ बताउँछन्।

उनी भन्छन् -'हुवावेका सामान्य स्मार्टफोन बोक्ने सामान्य मानिसलाई यसले केही असर गर्दैन तर यदि तिमी पश्चिमी देश हौ भने तिम्रो राष्ट्रिय सुरक्षालाई हेर्नुपर्छ र यदि तिमी चीनको कुनै राजनीतिक प्रणालीसँग जोडिएका छौ भने तिमीलाई किन एक्सेस दिने?' यो प्रश्नमा गम्भीर हुनैपर्छ।

तर रेन दावी गर्छन् हुवावेको कुनै पनि स्रोत साधन कहिले पनि चिनियाँ सरकारको जासुसी प्रयोजनकालागि उपयोग गरिएको छैन।चिनियाँ सरकारले स्ष्ट भनेको छ कि उसले आफ्ना कम्पनीहरुलाई 'ब्याकडोर' इन्स्टल गर्न भन्नेछैन। 'ब्याक डोर' कम्युटर सिस्टम वा सफ्टवेयरमा जडान गरिने सेक्रेट इन्ट्री पोइन्टका लागि प्रयोग हुने टर्म हो जसले ब्यक्ति वा कसैलाई प्रणालीको भित्री कार्यहरुमा पहुँच बनाउन मद्दत पुग्छ।

'हुवावेले यो कहिले पनि गर्नेछैन।' रेन भन्छन्- 'हाम्रो सेल्स रेभेन्यू अहिले सयौं अर्ब डलर पुगिसक्यो। हामीले आफ्नो देश तथा आफ्नो विश्वभरका ग्राहकलाई यस्ता कारण जोखिममा पार्दैनौं। यसबाट हामीले आफ्नो बिजनेस गुमाउनुपर्छ र म यस्तो काम कहिल्यै गर्दिन।'

अमेरिकाले हुवावेलाई लगाएको आरोपको चिनियाँ कम्युनिष्ट पार्टीले समेत खण्डन गरेको छ। हुवावे एउटा स्वतन्त्र कम्पनी भएको र आफ्नो पार्टीको कुनै पनि प्रभाव नरहेको उसको दावी छ।

धेरै विश्लेषकहरु के दावी गर्छन् भने अमेरिकी नेटवर्कबाट हुवावे बाहिरिनु भनेको हुवावेकालागि ठूलो घाटा हो। रेन भन्छन् – 'जुन देशले हुवावेमाथि आशंका गर्छ हामी त्यहाँबाट बाहिरिन्छौं जुन कम्पनीले हुवावेलाई विश्वास गर्छ त्यहाँ हामी अझ तीब्र गतिले पुग्छौं। विश्व धेरै ठूलो छ।'

तर हुवावेको यो मुद्दा अब एउटा कम्पनी वा एउटा सिइओ वा उनको परिवारसँग मात्र सम्बन्धित रहेन। यसलाई विश्वका दुई शक्तिबीचको युद्धका रुपमा लिइएको छ।

चीनसँग आर्थिक गतिविधि बढाउन प्रेरित गर्ने अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसले चीनलाई लक्षित गर्दै सन् १९९१ मा भनेका थिए 'पृथ्वीको कुनै पनि देशले हालसम्म सीमानामा विदेशी उत्पादन वा सेवाको प्रवाहलाई रोक्ने बाटो पत्ता लगाएको छैन। जसरी हरेक देश र महादेशहरुमा प्रजातान्त्रिक प्रणाली संचार भयो चीनमा पनि यो परिवर्तन अवश्य आउनेछ।'

पूर्व अमेरिकी प्रशासन चीन अझ लिबरल हुनेमा विश्वास गर्थे। यसमा कुनै दुईमत छैन कि विगत ४० वर्षमा चीनमा धेरै परिवर्तनहरु आइसकेको छ। तीन दशकदेखि चीनको अर्थतन्त्र वार्षिक १० प्रतिशतका दरले बढिरहेको छ जसले ८० करोड जनसंख्यालाई गरिबीबाट बाहिर निकालिसकेको छ।

हाल यो अमेरिका पछिको दोस्रो ठूलो अर्थतन्त्र हो। केही विश्लेषकहरुको भनाई मान्ने हो भने सन् २०३० सम्ममा चीनले अमेरिकालाई पछाडि छोड्नेछ।रेन पनि चीनले भविष्यमा लिने बाटोप्रति आशावादी छन्। तर हुवावे र रेनको लागि यो समय उच्च अनिश्चितता समय बनेको छ। रेनलाई थाहा छैन अब हुवावेको बाटो कतातिर मोडिनेछ! बिबिसीबाट